कोभिड–१९ पछि को बन्ला विश्व महाशक्ति ?

maps globe
चीनले देशको एक पार्टी प्रणाली र सत्ता निर्देशित अर्थतन्त्र भएको बताएको छ। उसले भनेको छ, ‘चिनियाँ अर्थतन्त्रको जग बलियो भएकोले कोरोनाको कारण अर्थतन्त्र छोटो समयका लागि मात्र प्रभावित हुनेछ, दीर्घकालिन वृद्धिलाई कुनै असर गर्ने छैन। त्यसैले चीनको अर्थतन्त्रको वृद्धिदर अपेक्षाकृत ६.७५ रहनेछ।’
लोकपाटी न्यूज

डा. प्रेम आले

कोभिड–१९ को संक्रमणपछि विश्वलाई अरु धेरै संकट आइपर्ने कुरामा सबै सहमत छन्। विशेषतः आर्थिक संकट विश्वभरि पर्ने निश्चित छ। त्यसबाहेक सामाजिक, राजनीतिक, धार्मिक, बातावरणीय तथा सुरक्षामा यसको असर पर्ने देखिन्छ। कुनै देशलाई धेरै, कुनै देशलाई थोरै होला। तर सबैले यस्ता संकटहरु झेल्नुपर्ने हुन्छ। यो महामारीले सबै देशहरुलाई मानवीय क्षति पुर्‍याएको त छ नै, त्योभन्दा ठूलो क्षति अर्थतन्त्रलाई पुर्‍याएको छ। यो रोगसित जुध्दै गर्दा धेरै सरकारको क्षमता उदांगो भएको छ। यो महामारीबाट मुक्त भएपछि सबै देशको राजनीतिक र आर्थिक गतिबिधि नयाँ शिराबाट शुरु गर्नुपर्ने हुन्छ, जसका कारण अहिलेको विश्व राजनीति नै फरक हुन सक्छ।

विश्व राजनीतिको नेतृत्व अब कसको हातमा जान्छ ? भन्नेबारे धेरै प्रकारका अनुमान भएको छ। राजनीतिक पण्डितहरुका आ–आफ्नै धारणा बाहिर आएका छन्। कसैले दावी गरेका छन् कि अमेरिका नै विश्व राजनीतिको नेतृत्वमा रहनेछ अथवा यो कोभिड–१९ को महामारीले अमेरिकालाई पछाडि धकल्ने छैन। ऊ आफ्नो स्थान कायम राख्न सक्षम रहनेछ। तर कसै कसैले भनेका छन् कि अबको विश्व राजनीतिको नेतृत्व चीनले गर्नेछ, किनकि उसले यो महामारीमा कुशल नेतृत्व दिन सक्यो र अहिले ऊ विश्वको धेरै देशहरुलाई अत्यावश्यक सामान तथा प्रविधि दिँदैछ र ऊसित आर्थिक राहत दिन सक्ने क्षमता पनि छ। यो लेखमा दुवै कोणबाट आएको विचारहरुको बहस र विश्लेषण गरिनेछ।

Prem Ale

पहिला, चीनले कोरोना भाइरसविरुद्धको युद्ध जित्यो। त्यसैले अब ऊ विश्व आर्थिक गतिविधिलाई, त्यसैले विश्व राजनीतिलाई पनि, उसले चाहेको दिशामा डोर्‍याउन सक्छ भन्ने तर्कको बारेमा बहस गरौँ। केहीको भनाइलाई सही मान्ने हो भने चीनले कोरोना महामारीको युद्धमा शानदार सफलता हासिल गर्‍यो, उसले २ महिनाको अवधिमा बुहान, जहाँबाट यो भाइरसको शुरुवात भएको थियो, त्यसलाई पूर्ण रुपमा भाइरसमुक्त गर्न सफल भयो।

शुरुका दिनमा चीनलाई आरोप नलागेको होइन। बुहानका एक जना चिकित्सक डा. लि वेन्लियनले डिसम्बर २०१९ मा सार्सजस्तो भयानक रोगको बिगबिगी रहेको सुनाउँदा उनलाई ‘वाहियात कुरा’ नगर्न चीन सरकारले चेतावनी दिएको थियो। लगत्तै २ महिनापछि उनी त्यही रोगको शिकार भए। उनको कुरा चीन सरकारले समयमै सुनेको भए त्यो रोगबाट धेरै मानवीय क्षति नहुने कुरामा चिनियाँहरु तथा बाह्य दुनियाँ विश्वास गर्छन्। तर ढिलो भइसकेको थियो, भाइरस फैलिइसकेको थियो। यसरी सत्य कुराको ढाकछोप गरेको र समयमै उचित कदम नचलेको भनि कम्युनिष्ट चीनको देशभित्र र बाहिर आलोचना भयो।

