प्रविधिले बिथोलिएको जीवन पद्धति

best-mobile-games-for-kids
बच्चाहरु हर्लिस, सेर्लेस तथा च्यावनप्रास खाँदै हुर्किरहेका छन्। हिँड्ने हुन थालेपछि मम, चाउमिन ,चाउचाउ उनीहरुका फेभरेट खाना बनेका छन् आजकल, जसले गर्दा बच्चा देख्दा मोटो देखिए तापनि बलियो तथा तन्दुरुस्त छैनन् र सानैदेखि चश्मा लाउनुपर्ने, सागपात त देखाउनै नहुने खाउ भन्यो भने रुन सुरु गर्ने जबर्जस्ती खुवाउनुपर्ने बाध्यता सिर्जना भएको छ।
लोकपाटी न्यूज

सुभाष ज्ञवाली

अहिलेको युग विज्ञान र प्रविधिको युग हो। बिभिन्न प्रविधिहरुको उच्चतम प्रयोग गर्दागर्दै हामीहरु दिनप्रतिदिन प्रकृतिसँग टाढिदै गइरहेका छौं। रुखको फेदमा बसेर प्राकृतिक हावा खाने हामी अहिले एसीमुनि बसेर हावा लिइरहेका छौं। पहिले मैदानमा गएर खेलिने खेलहरु आज मोबाइल, ल्यावटप र अन्य विद्युतीय उपकरणमार्फत् खेल्न सुरु गरिएको छ। प्राकृतिक रुपमै विकसित हुँदै आएका हाम्रा शारीरिक एवं मानसिक तन्दुरुस्तीका उपायहरु आज स्वचालित मेसिन वा उपकरणबाट नियन्त्रण तथा निर्देशित हुन थालेका छन्। अझ भन्ने हो भने हाम्रा विचार, सोचाइ तथा संस्कारहरु क्रमशः यान्त्रिकरण हुने क्रममा छन्।

हाम्रा खानेकुराहरु पनि दैनिक रूपमा परिवर्तन हुँदै गइरहेका छन्। मानिस अहिले भुटेका मकै, कोदोको रोटी, जौको सातु र घरमा दुहेको भैंसीको दुध, गुन्द्रुक, ढिडो, दही मोहीभन्दा चाउचाउ, मम, पास्ता, चाउमिन, पिजा, बर्गर, आइसक्रिम, फ्रुटी, कोक, फेन्टा जस्ता जङ्गफ्ड खान मिठो मान्न थालेका छन्।

Subash gyawali
लेखक : सुभाष ज्ञवाली

हामी विकास निर्माणका कार्यहरु सञ्चालन गर्दा प्रकृतिलाई बिर्सिदै गएका छौं। जब हामी प्रकृतिको विरुद्धमा अगाडि बढछौं, तब प्रकृतिले पनि हामीलाई दुख दिँदै जान्छ। कहिले भूइँचालो, कहिले बाढीपहिरो त कहिले कोरोना जस्तै महामारीहरु फैलिँदै जान्छन्। हामी घर बनाउँदा खोला नदीको किनारा मिचेर प्राकृतिक कुरालाई वास्तै नगरी काम गर्दछौं, अनि पछि बर्षामा बाढी आएर करोडौंको क्षति पुर्याउँछ। अनि हामी पछुताउँछौं।

त्यस्तै घर बनाउँदा प्रकृतिलाई नै असर पर्ने गरी बनाउने अनि भूइँचालो जस्ता प्राकृतिक प्रकोप आउदा आत्तिने हाम्रो बानी परिवर्तन नभएसम्म हामी सुरक्षित हुन सक्दैनौं। खानामा पनि मासुको परिकारले हामीलाई असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि हरेक छाक जस्तै अनिवार्य हुनु दुखद पक्ष हो। घरमा कोही पाहुना आउँदा पनि अनिवार्य मासुको परिकार बनाउनुपर्छ भन्ने हाम्रो सोच परिवर्तन नभएसम्म हाम्रो स्वास्थ्यलाई हानिकारक त गर्छ नै। सँगै गरिबीको रेखामुनि रहेका व्यक्तिलाई सामाजिक प्रतिष्ठित गुमाउनुपर्ने अवस्था सिर्जना हुन्छ।

