– भक्त विश्वकर्मा
अहिले विश्वभरि कोरोना (कोभिड-१९) ले केहि न केही पाठ सिकाएको छ। मानिस आधुनिकतासँगै विज्ञानको अधिकतम प्रयोगबाट केहि मानविय प्रयोग गरे पनि केहि मानविय महत्वपूण कर्तव्यहरु बिर्सन लागेको रहेछ। हामी आफैँले प्रयोग गर्ने महत्वपूर्ण चिज वस्तुहरु कहाँबाट आए कस्ले तयार गर्यो वास्ता गर्थेनौ वा हामी धन कमाउका पूँजिवादीहरु अथवा असन्तुलित तरिकाले धन कमाउन निम्न पूँजिवादी चिन्तनमा रहेका विश्वका हरेक मानिसले आफू आएको बाटो भुलेका थिए।
हाम्रो समाजमा श्रम गर्नेलाई हेप्ने किसानलाई दोस्रो दर्जामा राख्ने आफ्नो देशमा उत्पादन भएका सामानहरु प्रयोग गर्न नमान्ने सामाजिक उत्तरदायित्ववाट पन्छिन खोज्ने मानविय धर्मबाट विचलित हुने, आफू जन्मेको मातृभुमिको वास्ता नगर्ने, आफ्नोपनलाई वेवास्ता गर्ने, नक्कल गरेको जिवन शैली राम्रो मान्ने वानि बसालिरहेका थियौँ। अतिविकसित देशहरु मानिने चीनको हुवान प्रान्तबाट नोभेम्बर २०१९ बाट फैलिएको यो कोरोना रोगको उत्पति भयो। विश्वले ख्याल ठट्टा सोच्यो, चीनलाई जिस्कायो जवकि यसले विश्व तहस नहस बनाउछ भन्ने ख्यालै गरिएन। पूँजीवादको चरम अवस्थामा पुगेका राष्ट्रहरुले घमण्ड गरे कि हामी यो युगमा नाथे कोरोनालाई पराजित गराई हाल्छौँ भन्ने सोचे तर सोचे जस्तो भएन।
समयमै एउटा मात्र उपाए बन्दाबन्दी नगरी लापरवाही गरेका कारण अति विकसित भनेका युरोप अमेरिकाका राष्ट्रहरुमा ठूलो क्षति भयो। अझै यो रोगको औषधी र खोप पत्ता नलाउन्जेल कति भयावह अवस्था ल्याउने हो त्यसको परिणाम आउन बाँकी नै छ। ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने राष्ट्रहरुले अरु साधारण राष्ट्रहरुलाई झन संकटको अवस्थामा पुर्याए। यो विषम परिस्थितिले नेपाल लगायत विश्वभरिका जनतालाई केही महत्वपूर्ण पाठ सिकाएको छ।
१. मानव जगतको सवैभन्दा नभई नहुने चिज भनेको खाद्यान्न(अन्न) हो जसलाई किसानले उत्पादन गर्दछ जब किसानले पसिना बगाउछ र अन्न उत्पादन गर्दछ, शहरमा ठूलाबडा कहाँ पठाँउछ अनिमात्र ठुलाबडा भनिनेहरु बाचिरहेका छन् त्यसैले किसानलाई अपहेलना हैन सम्मान गरौँ, कृषिमा जोड दिऔं र वास्तविक किसानको व्यथा वुझी घाउमा मलम लगाऊँ कृषि क्रान्ति गर्ने दिशामा अगाडी बढौँ, बाँझो जमिन लाई उत्पादनमा जोडौँ सकेसम्म क्रान्तिकारी भुमिसुधार निति ल्यायौँ र देशलाई समृद वनाऔँ।
