श्रेया नेपाल
विद्यालय आउजाउ गरी प्रत्येक परीक्षामा सामेल भई सफल नतिजा पाएसँगै वर्ष दिनको परीक्षाको नतिजाले त एक कक्षामाथि पुग्दा त्यो खुसी आम विद्यार्थीका लागि अति महत्वपूर्ण हुन्छ। त्यही खुसी प्राप्त गर्नका अनि आधारभूत तहको परीक्षाका लागि धमाधम रिभिजन कक्षा सञ्चालन भइरहेको थियो। आधारभूत तहको परीक्षाका लागि अन्य विद्यालय जानुपर्ने के, कस्तो हुने हो, प्रश्नपत्रहरु कस्ता आउने हुन् ? यावत कुराहरुले मनमा खुलदुली आउँथ्यो।
हुन त महाविद्यालयमा सबै कुरामा कडा हुने भएकोले पढाई लगायत अन्य कुराहरुमा कुनै विद्यार्थीहरु पछि हट्दैनन्। म पनि किन पछि हट्थें र ? जस्तो अवस्थामा पनि हाजिर हुन तयार थिएँ। विद्यालय आउजाउ गर्दै गर्दा र अन्तिम परीक्षाको तयारी गर्नुपर्ने भएकाले अरु केही सोचाइ आउँदैनथ्यो। घर आउँदा सुनियो अभिभावकको मुखबाट विश्वभरि कोरोना भाइरस (कोभिड–१९) ले धेरै मानिसको मृत्यु भइसकेको अनि धेरै संक्रमित पनि भन्ने कुरा। फेरि बुद्धिजीवीहरुले विद्यालय बन्द गर्नुपर्छ भनेर दवाव पनि दिएका छन्। सडकमा ती व्यक्तिहरुले माक्स पनि बाँड्दै हिडेका छन् रे। विद्यालय कतिबेला बन्द हुने हो निश्चित छैन भनेर घरमा अभिभावकले जानकारी गराउनुहुन्थ्यो।
फागुन २५ गते रिभिजन कक्षा सञ्चालन भइरहँदा पो कक्षा ८ का कोडिनेटर सपना ओली म्याडमले तिमीहरुको परीक्षा चैत ५ गते सकिसक्नुपर्छ। आफ्नै विद्यालयमा नै परीक्षा सञ्चालन हुन्छ, शिक्षा मन्त्रालयले ५ गतेसम्ममा परीक्षा सकिसक्नुपर्छ भनेको छ भन्नुभयो। भोलिपल्ट २८ गतेदेखि हुने परीक्षा तालिका आयो। अनि जस्तो तयारी थियो, त्यस्तै परीक्षा दियौं।
त्यति बेलासम्म सबैको मुखमा माक्स सुरु भइसकेको थियो। कक्षा १ देखि ९ सम्मका विद्यार्थी र अभिभावकले चैत ५ गते परीक्षा सकिँदा आनन्दको सास फेर्न पाए। तर, कति चिनचानका साथीभाइको विद्यालयमा परीक्षा नै सकिएको रहेनछ। सरकारले तोकेको समयमा परीक्षा सकेनछन्। त्यो दुखद पक्ष हो। त्यो विद्यालय अभिभावक र विद्यार्थीहरुकै तनावको विषय हो। सरकारले तोकिएको समयमा परीक्षा नसक्नु विद्यालयको कमजोरी हो।
जब चैत सात गते एसईई सञ्चालनका लागि प्रश्नपत्र ठाउँ–ठाउँमा पुगिसकेको, सेन्टरमा सिट नम्बर समेत टाँसिसकेको र टाढाटाढाका विद्यार्थीहरु ऋण काढेर सेन्टरमा आइसकेपछि ६ गते बेलुका ५ बजे सरकारले परीक्षा स्थगित गरिदियो। कोरोनाको त्रासमा त्यो निर्णय सही थियो। तर, परीक्षामा सामेल हुन सेन्टरमा आएका विद्यार्थी ढिला गरिएको निर्णयले निराश बने।
चैत ५ गते परीक्षा सकेपछि ७ गते कक्षाको साथी नुनिकाको जन्मदिन साथीहरु जम्मा भएर रमाइलो गर्ने योजना पनि कोरोनाको त्रासले एकाएक सेलायो। सरकारले ११ गतेदेखि त लकडाउन नै घोषणा गर्यो। आजसम्म आइपुग्दा चाैंथो चरणसम्म लकडाउन थपिएको छ। अझ के हुने हो, थाहा छैन। विश्वभरि केरोनाले धेरै मानिसको ज्यान गइसकेको छ। धेरै जना संक्रमित भएका छन्। यसमा नेपाल पनि अछुतो रहेन। आजसम्म १६ जना संक्रमितमध्ये १ जना सञ्चो भए, १५ जना आइसुलेशनमा छन्।
हाम्रो विद्यालयमा सबै कक्षाको नतिजा आयो। मेरो भने आधारभूत तहको परीक्षा भएकाले कहिले आउने हो, थाहा छैन। लकडाउन कहिलेसम्म हुने हो, थाहा छैन। विद्यालयबाट आउनेबित्तिकै फ्रिजमा खानेकुरा हेर्ने बानी अहिले त फ्रिज रित्तो भइसक्यो। भान्सामा ल्याएका खानेकुरा रित्तिइसक्यो। आज नि दालभात, भोलि पनि दाल भात कहिले जाउलो। लकडाउनले जस्तोमा पनि रमाउनुपर्ने कुरा राम्ररी सिकायो।
हजुरबुबाले र्याकमा राखेका किताब खोजेर पढ्न सिकायो। समाचार हेर्न सिकायो, परिवारसँग रमाउन सिकायो, हाम्रो नेपाल भनेको हाम्रो घर हो र नेपाली भनेको हाम्रो परिवार रहेछ भन्ने कुरा राम्ररी बुझ्न सिकायो।
धेरै मानिसहरु लकडाउनले खान पाएका छैनन्। भोकै बस्नुपरेको छ, काठमाडौंबाट हिडेर कोही विराटनगर कोही रौतहट कोही कता पुगेको समाचार आइरहेको छ। ज्याला मजदुरी गर्ने, गरिबहरुले राहात पाएका छैनन्। सरकाले बाँडिरहेको छ। कसैले दोहोर्याएर लगेको त कसैले एकचोटी पनि पाएका छैनन्। पहिचान गरी राहात बाँडियोस्। घर जान नपाउनेलाई जान पाउने व्यवस्था गरियोस् सरकार।
हामी आम नेपालीहरुले पनि सरकारले तोकेको लकडाउनको पानला गरी कोरोनालाई पराजित गराई हामी सबैले जीत हुन सफल होउ। मैदानमा उत्रिने सुरक्षाकर्मी, डाक्टर, नर्सलाई निरास होइन, सबैले हौसला प्रदान गरौं। हामीले जीत हासिल गर्यौं भने शैक्षिक क्षेत्रमा पक्कै अगाडि बढ्न सक्छौं। के थाहा, न पछि हामी नै पो भविश्यमा कोरोनाको इन्जेक्सन पत्ता लगाउने व्यक्ति पो बन्न सक्छौं कि ! हाम्रो शैक्षिक यात्रालाई सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु। कोरोनाबाट आतंकित होइन सचेत बनौंं, धन्यवाद।
(नेपाल सैनिक आवासीय महाविद्यालय, सल्लाधारी, भक्तपुरमा कक्षा ८ मा पढ्छिन्।)



लोकपाटी न्यूज