कोरोना भाइरस फैलिइसकेपछि बेइजिङ्ग सत्ताले कठोर निर्णय लियो। देशलाई लकडाउन गर्‍यो, यातायात सेवा बन्द गर्‍यो, रेस्टुराँ तथा मनोरञ्जन स्थलहरु सबै बन्द गरिए। अनि कसैलाई पनि जमघट हुन दिइएन। सामाजिक दूरी कायम गराउन सुरक्षा फौज ठाउँठाउँमा खटिए। रोग लागे/नलागेको जाँच कडाइका साथ गरे। अनि रातारात क्वारेन्टाइन बनाएर उच्च जोखिममा भएकाहरुलाई छुट्टै राख्ने व्यवस्था गरे। फलस्वरूप २ महिनाभित्र नयाँ संक्रमितको संख्या शून्यमा झार्न सफल भयो। यो सफलताको विश्व स्वास्थ्य संगठनले समेत उच्च प्रशंसा गरेको छ र अन्य देशलाई पनि त्यसरी नै कोरोनाविरुद्ध लड्ने निर्देशन दिएको छ, जुन कुरा अमेरिका लगायत केही देशलाई पचेको छैन।

यो सफलताको मुख्य कारण चीनले देशको एक पार्टी प्रणाली र सत्ता निर्देशित अर्थतन्त्र भएको बताएको छ। उसले भनेको छ, ‘चिनियाँ अर्थतन्त्रको जग बलियो भएकोले कोरोनाको कारण अर्थतन्त्र छोटो समयका लागि मात्र प्रभावित हुनेछ, दीर्घकालिन वृद्धिलाई कुनै असर गर्ने छैन। त्यसैले चीनको अर्थतन्त्रको वृद्धिदर अपेक्षाकृत ६.७५ रहनेछ।’

कोरोनाविरुद्धको अपार सफलतापछि अहिले चीनले आफ्नो ‘नरम शक्ति’ विश्वमा प्रदर्शन गरिराखेको छ। हालै मात्र विश्वका करिब ८२ वटा देशहरुमा चीनले भाइरस परीक्षण गर्ने उपकरण र व्यक्तिगत सुरक्षा कवज पठाएको छ। केही आलोचनाको बाबजुद चीन अहिले विश्वमा एक सफल शक्तिको रुपमा देखिन थालेको छ भने राष्ट्रपति सी कोरोना भाइरस नियन्त्रणमा कडा रुपमा प्रस्तुत भई अहिले एक सफल नेतृत्वको रुपमा चित्रित भएका छन्। यद्यपि अमेरिका लगायत अन्य युरोपेली देशहरु यो कुरा मान्न तयार छैनन्।

अर्को पक्षले अमेरिका नै विश्व राजनीतिको नेतृत्वमा रहनेछ भन्दै आएका छन्। यो पक्षको राय के हो भने कोभिड–१९ को महामारीले अमेरिकाको अर्थतन्त्रलाई कुनै असर गरेको छैन। मानवीय क्षति भएको छ। तर अर्थतन्त्र बलियो छ। र बाहिर देखिएको÷भनिएको भन्दा राष्ट्रपति ट्रम्पको कार्यशैली बिल्कुल फरक छ, किनकि अमेरिकन जनताले लोकतन्त्रलाई सधैं वैधानिकता दिँदै आएका छन्। राजनीतिक जिम्मेवारी र पारदर्शिता यसको मुख्य आधार हो, जुन बेइजिङ्ग सत्तामा पाइँदैन।

यो पक्षको भनाइ मान्ने हो भने चीन अन्य देशहरुलाई भनेको जस्तो आर्थिक राहत दिनसक्ने अवस्थामा हुने छैन। किनकि चीनको अर्थतन्त्र अहिले नाजुक स्थितिमा छ। चीनले निर्यात गर्ने अमेरिका लगायतका १२ देशहरु अहिले कोरोना भाइरससित सबैभन्दा बढी लडिराखेका छन्, ती देशहरुमा मात्र चीनले महामारीपूर्व ४० प्रतिशत ब्यापार गर्दथ्यो। अब त्यही स्केलको व्यापार हुन केही समय लाग्नेछ। त्यसका लागि अमेरिका र युरोप महामारीपूर्वको अवस्थामा फर्किनु जरुरी हुन्छ, जुन छिट्टै हुने सम्भावना छैन।

विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले २०१८–१९ का लागि झन्डै १५% (४०० मिलियन डलर) सहयोग गरेको थियो। राष्ट्रपति ट्रम्पले अब त्यस्तो सहयोग नगर्ने घोषणा गरेका छन्। किनभने यो संगठनले कोरोना भाइरसका विरुद्धमा ‘सामान्य कर्तब्य पूरा गर्न नसकेको’ आरोप छ। ट्रम्पका अनुसार कोरोना भाइरसलाई फैलिन नदिन चीनले समयमै उपयुक्त कदम चाल्न सकेन र विश्व स्वास्थ्य संगठनले पनि चीनप्रति ‘नरम नीति’ अपनायो। यसरी हेर्दा अमेरिकाले विश्वका संगठनहरुबाट बिस्तारै हात झिक्न खोजेको हो कि भन्ने भान हुन्छ। यस्तो अवस्थामा रिक्त भएको ठाउँमा चीनले कसरी आफूलाई प्रस्तुत गर्छ, त्यो हेर्न केही समय पर्खिनुपर्ने हुन्छ। यहाँ स्मरण गर्नुपर्ने कुरा यो छ कि आउने नोभेम्वरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ र यो ट्रम्पको चुनाव जित्ने एउटा रणनीति मात्र पनि हुन सक्दछ।

नेपाललगायत दक्षिण एशियाका साना देशहरुमा चीनको प्रभावलाई पनि यहाँ जोड्न सकिन्छ। चीनले यी देशहरुमा कोरोना भाइरसविरुद्ध लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण पठाएको छ। कोरोना भाइरसका कारणले यी साना देशहरुको अर्थतन्त्र झनै तहसनहस भएको छ। यी देशहरुको मुख्य अर्थतन्त्र कच्चा पदार्थको निर्यात, पर्यटन र खाँडी मुलुकहरुमा काम गर्ने कामदारहरुको रेमिट्यान्सबाट धानेको छ। तर कोरोना महामारीपछि यी सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन्। यस्तो अवस्थामा चीन, जसको ढोकामै यी देशहरु छन्, ले यी देशहरुलाई कसरी उद्दार गर्दछ, त्यसले पनि चीनको नेतृत्वदायी भूमिकाको परीक्षण गर्दछ। चीनका लागि यो एउटा अवसर पनि हो, जुन हेर्न बाँकी छ।

यी देशहरुमा चीनको अनावश्यक प्रभाव देख्ने अमेरिकाले यसलाई कसरी सम्हालेर अघि बढ्ने हो, त्यसले पनि धेरै कुरा प्रष्ट पर्दछ। अमेरिकाका लागि आफ्नो साझेदारी देश भारतको भूमिका कस्तो रहन्छ, त्यसै मुताबिक उसको सहयोग रहने कुरामा दुईमत छैन। भारतले सार्क फोरममार्फत नेतृत्व प्रदान गरिसकेको छ। उसले १० मार्च २०२० मा सार्क कोभिड–१९ आपतकालीन कोष स्थापना गर्दै आफ्नो तर्फबाट १० मिलियन डलर घोषणा गरेको छ। यो रकम बाँकी देशहरुको जम्मा रकमभन्दा अलिक बढी हो। त्यस्तै आवश्यक औषधि, खाद्य सामग्री र पेट्रोलियम पदार्थ निर्यातका लागि भारतले यी देशहरुलाई सहयोग गर्दै आएको छ। त्यस्तै अमेरिकाले पनि बंगलादेश, नेपाल र श्रीलंकालाई स्वास्थ्य क्षेत्रका लागि क्रमशः ३.४, १.८ र १.३ मिलियन डलर सहयोग गरिसकेको छ। यसरी हेर्दा के देखिन्छ भने यी साना देशहरुमा आफ्नो प्रभाव राख्न चीन र अमेरिका–भारत प्रतिस्पर्धा गर्दै आएका छन्।

अन्त्यमा, अमेरिकाले गएको दशकहरुदेखि आफ्नो सैनिक तथा आर्थिक क्षमताका कारण विश्व नेतृत्वलाई कायम राख्दै आएको छ। चीनलाई अलग्याएर, सम्बन्धमा तिक्तता थपिँदा अमेरिकालाई फाइदा हुँदैन। यो कोरोना महामारीको विरुद्ध लड्नका लागि अमेरिकाले जर्मनी, दक्षिण कोरिया, ताइवानलगायत देशहरुबाट सिक्नुपर्दछ। चीनसित व्यवहारिक र परिणाममुखी सम्बन्ध राख्न सक्नुपर्दछ र विश्व स्वास्थ्य संगठन जस्तो ग्लोबल संगठनहरुसित राम्रो सम्बन्ध राखे अमेरिका अझ पनि विश्व नेतृत्व लिन सक्षम हुने देखिन्छ। होइन भने आर्थिक रुपले उदाउँदै गरेको चीनलाई कम आंकलन गरे विश्व नेतृत्व उसको हातबाट फुत्केर बेइजिङ्गको हातमा जाने निश्चित छ।

(ब्रिटिश गोर्खा रेजिमेन्टका अवकाशप्राप्त मेजर डा. आले अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी विज्ञ हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्