२. धनि भन्दा गरीब, वसेर खाने भन्दा शारिरीक श्रम गर्ने, पसिना बगाउने श्रमिकहरुसँग रोगसँग लड्ने क्षमता बढी हुँदोरहेछ जवकी धनीले खाने पिज्जा वर्गर भन्दा सिस्नो खोले र कन्दमुलहरु खानेको स्वास्थ्य स्वस्थ पाईयो। धनिहरुको काम नगरी, पसिना नबगाई बढी सुःख भोगी भएका कारण मधुमेह, उच्च रक्तचाप जस्ता दिर्घरोगी भएको पाइयो। दिर्घरोगीलाई भाइरसले छिटो अतिक्रमण गरेको पाइयो र मृत्यु समेत भएको देखियो त्यसैले सवैले श्रम गरौँ शहरमुखी भन्दा गाउँमूखी बनौँ उकालो ओरालोमा हिडौँ शरीरमा बढी तन्दुरुस्ती आँउछ र रोग संग लड्ने क्षमता बढ्छ।
३. धेरै मानिसहरु आफ्नै देशमा मर्न चाहन्छन् बढ्दो आधुनिकतासँगै हरेक मानिसको चाहाना युरोप अमेरिका ताक्ने, छोराछोरीलाई जसरी हुन्छ अंग्रेजी भाषामा विज्ञ वनाई आएल्लस (IELTS) उतिर्ण गराउने र त्यतै पठाउने आफू पनि त्यतै बसाईसराई गर्ने होट बाजीनै चलेको थियो तर संकटमा हरेक मानिसको अन्तिम ईच्छा मर्नै परे आफ्नै भूमिमा मर्ने भन्ने पाइयो।
४. अमेरिका शक्तिशाली राष्ट्र रहेनछ हालको पूँजीवादीहरुको नाइके मानिने देश अमेरिका पूँजिद्धारा संसारमा दादागिरि जमाइरहेको थियो तर आफ्ना देशका नागरिकहरुलाई संकटको सुरक्षा दिन सकेन। पैशाले नै सबै थोक गर्न नसकिने रहेछ घमण्डले आफैँलाई नष्ट गर्दोरहेछ त्यसैले अब पूँजिवाद कमजोर भएको देखियो त्यसको ठाउँमा समाजवादको पतनपछि रक्षात्मक अवस्थामा रहेका क्रन्तिकारी समाजवादीहरु किसान मजदूरहरु एकजुट हुनु पर्दछ, समाजवादको बाटोमा अगाडि बढ्नु पर्दछ। परेको बेला जनतालाई सुरक्षा दिन नसक्ने व्यवस्था खारेज हुनु पर्दछ।
५. भगवान भरोसामा चल्दा बढी क्षति हुने गर्दछ संसारका विद्वान् समेत आध्यात्मवादको चरम सिकार भएका छन् उदाहरणको लागि क्रिश्चिन् ( ईसाई धर्मावलम्वीहरु) प्रभुले सबै संकटबाट मुक्ति दिन्छन् यो जुनि त के स्वर्गमा पनि सवै बन्दोवस्त गर्छन भनि विश्वभरि भ्रम फैल्याउछन् तर खै प्रभुले कोरोनाबाट बचाएको सवै संकटबाट बचाउने भनि विश्वमा धार्मिक साम्राज्यवाद फैल्याउने युरोपियन र अमेरिकनहरुलाई खैत बचाएको। त्यसरी नै मुश्लिम , बौद्ध र हिन्दु वा कुनैपनि धर्मवालम्वीलाई समेत माहामारीले छोडेन त्यसैले भौतिकवादीहरुले भन्ने गर्दछन् धर्म अफिम हो त्यसैले भगवान भरोसामा नपरौँ।
