खिमा रिजाल
विश्व यतिबेला कोभिड–१९ नामक भाइरसको कारण तहस नहस बनेको छ। चीनको बुहानबाट शुरुवात भएको उक्त भाइरस चीनमा मात्रै सीमित नरहेर विश्वभर नै महामारीको रुपधारण गरिसकेको अवस्था छ। उक्त नाम गरेको भाइरसले आजसम्म करिव १ लाख ४७ हजारको सेरोफेरोमा मानिसको मृत्यु भइसकेको छ भने करिव २१ लाख ब्यक्तिहरु संक्रमित भइसकेका छन्।
महामारी यतिमा मात्रै सीमित रहने अवस्था देखिँदैन। विश्वका अति विकसित मानिएको देश अमेरिका देखि अविकसितसम्मका देशहरुमा समेत यसले माहामारीको रुप धारण गरिसकेको छ। शक्ति राष्ट्रहरु समेत आलस तालस परेको अवस्था छ । उक्त माहामारीलाई मानव जातिले विकास गरेको प्रविधिले रोक्न समेत यतिबेला हम्मे हम्मे पारेको अवस्था छ।
उक्त भाइरसद्धारा संक्रमित हुने क्रमबाट नेपाल पनि अछुतो रहन सकेन। हालसम्म ९ जना संक्रमित भइसकेका छन्। विश्वको मृत्यु र संक्रमणको त्रासदीपूर्ण समाचारले मानिसको मनमष्तिष्कलाई खल्बलाएको छ। यो महामारीले विश्वभरि नै मानिसको दैनिकी फेरिदिएको छ। प्राय सबै देशहरु लकडाउनको अवस्थामा छन्। हाम्रो सरकारले पनि सम्भावित महामारीलाई मध्यनजर गरेर चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको छ। यो अवस्था अझै कति लम्बिन्छ भन्ने यकिन गर्न सकिने अवस्था पनि छैन। अत्यावश्यक सामग्री किनमेलबाहेक अरु समय जो–कोही ब्यक्ति पनि बाहिरफेर हिड्न मनाही गरिएको छ।
यसरी हप्तौं घरमा बस्दा एकातिर त्रासदीपूर्ण समाचारले मानिसमा डर र त्रास पैदा गरेको छ भने अर्कोतर्फ दिनभर घरमै बस्दा सबैले इलोक्ट्रोनिक सामान प्रयोग गरेको पाइएको छ। यी र यस्ता सामग्रीको प्रयोग बच्चामा कति ठीक कति बेठीक हुन्छ त ?
राज्यले महामारीबाट बच्न एकान्तबासको नीति अख्तियार गरेका कारण घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन। स्कूल कलेज बन्द छ, त्यसैले पनि फेरिएको दैनिकीसँगै आजभोलि प्रायः बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म बच्चाहरु इलेक्ट्रोनिक सामानमा झुण्डिएको पाउँछौं। यो अवस्थामा आफ्ना सन्तानलाई मोवाइल, आइप्याड, ट्याव, ल्यापटपजस्ता इलेक्ट्रोनिक साधनहरु उपलब्ध गराउने कुरा स्वाभाविक पनि हो। जुन बानी त्यति राम्रो होइन, जसको अत्यधिक प्रयोगले बच्चालाई ‘बोनम्यारो क्यान्सरको समस्या, स्मरण शक्तिमा कमिदेखि आमाशय, आँखा तथा कान लगायत शरीरको विभिन्न भागमा समस्या देखिन सक्छ। त्यति मात्रै होइन, बच्चा एकोहोरिने, बेलाबेलामा निकै आक्रोशित हुने, जिद्धी हुने, मागेको कुरा हुनैपर्ने जस्ता समस्या पनि देखिन सक्छ।
त्यतिसम्मलाई आमाबाबुले बच्चा हो भनेर वास्ता गर्दैनन्। तर जब बच्चाले पढेको कुरा सम्झन नसक्ने हुन्छ, खाजा खाएको, होमवर्क गरे नगरेकोसम्म पनि थाहा नपाउने हुन्छ। राम्रै पढ्ने बच्चा पढाइमा कमजोर हुँदै जाने र अन्तत अनुत्तीर्ण समेत हुने भएपछि बल्ल आमाबाबुले मेरो बच्चालाई के भयो भनेर खोजी गर्न थाल्दछन्। त्यसैले यतिबेला प्रत्येक अभिभावक चनाखो बन्नुपर्ने देखिन्छ। यदि बेलैमा चनाखो बन्न सकेनौं भने यसबाट निम्तने समस्या निकै खतरनाक बन्न सक्छ।
यदि यो अवस्था सिर्जना भएको छ भने यस्तो अवस्थाको बच्चालाई इलेक्ट्रोनिक स्क्रिन सिन्ड्रम भइसकेको मानिन्छ। यो निकै घातक मानसिक समस्या हो। विश्व स्वास्थ्य सङ्गठनले बच्चामा हुने यस्तो समस्यालाई इलेक्ट्रोनिक स्क्रिन सिन्ड्रम भएको मानेको छ। यस्तो समस्या खासगरि रक्सी, चुरोट, कोकिनको लतभन्दा पनि निकै डरलाग्दो हुने मानिन्छ। यसबाट बच्चालाई छुटाउन निकै समय लाग्छ। यस्तो समस्यामा रहेको बच्चा अव्यवहारिक हुनुको साथै सानोतिनो कुरामा पनि रिसाउने, झर्को फर्को गर्ने, जिद्दी, एकोहोरो हुने तथा सानो समस्यालाई पनि निकै ठूलो रुपमा लिने गर्दछ ।