विश्वमा एक वर्षमा उत्पादन गरेको खाद्यान्नले मानिसहरुले मात्र उपभोग गर्ने हो भने करिब तीन वर्षलाई पुग्दछ भन्ने अनुमान गर्न सकिन्छ। तर हामी जंगली जनावरलाई पनि हाम्रो जिब्रोको स्वादका लागि हाम्रो अत्यधिक खाद्यान्न खर्च गरिरहेका छौं। हाम्रो भान्सामा प्रयोग हुने करिब पैसठ्ठी प्रकारका प्राकृतिक मसला अहिले सजिलोका लागि प्याकेटमा रहेका मिठो स्वादका मसला प्रयोग गरिरहेका छौं। कतै हामी आधुनिकताका नाममा हामी आफ्नो स्वास्थ्यलाई नै हानी हुने खालका सामाग्री प्रयोग गरिरहेका त छैनौं ? प्रश्नचिन्ह खडा भइरहेकै छ।

हिजो घरमा आटो, मकै, सिन्की, ढिडो, सिस्नो खाने व्यक्तिलाई गरीब भन्ने हाम्रो समाज कुहिएको चामल खानेलाई सम्भ्रान्त परिवार मान्दछ। अहिलेका बच्चाहरु प्राकृतिकभन्दा पनि कृतिम वातावरणमा हुर्किरहेका छन्। पहिलेका महिलाहरुले ५–६ वटा बच्चाहरु जन्माउँथे। बच्चाहरु प्राकृतिक रुपमै जन्मिन्थे, हुर्किन्थे र स्वस्थ पनि हुन्थे। किनकी उनीहरु माटोमै खेलीखेली दिनचर्या बिताइरहेका हुन्थे। गाउँमै उत्पादन भएका फलफूल तथा खानेकुराहरु खान्थे। गाईभैंसीको दुध तथा त्यसबाट बन्ने परिकारहरु मात्र खान्थे र बलिया हुन्थे, तन्दुरुस्त हुन्थे।

तर पहिले र अहिलेका बच्चाबच्चीहरुमा आकाश पातालको भिन्नता देख्न पाइन्छ। आँगन पिँढीमा खेल्थे भिरपाखा, खोलानाला, बनजंगल उनीहरुका दैनिक थिए। तर अहिले बच्चा जन्मिनेदेखि लिएर हुर्किने सबै प्रक्रियाहरु अप्राकृतिक बन्दै गइरहेका छन्। एउटा कोठामै सीमित हुँदै आइरहेका छन् आजका बालबालिकाहरु। खेल्ने, पढ्ने, नाँच्ने, डुल्ने, उफ्रिने सम्पूर्ण कार्य एकै ठाउँमा गरि दैनिकी कटाउन बाध्य छन् उनीहरु। खेल मोबाइलमै खेल्न थालेका छन् गीतहरु युट्युव तथा टिभीबाट मात्र देख्न र सुन्न थालेका छन्।

बच्चाहरु हर्लिस, सेर्लेस तथा च्यावनप्रास खाँदै हुर्किरहेका छन्। हिँड्ने हुन थालेपछि मम, चाउमिन ,चाउचाउ उनीहरुका फेभरेट खाना बनेका छन् आजकल, जसले गर्दा बच्चा देख्दा मोटो देखिए तापनि बलियो तथा तन्दुरुस्त छैनन् र सानैदेखि चश्मा लाउनुपर्ने, सागपात त देखाउनै नहुने खाउ भन्यो भने रुन सुरु गर्ने जबर्जस्ती खुवाउनुपर्ने बाध्यता सिर्जना भएको छ।

अब हामी प्रकृतिप्रेमी बन्नुपर्ने बेला भएको छ। विकास निर्माणका हरेक गतिविधिहरु सम्पन्न गर्दा प्रकृतिलाई विशेष ध्यान पुर्याउनुपर्ने बेला भएको छ। विज्ञान र प्रविधिले जति फड्को मारे पनि प्राकृतिक रुपमा आउने कोरोना भाइरसजस्ता माहामारीलाई केही गर्न नसक्दो रहेछ। त्यसैले प्रकृतिलाई बचाउँ र मानव अस्तित्वको संरक्षण गरौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्