६. आफ्नै देशमा हरेक चिज वस्तुहरु उत्पादन गरौँ आत्मनिर्भर बनौं हाल विश्व भरका देशहरु व्यापार सञ्जालमा जोडिएको भएपनि संकट परेको बेलामा कहि कसैलाई सहयोग गर्दैन। मानिसको लागि अतिआवश्यक वस्तु तत्काल दोब्बर भुक्तानी गर्दा पनि आपूर्ति हुँदैन आपतमा खाने लाउने र औषधी उपचारमा चाहिँने सम्पूर्ण सामानहरु आफ्नै देशमा उत्पादन गर्नु पर्दछ र उपभोग पनि गर्नु पर्दछ। यसरी आफ्नै देशमा बनेका उत्पादन खपत हुँदा राष्ट्रिय पुँजिपति वर्ग टिक्छन् र बाह्य साम्राज्यवादी तथा दलाल पूँजीपति वर्गसँग प्रतिस्पर्धा गर्न सक्दछन् र देशमा चाहिएको बेला वाह्य कम्पनीभन्दा आन्तरिक कम्पनीहरु काम लाग्ने गर्दछन् र देशको पूँजी समेत बाहिरिनबाट रोकिन्छ । त्यसैले राष्टिय पूँजीको विकास गर्न जरुरी छ।
७. राज्य र जनताको सुमधुर सम्वन्ध रहँदा संकटको सामना गर्न सजीलो हुन्छ। राज्य र जनताको सम्वन्ध सुमधुर नहुदाँ हरेक किसिमका क्षति हुन सक्दछन् जस्तै अहिले अमेरिकाले लकडाउनको नियम पालन गर्ने कुराको तालमेल नभएको कारणले गर्दा हालसम्म सवैभन्दा बढि कोरोनाले मृत्यु हुनेको संख्या अमेरिकामा नै छ।
८. पूँजिवादी देशहरु भन्दा समाजवाद परस्त देशहरुमा कम क्षति मानव अधिकारको रटान गर्ने केही छाडा नागरिक भएका देशहरुमा अनुशासनको अभावमा जनताहरु सर्वत्र बजार, रेष्टुरेन्ट र रंगशाला, पार्कमा निस्किदा बढि क्षति भयो तर उत्तरकोरिया, चीन क्युवा भियतनाम लगायत अनुशासित समाजवाद परस्त देशहरुमा कम क्षति भयो र गरीब देशहरुमा समेत अहिले सम्म कम क्षति भएको पाइएको छ।
९. कुनै पनि रिस राग घमण्ड र अमानविय व्यवहार नगरौँ विश्वमा एउटा मानवले अर्को मानवलाई विभिन्न कारणले अपहेलना गरिरहेको छ धनि र गरीबको बिचको खाडल होस् या महलमा बस्ने र झुपडीमा बस्नेको अन्तरहोस् या कुनै जात धर्मको कारणले होस या कुनै भेदका कारणले होस् एउटाले अर्कोलाई हेप्ने, घृणा गर्ने दबदवामा राख्ने, रिस राग र घमण्ड गर्ने काम भैरहेको छ। आखिर मरिजाने अस्थाई जिवन र जगतमा किन एकले अर्को मानवलाई दुःखमा पार्नु, दुःखमा रमाउनु।
त्यसैले कसैको आत्मलाई ठेस पुग्ने गरी काम नगरौँ, कसैको चित्त नदुखौँ सहयोगी भावनाको विकास गरौँ कसैलाई पनि वर्गिय, जातिय, लैङ्गिक, धार्मिक, भौगोलिक र भाषिक असमानता नगरौँ एक मानवले अर्को मानवलाई आपतकालिन संकटमा सहयोग गरौँ। अत: हिजोको घटना परिघटनाले आजलाई सुधार्न पर्दछ र आज सुधारेर जाँदा भोली आउने हरेक समस्यासँग मानव समाजलाई सजिलो हुनेछ। हाम्रो समाजमा भएका सवै खाले अन्तरलाई समानान्तर गर्दै संकटकालिन अवस्थासँग जुझ्न सजिलो हुनेछ र मानव सभ्यताको सुनौलो इतिहास रचिदै जानेछ।



लोकपाटी न्यूज

