आत्मानुशासन र नैतिक शिक्षा

Prakash Gautam
भनिन्छ नि, ‘अनुशासन फलदायी जीवनको रहस्य हो।’ स्कूलदेखि माथिल्लो उच्च तहसम्म अनुशासनको शिक्षा दिनका लागि नैतिक शिक्षा पढाउनु आवश्यक छ। नेपाली समाजमा नेपाली संस्कार हराउँदै गएको बेला घरघरबाट अनुशासनको प्रदर्शन गर्नुपर्दछ। सञ्चार माध्यम, सामाजिक सञ्जाल र पत्रपत्रिकामा अनुशासनको लेख, रचना, जनचेतना फैलाउनु आवश्यक छ।
लोकपाटी न्यूज

प्रकाश गौतम

‘अनुशासन’ भन्ने शब्दको उत्पत्ति ल्याटिन शब्द ‘डिसिप्निा’बाट लिइएको हो, जसको अर्थ व्यवस्थापन, नियम, शिक्षा, अभ्यास, शिक्षण र प्रशिक्षित अवस्था हो। अंग्रेजी शब्द ‘डिसिप्लिन’को व्युत्पत्ति ल्याटिन शब्द ‘डिसिपुलम’बाट भएको मानिएको छ, जसको अर्थ विद्यार्थीहरुबाट यो आशा गरिन्छ कि उसले आफ्ना शिक्षकहरुको आदरपूर्वक आज्ञापालन गर्नु र उसका अनुसार सफल जीवनका लागि उसले आफूमा आवश्यक र आवश्यक गुणहरु विकास गर्नुपर्दछ।

यस तरीकाले, अनुशासनको अर्थ आचरणमा नियमितता सिर्जना गर्नु हो। हिन्दीमा अनुशासनको लागि धेरै शब्दहरुको प्रयोग गरिन्छ, उदाहरणका लागि नियन्त्रण, नियमन, आत्म–संयम, शिष्टाचार आदि। “नियन्त्रण” भन्ने शब्द प्रयोग गर्नु उपयुक्त हुने ठाउँमा कुनै कुनैलाई जबरजस्ती कब्जामा राख्नुपर्ने हुन्छ, जहाँ केही निश्चित नियमहरु अनुसार मानिसलाई काम गर्न भनिएको हुन्छ र त्यहाँ “शिष्टाचार” शब्द प्रयोग गर्न उचित हुनेछ। तर, अनुशासन” भनेको माथि उल्लेखित सबै पक्षहरुलाई समेट्ने शब्द हो।

आत्म–अनुशासन सबै समाजहरु र सबै व्यक्तिहरुका लागि एक योग्यता हो। आत्म अनुशासित नागरिकहरु भएको देशहरुले पनि अन्तर्राष्ट्रिय स्तरमा विकास र प्रतिस्पर्धा गर्ने महत्वपूर्ण अभियानको रुपमा समाजको गुणवक्तामा सिधा प्रतिविम्बित गर्दछ। जब हामी आधारभूत सिद्धान्तहरु विचार गर्दछौं, विद्यार्थीहरुको एउटा समूहले उच्च शिक्षा स्तरको ज्ञान, सीप, र आदर्श विशेषताहरुको प्रणालीमार्फत कम्तिमा १२ बर्षको लागि आधारभूत सामाजिक मूल्यमान्यताहरु प्रतिबिम्बित गर्नुपर्दछ। तसर्थ, सबै सरोकारवालाहरुले समाजमा राम्रो नागरिकको रुपमा प्रवेश गर्नुअघि अनुशासित स्नातकहरुको आशा गर्दछन्। यथार्थमा त्यहाँ धेरै कारकहरु छन्, जुन उनीहरुलाई अपेक्षाबाट फरक बनाउँदछ, वर्तमान अवस्थामा समाजमा युवा अनुशासन समस्याहरुको जवाफ खोजी गर्दा यो पनि चुनौतीपूर्ण छ।

किन अनुशासनको कमी भयो नेपाली समाजमा, किन अनुशासनको ‘अ’ पनि सुन्न चाहँदैन हाम्रो समाज ? किन दिन प्रतिदिन छाडा हुँदै गए अहिलेका युवा पिढीहरु ? किन हामी कसैलाई पनि आदर, सम्मान र इज्जजत गर्न हिचकिचाउने ? यी माथिका प्रश्नहरुको उत्तरहरु अहिले अनुत्तरित जस्तै छन्।

