चौरजहारी नरसंहारः जरुरी छ सांस्कृतिक रुपान्तरण

Bhim BK
लोकपाटी न्यूज

भिम बिश्वकर्मा क्षितिज

चौरजहारी नरसंहारले सचेत मनहरुलाई स्तब्ध बनाएको छ। आजको आधुनिक समाजमा यस्तो बिभत्स घटना कसैको दिमागमा थिएन। घटनाका घाइतेहरु र प्रत्यक्षदर्शीहरुको भनाइ नियाल्दा यो ढुङ्गे युगको परिघटना जस्तो लाग्दछ। इतिहासमा पढ्न पाइने कबिलाई युद्धको झल्को मेटायो। निर्धो र निहत्था कबिलालाई बलियो र हतियारबद्ध हिंस्रक कबिलाले गरेको आक्रमणको रुपमा चौरजहारी नरसंहार अंकित भएको छ।

भेरी नदि वारिका नवराज र नदि पारिकी सुष्मा मल्ल ‘कस्तो’ प्रेममा फसेछन्। नवराजको रगत भेरी नदिको पानीमा समागम भयो। नवराज र सुष्मा अब कहिल्यै भेट्न नसक्ने भए। भेरी नदिको दुई किनार झै भयो तिनीहरुको प्रेमकथाको अन्त्य। भनिन्छ ‘प्रेम गरिदैन, प्रेम अन्तष्कणमा पलाउछ।’ प्रेममा पूर्ण स्वीकार हुन्छ। न त प्रेममा धनी गरीब हेरिन्छ। न त प्रेममा तथा कथित जात भात हेरिन्छ। प्रेम शुद्ध मनले बिना आग्रह गरिन्छ। सायद नवराज र सुष्माको त्यस्तै प्रेम थियो। 

रुढीवादी संस्कारले के भन्छ उनीहरुलाई ख्याल भएन। थोरै कानूनी अनविज्ञता पनि रहेको पाइयो। पहिलो चोटी भागे, केटीको उमेर २० पुगेको रहेनछ। केटीको अभिभावकलाई कानूनी प्राबधानले बहाना बनाउने सुबिधा दियो। अन्तरजातीय प्रेम र विवाह सुष्मा मल्लको अभिभावकलाई सह्य थिएन। सुष्माको अभिभावकले नवराजलाई खोजी खोजी रामधुलाई गरे। कानूनी प्राबधानलाई प्रयोग गरी छोरी फिर्ता ल्याए। नवराज र सुष्माले ठिकै छ उमेर पुगेपछि विवाह गरौला भनी छुट्टिए। तर सुष्माको अभिभावकले तथा कथित जात मिल्दो केटासँग सुष्माको विवह गरिदिने निर्णय सुनाए। सुष्मालाई सह्य हुने सकेन अनि प्रेमीलाई बोलाइन्। २०७७ जेठ १० गते साँझ ५ बजे प्रेमिका भगाउन पुगेका नवराज उच्च जातीय अहंकारको एम्बुसमा परे। यो आलेख तयार पार्दासम्म नवराजका साथीहरु गणेश बुढा र टिकाराम सुनारका शव पत्ता लागेको छ। लोकेन्द्र सुनार, गोबिन्द शाही र सन्दिप बि.क. अझै बेपत्ता छन्। भेरी नदिमा गोताखरले खोजिरहेका छन्। बाँकी रहेका १२ जना घाइते भएका छन्।

उमेर कम थियो, लकडाउनमा किन आए, १८ जनाको भीड किन आयो आदि इत्यादी। अब यी कुर्तक भेरी नदिको बहावमा नै हराए। यी सबैको खास अर्थ देखिदैन । बेतुकका तर्क गर्न सक्ने ती आतायायी मनहरुप्रति घृणा बाहेक केही जाग्न सक्दैन। घटनाका घाइते इन्द्रजंग शाहले ढुङ्गा, हसिँया र चिरपट दाउराको प्रयोगले नवराज, गणेश र टिकारामको हत्या गरिएको बताएका छन्। भेरी किनार बाहेक अरु ठाँउमा भाग्न नमिल्ने गरी घेरा हालि गरिएको उक्त आक्रमण पूर्व सूचनाको आधारमा नियोजित आक्रमण भएको प्रतित हुन्छ।

