निरु महर
काठमाडौंमा कोठा लिएर पढ्न थालेको तीन वर्ष पूरा भयो। यतिबेला पनि ललितपुर टीकाथली कोठाको एकान्तबासमै छु। तीन वर्ष कसरी बिताए पत्तै भएन। कोरोना कहरमा कोठाभित्रको एकान्तबास निकै पट्यार लाग्दो तरिकाले दिनहरु बिताई रहेकी छु।
यस पटक घरबाट काठमाडौं फर्केको दस दिनपछि सरकारले लकडाउन गरेपछि आफ्नै कोठाभित्रको स्वेच्छिक कैदी भएकी छु। म घर जानु भन्दा पहिलेनै पसलबाट ल्याएर बचेको र काठमाडौं फर्कदा घरबाट ल्याएर आएको सामानले अहिलेसम्म साँझ बिहानको छाँक टार्न भ्याएकी छु। एकदिन बिराएर गाडीले ल्याएको पानी किनेर पिउने गर्छु। किनेकै पानीले खाना पकाउन र भाँडा माँझ्न भ्याउनु पर्छ।
स्वास्थ्य सेवा तर्फको लोकसेवा कक्षा लिनु र किताबहरु पढ्नुनै म काठमाडौं बस्नुको मुख्य उद्देश्य हो। तर, दिनभरी कोठाभित्रै बसेर पढ्नका लागि नत मसँग स्वास्थ्य बिषयका प्रयाप्त पुस्तकहरु छन्। नत सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया गर्ने मसँग साथी नै छन्। केवल मसँग एउटा मोबाइल छ। घरभेटीले जोडेको वाईफाई छ। दिनभरी मोबाईल चलाउछु। इन्टरनेटको सहायताले फेसबुकबाटै साथीहरुसँग कुरा गर्छु। कोरोना कहरले सृजना गरेको देश तथा विदेशका घटनाक्रमको अपडेट हुने गरेकी छु।
सायद घरबाट फर्केको भर्खरै भएर होला, लकडाउन भएको सुरु–सुरुमा दैनिक जसो घरमा आमा–बुवासँग फोन सम्पर्क गर्ने गरेकी थिए, आमा–बुवाले कोठाभित्रै सुरक्षित रहेर बस्नु भनेर सम्झाउनु हुन्थ्यो, आजभोली मोबाईल रिचार्ज गर्नलाई खल्तीपनि खाली भएर होला, घरमा आमा–बुवालाई मैले फोन गर्न छोडी सकेकी छु। केहि बिराएर घरबाटै आमा–बुवाले फोन गर्नु हुन्छ। हिजो आज फोनमा आमा–बुवाले बच्नको लागि कोठामै सुरक्षित बस्नु भनेर सम्झाउदा पनि निकै गाह्रो लाग्न थालेको छ। सायद यो कोरोनाको महामारी कहिलेसम्म चलिरहने हो भन्ने निश्चित नभएरपनि होला, आमा–बुवाले छोरीको लागि गरेको चिन्ताप्रति गाह्रो लाग्न थालेको।
एउटी नारी भएर पनि होला, महिनौंसम्म कोठाभित्रको एक्लो बन्दी भएर बस्नु परेकोमा एक्लो महसुस गर्न थालेको। केहि दिनपछि कोठाभित्र रासान, पानी सकियो भने, कहाँबाट ? कसरी ? ल्याउने भन्ने निकै चिन्ता लाग्न थालेको छ। यो महामारीको लकडाउन अझै कति लामो हुँदै जाने हो ? त्यसको पनि अत्तोपत्तो नहुँदा झनै मन आत्तिने गरेको छ। पर्याप्त आवश्यक पुस्तकबिना एउटा मोबाईलको भरमा कोठाभित्र गरिएको एक्लो अध्ययनले स्वास्थ्य जस्तो लोकसेवाको पढाई के पूरा होला र ? भनेर झनै चिन्ता लाग्ने गरेको छ।
एक मनले चिन्ता लाग्ने गरेपनि, अर्को मनले कतै मैले पढेकी थिए–‘विश्व मानव इतिहासमा मान्छेहरु भोकले भन्दा पनि बढि रोगले मरेका छन्।’ भन्ने हरफलाई सम्झिने गर्छु र रोगबाट बच्न सकियो भने, कसो कोठाभित्र भोकले मरिएला र ? भनेर चित्त बुझाउने गरेकी छु। रोगबाट बच्न सकियो भने, यस वर्ष लोकसेवा आयोगको पढाई पूरा गर्न नसकिए पनि आगामी वर्षमा त पूरा गरौंला भनेर मन बुझाउने गरेकी छु। जय एकान्तबासले सबैको कल्याण गरोस्। धन्यवाद।



लोकपाटी न्यूज