अनुशासनको पहिलो विद्यालय भनेको घर हो। एउटा सानो बच्चालाई अनुशासित बनाउनका लागि घरका बाबु आमाबाट शुरु हुन्छ। कस्तो कराहरु सिकाउनु हुँदैन ? कस्तो कुरा सिकाउनु हुन्छ ? कसरी बोल्ने, आफूभन्दा ठूलो सानोलाई कस्तो व्यवहार गर्ने, स्कुलि¨ बाबु आमाबाट शुरु हुन्छ। तर अहिलेका बाबुआमा आधुनिक भएका छन्। छोराछोरीलाई समय दिने फुर्सद छैन। यदि व्यस्त भए कि आफ्ना बच्चा ६ महिनाको पुगेपछि मन्टेश्वरीमा भर्ना गर्दछन्, त्यो बच्चाले के खायो के गर्‍यो उनीहरुलाई वास्तै छैन, त्यतातिर सोच्ने समय नै छैन। अब सोच्नुहोस्, त्यो बच्चाले आमाबाबुबाट के सिक्ने, कसरी अनुशासित हुने, आमाबाबुको माया कसरी कसरी पाउने ? त्यो बच्चाले कस्तो अनुशासन सिक्छ अनि पछि समाजलाई कस्तो असर पर्दछ त्यो सोचनीय कुरा हो।

विश्वविद्यालय, कलेजमा हेरौं, विद्याथीले कसैलाई टेढ्दैनन् अनि चुरोट पिउँछन्, गाँजा खाने खान्छन्, शिक्षकलाई धम्काउने एउटा डिग्री लिन्छन् अनि अमेरिका, युरोप र अष्ट्रेलिया जाने लाखौं ऋण बाबुआमाको काँधमा बोकाउँछन् र अन्तिममा बाबुआमालाई दागबत्ती दिन घाटमा आउँछन्। यस्तो कहालीलाग्दो, दर्दनाक, पीडादायक र विडम्वनापूर्ण स्थिति छ। यसको कारक भनेको उसको आमाबाबुले सिकाएको संस्कार र अनुशासनलाई प्रमुख मान्न सकिन्छ।

वास्तवमा अनुशासन यस्तो गुण हो, योग्यताको टच स्टोन एक व्यक्तिको जन्मजात विश्वासपूर्ण भक्ति भनेको अनुशासन हो, ज्ञान र बुद्धिको होइन। मानिस एक सामाजिक अस्तित्व हो, समाजमा अरुसँग बस्नुपर्छ। समाजमा आफूले चाहेको काम गर्न सक्दैन, केही नियमहरु पालना गर्नुपर्दछ। यी नियम पालना गर्न चाहिने कानून र अर्डर भनेको अनुशान हो।

दिनानुदिन हाम्रो समाजमा अराजकता आगोझैं फैलिएको छ। कोही अनुशासनमा बस्न चाहँदैन, घरमा बाबुआमाले भनेको छोराछोरीले टेढ्दैन, अफिसमा हाकिमले भनेको तल्लो कर्मचारीले मान्दैन, स्कुलमा शिक्षकले भनेको विद्यार्थीले टेढ्दैन, जताततै अनुशासनको खडेरी परेको छ। यो त समाजका एकदुई उदाहरण भए। कसैलाई कसैप्रति जवाफदेहिता भन्ने पटक्कै छैन। यसकारण हाम्रो समाज विभाजित छ।

अनुशासनको मूल्य मानिसको जिवनमा अवर्णनीय छ, मानिसहरुलाई शान्ति र खुशीको साथ समाजमा रहन मद्दत गर्दछ। अनुशासन बिना घर, समाज र देशमा केही सुधार गर्न सकिँदैन। यहाँ एउटा प्रकृतिको बलियो उदाहरण स्पष्ट देखाउन सकिन्छ। पृथ्वी, चन्द्रमा ताराहरु र सबै ग्रहहरु अनुशासनपूर्वक कडाइका साथ सूर्यको वरिपरि घुमेको हुनाले यो ब्रह्माण्ड चलेको छ र त हामी पनि सुरक्षित छौं।