रुकुममा नरसंहार हुँदै गर्दा रुपन्देहीको देवदह नगरपालिकामा अङ्गीरा पासीलाई अन्तरजातीय प्रेम र विवहा गरेकै कारण झुन्डिन बाध्य बनाए वा झुण्डाए। घटना रहस्यमय छ। देवदह ११ का वडा अध्यक्ष अमर बहादुर चौधरीको टोलीले नै अङ्गीरा पासीलाई उनको प्रेमी बिरेन्द्र भरको जिम्मा लगाएको थियो। बिरेन्द्र भरसँग गएकी अङ्गीराको मृत्युलाई सहज मान्न सकिँदैन। अन्तरजातीय विवाह एवं प्रेम राखेकै र दलित भएकै कारण बिगतमा काभ्रेका अजित मिजार, सप्तरीका शिवशंकर दास, झापाकी अस्मिता तोलाङ्गे सार्की, तनहुँ की संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा, म्याग्दीकी सबिता नेपाली लगायतका दलित युवायुवतीहरुको ज्यान गइसकेको छ। दैलेखको सेते दमाइको छोराले अन्तरजातीय विवाह गरेको कारणले उनको हत्या गरिएको घटना पनि अस्ति भर्खर हो।

आखिर अन्तरजातीय प्रेम र विवाह गरेकै कारण मर्नुपर्ने कहिले सम्म ? संबिधान र कानूनले जातीय छुवाछुत र बिभेदलाई बर्जित गरेको छ। अझै नेपाल सरकारले बिगत केही वर्ष त अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख नगदसहित सम्मान गर्ने कार्यक्रम नै चलाएको थियो। अन्तरजातीय विवहा प्रोत्साहन दिने सरकारको निर्णय सहि थियो। किनभने विभेदलाई मेट्न भएको भेद वा अन्तरलाई क्रमशः घटाउन जरुरी छ। अन्तरघुलन बिभेद हटाउने माध्यमहरु मध्ये बलियो माध्यम हो। अन्तरघुलनको विभिन्न तरिकाहरुमा अन्तरजातीय विवाह सशक्त तरिका हो। अन्तरजातीय विवाह गर्ने जोकोही नेपाली समाजका सामाजिक सांस्कृतिक रुपान्तरणका योद्धा हुन्।  नेपाली समाजको सामाजिक सांस्कृतिक रुपान्तरण गर्ने त्यस्ता योद्धाहरुको सम्मान पो गर्नुपर्छ। त्यसैले सरकारले सम्मान र प्रोत्साहन कार्यक्रम ल्याएको थियो।

तर बिडम्बना ! आज पनि हाम्रो समाजमा अन्तरजातीय प्रेम र विवाह गर्नेहरु कतिलाई मारिदैछ। कतिलाई मर्न बाध्य बनाइदैछ। कतिलाई मरेतुल्य जीवन बाँच्न बाध्य बनाइएको छ। जीवन भर बहिष्कार गरिएको छ। मरेपछि पनि तिरस्कार गरिएको छ। कहिले बदलिएला नेपाली समाज ? नबदलिएको र पुराना कुसंस्कारले जकेडिएको नेपाली समाजको प्रशस्त उदाहरण छन्। एकादि अपवाद बाहेक आज पनि उपाध्यायले जैसीसँग वैवाहिक कार्यक्रम चलाउदैन। वैवाहिक कार्यक्रम छोडौं छोएको नखाएकोमा गर्व गर्छन्। क्रमशः बर्णाश्रम व्यवस्थाले बनाएको सोपानक्रममा त्यही नै छ। अब केही सोचौं त आफूलाई सामाजिक अभियन्ताको रुपमा उभ्याउने खोज्ने मित्रहरु …

नबदलिएको र पुराना कुसंस्कारले जकेडिएको मानसिकताले उग्ररुप लिँदा नै मान्छे मारिन्छन्। मर्न बाध्य बनाइन्छ। बिगत लामो समयदेखि अन्तरजातीय प्रेम र विवाहको कारण मान्छे मारिदै आएका छन् र मर्न बाध्य बनाइएको छ।चौरजहारी नरसंहार यो श्रृखलाको उत्कर्षको रुपमा प्रकट भएको छ। हरेक मान्छेको मूल्य एउटै हुन्छ। मान्छेको मूल्य भन्दा कुनै पनि मूल्य मान्यता माथि हुन सक्दैन। कुसंस्कार र संविधानले बर्जित गरेको क्रियाकलाप बन्द गरौं। चौरजहारी नरसंहारको व्यापक बिरोध गरौं। चौरजहारीबाट शिक्षा लिऔं। नेपाली समाजलाई सांस्कृतिक रुपान्तरणको बाटोमा डो¥याउ। चौरजहारी घटनाका अपराधीलाई सम्मानित अदालतले न्यायको निरोपण गर्ने नै छ। नेपाल सरकारलाई नवराज बि.क. गणेश बुढा र टिकाराम सुनारलाई सांस्कृतिक सहिद घोषणा गर्न दवाव दिऔं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्