– मनहरि तिमिल्सिना
कमल थापाज्यू,
सुगौली सन्धि सन् १८१६ मार्च ४ मा तात्कालीन ब्रिटिस इण्ट इण्डिया कम्पनिसँग भएको थियो। गान्धी र डा. राजेन्द्रप्रसादहरुले चलाएको ‘भारत छोड आन्दोलन’का कारण सन् १९४७ मा ब्रिटिस भारतबाट फर्कियो। भारत ३३५ वर्षपछि पूर्णतः स्वतन्त्र देश बन्यो। जतिबेला ब्रिटिस भारतबाट फर्कियो, त्यतिबेला नेपालले आफ्नो भूमि फिर्ता मागेको भए ब्रिटिसले सुगौली सन्धि खारेज गर्न सक्थ्यो। किनकि, भारतबाट फर्किनुपरेको परिस्थितिमा नेपाली भूमि फिर्ता दिन ब्रिटिसका लागि कुनै समस्या थिएन।
सन् १९४७ मा नेपालमा राजा त्रिभूवन थिए, प्रधानमन्त्री पद्मशमशेर जबरा। तर, ब्रिटिस फर्किन लागेको बेला नेपालले आफ्नो भूमि फिर्ताका लागि कुनै पहल गरेन। त्यसको दोषी को ? एकात्मक सामन्ती राजतन्त्र दोषी थिएन ? दोस्रो कुरा, नेपालमा प्रजातन्त्रको स्थापनापछि भारतसँग फेरि अर्को सन्धि गरेर सुगौली सन्धिलाई किन अनुमोदन गरियो ? सन् १९५० को सन्धिबाट ब्रिटिसले छोडेर गएको ६१ प्रतिशत नेपाली भूमि सधैंका लागि सुम्पिने गरी त्यो राष्ट्रघाती सन्धिमा किन हस्ताक्षर गरियो ? स्मरणरहोस्, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका बेला पनि त्रिभूवन राजा र मोहनशमशेर प्रधानमन्त्री थिए।
त्यसैगरी सन् १९६९ मा नेपालले भारतका १७ वटा सैनिक पोष्ट हटाउँदा कालापानीको पोष्ट किन यथावत् राखियो ? त्यसैगरी सन् १९७५ मा राजा वीरेन्द्रले नेपालको नयाँ नक्शा जारी गर्दा लिम्पियाधुराको भू–भाग किन नेपाली नक्शामा राखिएन ? के यसको दोषी प्रचण्ड थिए ? इतिहासमा राजतन्त्रले राष्ट्रियताको नारा जनताको प्रजातान्त्रिक आन्दोलनलाई कमजोर पार्न मात्रै अगाडि सारेको थियो भन्ने कुरा यी ऐतिहासिक तथ्यहरुले पुष्टि गर्दैनन् र ?
जेठ ३१ गते नेपालको संसदले ऐतिहासिक निर्णय गरेको छ। आफ्नो भू–भाग समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेको छ। यो ऐतिहासिक उपलब्धी हो। यही कुरालाई प्रचण्डले संसदमा सम्वोधन गर्दै राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको संश्लेषण गर्दा कमल थापाहरुको टाउको दुख्नुपर्ने किन ? निरंकुशतन्त्रको छाता ओड्नेबित्तिकै इतिहासका सारा कूकर्ममाथि मोक्ष मिल्छ भन्ने भ्रम तपाई कहिलेसम्म पाल्नुहुन्छ ?
अर्को कुरा तपाईले प्रचण्डलाई हिंसाको राजनीतिबाट सत्तामा आएको नेताको रुपमा चित्रण गर्नुभएको छ। प्रचण्डले हिंसाको राजनीति होइन, जनताको न्यायपूर्ण आवाजमाथि गरिएको बर्बर दमनको प्रतिरोधको नेतृत्व गरेका थिए। तर, के तपाईले आफ्नो इतिहासतिर फर्किएर समीक्षा गर्ने चेष्टा गर्नुभएको छ ? २०६२–०६३ सालको जनआन्दोलनमा निरंकुशतन्त्रको प्रवक्ता बनेर जनतामाथि गोली चलाउने तपाई नै होइन ? अनि, जनतामाथि बर्बर दमन गरेर पनि गणतन्त्रमा पटकपटक सत्ताको चास्नीमा डुबेर गणतन्त्रमाथि विषबमन गर्न तपाईलाई कुन नैतिकताले दिन्छ ? अरुमाथि नैतिकताको उपदेश दिने तपाईले आफ्नो विगत र वर्तमानको गम्भीर समीक्षा गर्नुस्।



लोकपाटी न्यूज