हाम्रो जीवनको हरेक चरणमा अनुशासन अत्यन्त आवश्यक छ। विद्यार्थी जीवन भनेको अनुशासनको बानी निर्माण गर्ने सबैभन्दा राम्रो समय हो। विद्यार्थी समयमा स्कूलमा उपस्थित हुनुपर्दछ र स्कूलको नियमहरुको पालना गर्नुपर्दछ। विद्यार्थीले शिक्षकका आदेशहरु र अनुशासन कार्यान्वयन विना शिक्षकले पढाउन सक्दैनन् र विद्यार्थीले आफ्ना पाठहरु र गृहकार्य सिक्न र लेख्न सक्दैनन्।

यसको विपरीत हाम्रा कतिपय स्कूलहरुमा अनुशासन सिकाउन भन्दा पनि स–साना बालबालिकालाई चाहिने भन्दा बढी ठेलीका ठेली किताब र चर्को शुल्क तिर्न लगाएर अभिभावकको ढाड सेकिरहेका छन्। कति स्कूलहरुले आफ्नो मातृभाषा सिकाउन न त परको कुरा, नेपाली भाषा बोलेबापत दण्ड सजाय दिएका छन् र अंग्रेजी भाषा जानिएन भने विदेश जान पाइँदैन भन्दै भ्रम छरेका छन्। कतिपय कलेजहरुका विद्यार्थीहरु शुल्क तिरेर मात्र पास हुनुपर्छ भन्ने मानसिकताले गाँजेको देखिन्छ भने शुल्क तिरेको आधारमा पास गरिदिनुपर्छ भनेर शिक्षकहरुलाई धम्काउँछन्।

सेनाको अनुशासन माथिदेखि तलसम्म कडाइका साथ पालना गरिएको छ र कठिनाई, खतरा र मृत्युमा समेत आफ्ना कमाण्डरको आदेश पालन सबै सिपाहीहरुलाई बाध्य पारेको हुन्छ। खेल र खेलहरुमा अनुशासन आवश्यक छ, खेलाडीले रेफ्रीको निर्णयलाई सम्मान गर्नुपर्छ। यदि खेल मैदानमा खेलाडीहरुले खेलका नियमहरु र कप्तानको आदेश पालना गर्दैनन् भने खेल गुमाउने निश्चित हुन्छ।

हाम्रो समाजभित्र रहेका घरघरका सबै सदस्यहरुले परिवारका नियमहरु पालना गर्नुपर्छ, अनुशासनविनाको परिवार अराजकता र दुःख भोग्ने निश्चित जस्तै हुन्छ। सबै परिवारका सदस्यहरु अनुशासित हुनुपर्छ, अनुशासित परिवारले सुखी र स्वस्थ जीवन जिउन सकिन्छ। समाज, देश र सबैभन्दा माथिल्लो राष्ट्रको विकास अनुशासन बिना सम्भव छैन। अनुशासनविनाको जीवन एक पाइलट बिनाको हवाइजहाजजस्तै हो।

भनिन्छ नि, ‘अनुशासन फलदायी जीवनको रहस्य हो।’ स्कूलदेखि माथिल्लो उच्च तहसम्म अनुशासनको शिक्षा दिनका लागि नैतिक शिक्षा पढाउनु आवश्यक छ। नेपाली समाजमा नेपाली संस्कार हराउँदै गएको बेला घरघरबाट अनुशासनको प्रदर्शन गर्नुपर्दछ। सञ्चार माध्यम, सामाजिक सञ्जाल र पत्रपत्रिकामा अनुशासनको लेख, रचना, जनचेतना फैलाउनु आवश्यक छ।

सकारात्मक सोच र नेपाली समाज

भनाइ छ “रिसले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि भ्रष्ट हुन्छ, बुद्धि भ्रष्ट भए तर्क नष्ट हुन्छ। जब तर्क नष्ट हुन्छ तब व्यक्ति पतन हुन्छ” कतै हाम्रो समाज यस्तो हुन लागेको त होइन।

हाम्रो समाजलाई नकारात्क विचारले यदि धेरै गाँजेको छ कि प्रत्येक मानिसको नशा नशामा लागू पदार्थको औषधी फैलिएझै फैलिएको नकारात्मक विचार उच्चतम विन्दुमा फैलिइरहेको छ। हुन त समाजमा नकारात्मक विचारहरु यसै फैलिएको हुँदैन, केही न केही तत्वले असर पारेको हुन्छ। हामीहरुको एउटा यस्तो बानी विकसित भएको छ, आफ्नो आ¨मा भैंसी हिडेको नदेख्ने अरुको आ¨मा जुम्रा हिडेको देख्ने उखानलाई चरितार्थ गरेको छ।

