निर्मल पौडेल/ पर्वत, ५ जेठ । अमेरिकाको मेरिल्याण्डमा तलाउमा डुबेर बाग्लुङको रुद्रेपिपलका २५ वर्षीय युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारीको शिलशिलामा विगत ३ वर्षदेखि अमेरिका रहँदै आएका आशिष केसीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो। गत शुक्रबार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा पौडी खेल्दा केसी तलाउमा डुबेको बताइएको छ।
केसी र उनका भतिजासँगै अन्य साथीभाइहरुसँगै पौडी खेल्न गएका थिए।मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरले दिएको जानकारी अनुसार पौडी खेल्ने क्रममा डुबेपछि उद्धार गरी मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचार गर्ने क्रममा आइतबार केसीको निधन भएको अमेरिकाबाट आशिष सापकोटाले जानकारी दिएका छन्।
शुक्रबारको दिन आशिष केसीसहित उनको भतिजा र अन्य साथीहरु समेत मिलेर पौडी खेल्न गएका थिए। तलाउमा डुबेर उनी पानीको मध्य भागमा पुगेपछि र चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए। उनीहरुले स्थानीय प्रहरी र उद्दार कर्ताहरुलाई ९११ मा खवर गरेपछि तुरुन्त हेलिकप्टरसहितको टोलीले उनको उद्धार गरेका थिए। उद्धारमा रहेको सिपिआर (कार्डिओपल्मोनरी रिससिटेशन) टोलीले अस्पताल लगेका थिए। अस्पतालमा आपतकालीन सेवामा रहेका चिकित्सकहरुले तत्काल उनको उपचारको प्रक्रिया थालनी गरेका थिए । डा. सारा भायलाले दिएको जानकारी अनुसार तीन पटकसम्म बन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएका थिए। सँगै २० घण्टासम्म शरीरलाई वार्म गराउदै मेकानिकल भेन्टिलेटरमा राखी र फेल भएको मृगौला डाइलसीस समेत गराएका थिए।
मृतक आशिष केसीलाई अस्पताल पुराउने समयसम्म मुटुको धडकन (हर्ट विट) अवरुद्ध भएको,मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको थियो। उपचारमा संलग्न चिकित्सकहरुले उच्च प्रकारको मेडिकेशन चलाएर व्रेन वेभ मनिटरमार्फत् मस्तिष्कको जाँच गर्दा अक्सिजनको कमी भएको र मृगौला समेत फेल भइसकेको थियो। उपचारमा विशेषज्ञ चिकित्सकहरुको टोली संभव भए सम्मको उपचार गरेका थिए। डा. सारा भायला (पल्मोनरी क्रिटिकल केयर विज्ञ) को टिमले अन्तिमसम्म हदै सम्मको प्रयास गरेपनी वचाउन नसकेको मेरिल्याणड जनरल एसेम्वलिका हयारी भण्डारीले डेलिगेट गरेका छन्। दुखद क्षणको बारेमा नेपालको स्थानीय समय अनुसार सोमवार विहान नेपालमा रहेका आमा बुबा लाई समेत अवगत गराइएको छ। आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कार सम्पन्न गर्नका लागि परिवारका सदस्यहरुको समन्वय र स्थानीय संघसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने सापकोटाले जानकारी दिएका छन्।



लोकपाटी न्यूज

