बढेपछि सपनाको पिरामिड
साल्दाइ पसेका थिए शहर !
शहर पस्नुअघी बुबाले
भन्नुभएथ्यो
“साइला, शहर गएपनी गाउँघर नबिर्सनु
मलाई दम छ, आमालाई प्रेसर फोन गर्दै
गर्नु”
उनले पनि हल्लाएका थिए
हल्लाउन त टाउको ‘हुन्छ’ भन्दै !
तर,
शहर गएपछी किन सम्झिन्थे गाउँघर,
गरेनन् फोन सोधेनन् हालखबर !
शहर गएपछी किन सम्झिन्थे बा आमा,
बिर्सिए बुबाको दम, सोधेनन् आमाको
प्रेसर !
भैँसीको बाक्लो मोहीसँग मकैका
च्याख्ला खाएर हुर्केका मेरा साल्दाइ
शहर पसेपछी भेटेछन् कि के हो
मनसुलिको जाउलो
सम्झेनन् भैंसीको मोही, सोधेनन् एक बात
भैंसी ब्याउने छ कि नाइ ?
गुराँस फूल्दा जङ्गलमा स्कूलै नपुगी छुट्टी
हुन्थ्यो साल्दाइको
शहर पसेपछी भेटेछन् कि के हो
कागजको रङ्गीन गुलाब
सम्झेनन् गुराँसको फूल, भनेनन् पठाइदेन
एउटा फोटो
सालको पातमा हालेको कोदोको रोटि
औधी मन पराउने मेरा साल्दाइ
शहर पसेपछी भेटेछन् कि के हो
आधुनिक म:म का डल्ला
सम्झेनन् कोदाको रोटि,
भनेनन् आमालाई कोदाको पिठो पठाइदिनु !
साल्दाइले चटक्कै बिर्सिएपछि गाउँघर
गाउँघरले पनि बिर्सियो उनलाई !
जिउनी धाराले बिर्सियो क्यार साल्दाइको
तिर्खा सुक्नै लाग्यो धाराको पानी !
हरेलो डाँडाले बिर्सियो क्यार साल्दाइको
सुसेली
रमाइलो लाग्दैन पहिलाजस्तो हरेलो
बजार !
रमिते भीरले बिर्सियो क्यारे साल्दाइको
पसिनाको रङ्ग
बनमारा उम्रीन्छ भीरमा घासको सट्टा !
भर्खे दहले बिर्सियो क्यार साल्दाइको
स्वीमिङ
सुक्नै लाग्यो दहको पानी !
डल्ली भैंसीले बिर्सियो क्यार साल्दाइको
मोहीप्रेम
दिँदैन अचेल भैँसीले दूध !
छरछिमेकिले पनि बिर्सिए क्यारे
साल्दाइको उधारो सहयोग
सोध्दैन कुनै छिमेकिले खबर !
बाआमाले पनि बिर्सिनुभयो क्यार
साल्दाइको तस्विर
हिँडेको देखे बाटोमा कोही नयाँ मान्छे
भन्नुहुन्छ:- साइलो आयो कि के हो ?
यसरी एकाएक विराना भए साल्दाइ
बरु फर्किन्थ्यो होला बन्दुकको गोलि तर
फर्केनन् साल्दाइ
बरु पग्लिन्थो होला ढुङ्गाको मुटु
तर पग्लेन कहिले साल्दाइको मुटु !
भएपछी विरानो निष्ठुरी साल्दाइ
नसम्झेपछी कहिले गाउँघर
नसोधेपछी बाआमाको खबर
कहिलेकाही मेरो सामु बा भन्नुहुन्छ
बढेपछी सपनाको पिरामिड
मान्छे शहर पस्छ र गाउँ बिर्सन्छ
आइलागेर कुनै विपत्ती
फैलिएर कुनै महामारी
बढ्यो भने भोकको पिरामिड
मान्छे शहरलाई धिक्कार्छ र गाउँ
सम्झिन्छ !
यतिबेला शहरमा
पर्यो कि के हो कुनै बिपत्ती
फैलियो कि के हो कुनै महामारी
बढेछ क्यार ह्वात्तै भोकको पिरामिड
साल्दाइको फोन आएथ्यो आज बिहान भन्दैथे रुँदै,
लकडाउन खुल्नासाथ म घर आउँछु भाइ
बाआमालाई सेवाढोग सुनाइदे है !



लोकपाटी न्यूज