अहिले सिंगाे मानव जाति जीवनका लागि दुश्मन बनेर आइरहेको कोभिड–१९ बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्ने बेलामा नेपाली समाजमा केही नकारात्मक विचारले मानव जातिलाई विभाजितको स्थितिमा पुर्‍याएको स्पष्ट देख्न सकिन्छ। यसो त आलोचना गर्नु हुँदैन पनि भन्न खोजिएको पनि होइन, सकारात्मक सोचसहितको सभ्य आलोचनाले मानिसलाई पछाडि होइन, अघि बढाएको हुन्छ। विज्ञान र प्रविधिले ल्याएको परिर्वतन पछि आएका शब्दहरु देख्दा मलाई अचम्म लाग्छ । समाज छाडा भयो, अश्लिल भयो, एकले अर्कोलाई स्वीकार नगर्ने, धैर्य गर्न नसक्ने कस्तो समाज भएको हाम्रो जता पनि नकारात्मक विचारले जेलिएको छ। कसैले कसैलाई मन पदैन भने धैर्य गर्न सक्नुपर्‍यो, सकारात्मक तवरले बहस गर्न सक्नुपर्‍यो।

सबैभन्दा नकारात्मक विचार अहिलेको युवा वर्गमा देखिएको छ, किन यस्तो भइरहेको छ ? यस्तो स्थितिलाई बेलैमा रोक्नुपर्छ। यस्तो हुनु देशका लागि धेरै हानिकारक हुन सक्छ। हाम्रा विद्यालय, कलेज र क्याम्पसहरुमा स्तरीय शिक्षा दिएका छौं त ? होइन भने यस्तो अराजकता किन भइरहेको छ ? के अहिलेको युवा वर्गलाई किन यति धेरै हिनताबोध भइरहेको छ ? आफूले लिएको डिग्रीअनुसारको काम नपाउनु त होइन ? यी र यस्तै समस्याहरु बेलैमा रोक्नु आवश्यक देखिन्छ।

जापानिज शब्दकोषमा गाली भन्ने शब्द नै हुँदैन भनिन्छ, हाम्रा गाली गर्ने शब्द हेर्नुहोस् त कति छन्, ती गालीका शब्दहरु यहाँ उल्लेख गर्नु मनासिव हुँदैन। यदि गालीका शब्द जान्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा (फेसबुक, टुईटर र युवट्युब) हेर्न सक्नुहुन्छ। यस्ता गाली कसले कसरी बनाए, तिनैलाई सोधे थाहा हुन्छ।

यसै सन्दर्भमा एक जना प्रा.डा. युवराज संग्रौलाको शब्दहरु सापट लिन सान्दर्भिक लाग्यो, ‘‘हामीसँग केवल गाली गर्ने, गफ गर्ने, ढाट्ने कला, बेइमानी र देश सराप्दै विदेसिने कला मात्र रहेछ।’’ यो भनाइले यही कुरालाई संकेत गरेको छ र नेपाली समाज यस्तै भइरहेको छ। हामीले एकले अर्कोलाई स्वीकार नगर्ने, मजस्तो अरु कोही जान्ने छैन, मैले भनेको मात्र ठीक हो, म मात्र ठीक छु, सबै मैले भनेको हुनुपर्छ भन्ने सोच सबै तहमा देखिएको छ। हामी किन यति छाडा हुँदैछौं ? किन अरुको विचार सुन्नै चाहँदैनौं ? किन नेपाली समाजमा सकारात्मक सोच आउँदैन ?

अस्पतालमा पुगेका बिरामीले डाक्टरको विश्वास गदैनन्, सरकारी कार्यालयमा सेवाग्राहीले कर्मचारीको विश्वास गदैनन्, व्यापारीलाई ग्राहकले विश्वास गदैनन्, ड्राइभरलाई यात्रुले विश्वास गर्दैनन्, सुरक्षाकर्मीलाई जनताले विश्वास गदैनन्, नेतालाई भोटरले विश्वास गदैनन्, किसानले बिचौलियालाई विश्वास गदैनन्, विश्वविद्यालयलाई विद्यार्थीले विश्वास गदैनन्। यहाँ कतै पनि विश्वास र सकारात्मक देखिँदैन।