इलेक्ट्रोनिक स्क्रिन सिन्ड्रम हुने बच्चामा देखिने समस्याः
- उदासिनता
- ध्यान केन्द्रित गर्न नसक्ने
- बेइमान हुने वा झुट बोल्ने
- चिन्तित हुने
- दोषी महशुस गर्ने
- कम्प्युटर, स्मार्ट फोन पाउँदा खुशी हुने
- अरुबाट अलग बस्ने, हुने
- समयको ख्याल नगर्ने
- नियमित काम छोड्दै जानु
- स्वभावमा परिवर्तन आउनु
- डराउनु
- एकोहोरो हुने
- रिसाउने
- झिझ्झिने
- पढाइमा कमजोर हुँदै जाने
- टोलाएर बस्ने
- स्मरण शक्तिमा ह्रास हुँदै जाने
- निद्रामा अनियमितता
- एक्लो महशुस गर्नु
- आफ्नो नियमित कामको रुटिनदेखि वाक्क हुनु, दिक्क मान्नु।
बालबालिकामा इलेक्ट्रोनिक स्क्रिन सिन्ड्रमले पार्ने दुष्प्रभाव बेलैमा ध्यान दिइएन भने यसको दुष्परिणाम भयावह हुन्छ। बालबालिकाको सिर्जनशीलता ह्रास हुन्छ। पढाइदेखि कुनै कुरामा ध्यान केन्द्रित गर्न सक्दैन। विभिन्न मानसिक समस्याले गाँज्दै लान्छ। अभिभावकलाई धम्क्याउने, झर्कने, जिद्दीपन बढ्दै जान्छ भने कतिपयमा डिप्रेशन हुन्छ। आत्महत्या र अपराधको मनोवृत्ति बढ्छ। पर्सनालिटी डिस्अर्डरको समस्या पनि देखिन्छ। सामाजिक व्यवहार कमजोर हुन्छ। अनुशासनहीनता बढ्छ। जिम्मेवार नागरिक बन्न सक्दैन। त्यसैले यसको प्रयोगमा अभिभावक सिर्जनशील बन्न जरुरी देखिन्छ।
यसको उपचार विधि
- व्यक्तिगत, सामूहिक तथा पारिवारिक थेरापी
- आर्ट थेरापी
- सिविटि
- ब्यवहार संशोधन (विहेवियर मोडिफिकेशन) थेरापी
- रियालिटि थेरापी
विश्व स्वास्थ्य सङ्गठनले बढ्दो स्मार्ट फोनको प्रयोगले आगामी २० बर्षमा प्रत्येक परिवारमा एक जना ब्यक्ति गम्भिर प्रकृतिको बिरामी बन्नेछ भनेर भनिसकेको छ। त्यस्तै DSM-V ले इलोक्ट्रोनिक स्क्रिन सिन्ड्रम पनि लागू पदार्थ दुब्र्यसनी जस्तै एक प्रकारको अति गम्भिर प्रकृतिको मेण्टल डिस्अर्डर हो भनेर परिभाषित गरेको छ। यस्तो अवस्थामा हामी सबैले प्रविधिको प्रयोग नगरी बस्न पनि सक्दैनौं। पछाडि फर्केर बाँच्न पनि सक्दैनौं। तर आफू र आफ्नो परिवार, अनि समाजलाई स्वस्थ्य बनाउन प्रविधिको सहि प्रयोग गर्नुपर्दछ। साथै आफ्नो छोराछोरीले प्रयोग गर्ने इलेक्ट्रोनिक सामानको प्रयोग गर्दा कतै दुरुपयोग त गरेका छैनन् भन्ने कुरामा सचेत बन्ने र बनाउने गर्नुपर्दछ।
जसरी लागूपदार्थ दुब्र्यसनीबाट ब्यक्तिलाई बाहिर निकाल्न निकै कठिन हुन्छ। त्यस्तै इलेक्ट्रोनिक स्क्रिन एडिक्सनबाट व्यक्तिलाई बाहिर निकाल्न निकै गाह्रो हुने तथा स्मरण शक्तिमा समेत कठिन हुने हुनाले बेलैमा सचेत बन्न जरुरी छ। यदि एडिक्सनमा पुगिसकेको भए मनोचिकित्सक तथा मनोविदसँग परामर्श गर्न पनि त्यक्तिकै जरुरी छ। त्यसैले प्रविधिको प्रयोग गर्दा बेलैमा सचेत बन्नुपर्दछ।
आमाबुवाले यतिबेला बालबालिकालाई भुलाउनकै लागि इलेक्ट्रोनिक सामान मात्रै पनि दिनु हुँदैन। बरु आफ्नो बच्चालाई प्रशस्त समय दिनुपर्दछ। बालबालिका जिज्ञासु हुन्छन्। नयाँ कुरासँग बढी चाँडो आकर्षित हुन्छन्। बालबालिकालाई सबैभन्दा ठूलो कुरा अभिभावकको समय हो। समय दिनुपर्छ। अहिलेको अवस्थामा उनीहरूलाई सिर्जनशील काम गर्न लगाउनुपर्छ। कथा भन्ने, सुन्ने बानीको विकास गर्नुपर्छ। यसले स्क्रिनको दुस्प्रभावबाट बचाउन सकिन्छ। बच्चासँग घरभित्रै खेल्न मिल्ने खेलहरु खेल्ने, चित्र बनाउन प्रोत्साहित गर्ने लगायतका सिर्जनशील काममा लाग्न सकिन्छ। त्यसो गरेमा बच्चालाई स्वस्थ्य बनाउन तथा स्वस्थ समाजको निर्माण गर्न सकिन्छ।



लोकपाटी न्यूज