आजको विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको युगमा सामाजिक मिडियाले समाजमा सकारात्मक र नकारात्मक दुवै तरीकाले धेरै प्रभावकारी हुन्छन्, यस्तै भइरहेको छ विश्व जगतमा। तर नेपाली समाजमा त्यसको ठीक उल्टो भइरहेको छ। यति धेरै छाडापन भएको छ न त हेर्न सकिन्छ, न त सुन्न सकिन्छ। सामाजिक मिडियामा भएका कमेन्ट, भिडियोहरुमा यति धेरै गाली, तुच्छ शब्द र नकारात्मक विचार रंगिएका छन्, त्यसले हाम्रो समाज कहाँ छ भनेर स्पष्ट पारेको छ। यसले नेपाली समाजमा, जो एकअर्को टाढा बस्ने मानिसहरुलाई सम्पर्कमा रहन खबरहरु आदानप्रदान गर्न, समाचारहरु हेर्न, रमाइलो गर्न र जानकारीपूर्ण सामग्री हेर्न प्रयोग गरिरहेका मानिसहरुलाई पनि असर गरेको छ।

सञ्चार माध्महरुलाई हेर्‍यो भने, सबै त नभनौं, तर प्राय सञ्चार माध्यमहरुले नकारात्मक समाचार सम्प्रेषणबाट शुरु गर्दछन्। जहाँ नराम्रो छ त्यो समाचार नै सञ्चार माध्यमको प्राथमिकतामा पर्दछ। सकारात्मक समाचार चाहिँ नकारात्मक समाचार पाइएन भने बजाउन बाध्य हुन्छन्। टेलिभिजन प्रस्तोताले वा अन्तरवार्ता लिने र दिने दुवैले नकारात्मक टिप्पणी, अर्काको बिरोध, गाली गलौज गरेर अन्तरवार्ताको समय खर्चिएका हामीले देख्दै आएका छौं। अरुको नकारात्मक, गाली, टिप्पणी गर्दागर्दै हामी यस्तो भयौं कि सकारात्मक सभ्य हुन नै बिर्सियौं।

अपवादबाहेक पत्रपत्रिकाहरुले पनि समाजमा सकारात्मकभन्दा पनि नकारात्मक सामाचारलाई पहिलो प्राथमिकता दिएको पाइन्छ। उदाहरणका लागि हेर्न सकिन्छ, महावीर पुन, जसले देशलाई योगदान गरेको छन्, उनको समाचार कुनै समाचारले मूख्य समाचार बनाएको पाइँदैन वा स्थान नै पाउँदैनन्, किनभने यस्ता समाचार पाठकले पढ्न नि रुचाउँदैनन्, किनभने पाठकलाई नकारात्मक समाचार मात्र पढ्ने लत बसेको छ।

हुन त नेपाली समाजमा धेरै नक्कली वेबसाइटहरुले नक्कली समाचारहरु केवल क्लिकवेल्टको रुपमा प्रकाशित गरेका छन् र क्लिकहरु प्राप्त गर्नका लागि मात्र समाचारका हेडलाइन राखेका हुन्छन्, ताकि उनीहरुको विज्ञापन धेरै होस्, अनि आम्दानी बढोस्। यस्ता नक्कली वेबसाइडहरुले पनि समाजमा भ्रमको खेती छरेको देखिन्छ। समाजमा भ्रम, नकारात्मक र झुटको खेती गर्नेहरु धेरै सामाजिक सञ्जालको सहारा लिएको देखिन्छ। यसलाई र यस्तो परिस्थिति उत्पन्न गर्नेलाई तत्काल रोक्नु आवश्यक छ।

नकारात्मक विचारहरुबाट टाढै बसौं। सकेसम्म नकारात्मक विचारलाई प्रश्रय दिने सामग्रीहरु नहेरौं। सकारात्मक कुराहरुलाई समाजमा फैलाउँ, नकारात्मक विचारलाई बिर्सिउँ। विज्ञान र प्रविधिको युगमा धेरै राम्रा कामहरु गर्न सकिन्छ। जस्तैः युवट्युवमा हेरेर नयाँ–नयाँ कामहरु गर्न सकिन्छ। मान्छ्ेहरु युवट्युव हेरेर खेती गर्न थालेका छन्।

सकारात्मक सोचसहितको विचार आफैबाट शुरु गरौं। अरुको भर नपरौं, सकारात्मकसहितको सभ्य समाज बनाउन हामीले आफैबाट शुरु गरौं। घरमा बसांै, कोरानाबाट आफू पनि बचौं, अरुलाई पनि बचाउँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्