विजयप्रकाश सापकोटा
नेपाली राष्ट्रिय राजनीतिमा ठूलाठूला जनक्रान्ति,बलिदानीपूर्ण संघर्षको उतारचढावसँगै नेपालमा संविधानसभाबाट संविधान घोषणा भयो। देश धर्मनिरपेक्ष, समावेशी, समानुपातिक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा अघि बढेको छ। देशमा लामो राजनीतिक संक्रमणकालले स्थायित्व थिएन। तर गत चुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झन्डै दुईतिहाइ मत ल्याएसँगै नेकपाका एक अध्यक्ष क. केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष कार्यकालका लागि स्थायी सरकार गठन भयो।
ओली नेतृत्वको स्थायी सरकारप्रति सम्पूर्ण जनता एवं पार्टी कार्यकर्ता पंक्तिमा एउटा नयाँ आशाको किरण पलायो, सबैलाई विश्वास भयो कि अब देशले विकास र समृद्धिको गतिमा छलाङ हान्छ। अझ प्रधानमन्त्री ओलीको काम गर्ने दृढ़ इच्छाशक्तिले जनता अझै खुसी भए। यसैबीच प्रधानमन्त्रीले एक मूल नारा ल्याउनुभयो “समृद्ध नेपाल, सुखी नेपाली।’’ यसरी नै केही समय प्रधानमन्त्रीको नेतृत्वमा सरकारले दृढ इच्छाशक्तिसहित नयाँ जोशमा जनपक्षीय काम गर्न थाल्यो।
तर समयसँगै प्रधानमन्त्रीमा निरन्तर स्वास्थ्य समस्या आइरह्यो। यसबीच प्रधानमन्त्रीले डाक्टरको सल्लाहअनुसार दौडधुपलाई कम गरी स्वास्थ्य उपचारमा लाग्नुपर्ने भयो, सोहीअनुसार केही समय आराम पनि गर्नुपर्यो। प्रधानमन्त्रीको स्वास्थ्य कारणले बाहिरी सक्रियतामा पातलियो। यद्यपि बाहिरी दौडधुप नभए नि प्रधानमन्त्रीले आफ्ना सल्लाहकार, मन्त्रीमार्फत् दैनिक सरकारका कामकारबाहीमा दिशानिर्देश गर्नुभएको छ। यस सगँसँगै प्रधानमन्त्रीका सल्लाहकार वा निजी सचिवहरुको सक्रियता स्वाभावै अलि बढी भयो, यो खुसीको कुरा थियोे। सल्लाहकारको आवश्यक सही सल्लाह एवं सहयोगले नै प्रधानमन्त्रीको कार्यसम्पादन सफल हुने हो।
तर सल्लाहकारको सक्रियता प्रधानमन्त्रीको “समृद्ध नेपाल, सुखी नेपाली’’ बनाउने योजनाअनुरुप हुन सकेन। बरु उल्टो प्रधानमन्त्रीको अस्वस्थताका फाइदा उठाउँदै उता प्रधानमन्त्रीलाई देशको वस्तुस्थिति÷घटनाक्रमको गलत सूचना दिने र गुमराह राख्ने, यता सल्लाहकारहरुले एकपछि अर्को गर्दै विवादित कार्यहरुमा संलग्न भइरहे। प्रधानमन्त्रीको ठाडो आदेश भन्दै सरकारका संयन्त्रमा भ्रष्टाचार र कमिसनको चलखेल त कहिले भन्सारमा कर छली तस्करी कारोबारको आतंक। अहिले जसरी हुन्छ कमाउ वा लुटको नीतिअन्तर्गत सल्लाहकारहरु लागि परेका छन्। कसरी हुन्छ अहिले प्रधानमन्त्रीलाई झन् कमजोर बनाउन पाए आफूले कमाउन सकिन्थ्यो भन्ने ध्यानबाहेक केही छैन। यसकै पछिल्ला केही कडी हुन्, स्वयं प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याक गरी अनावश्यक ट्वीट गरिदिने, कहिले वेभसाइट ह्याक हुने, कहिले प्रधानमन्त्री कार्यलयको आधिकारिक फेसबुक पेज नै डिलिट गर्ने।
अहिले कोरोना भाइरस संक्रमणको विश्व महामारीमा स्वास्थ्य उपकरण सामग्रीमा सल्लाहकारहरुका छोरा र ओम्नी ग्रुपसँगको कमिसनको सेटिङ लगायत पछिल्ला उदाहरण हुन्। आफ्ना कर्तुतहरु बाहिरिए, न्युज पोर्टल नै ह्याक गर्ने। यी यस्तै दर्जनौं अनैतिक कार्यमा व्यस्त सल्लाहकारहरुले सरकारलाई बदनाम गर्दैछन्। “समृद्ध नेपाल , सुखी नेपाली’’ बनाउने अभिभारासहित दृढ इच्छाशक्ति बोकी अघि बढ्नुभएका असल प्रधानमन्त्रीलाई समेत असफल बनाउन तल्लीन खराब सल्लाहकारबाट स्वयं प्रधानमन्त्रीले जित्न जरुरी छ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका सपनाहरु पूरा गर्न पनि यस्ता खराब प्रवृत्तिका आफ्ना सल्लाहकारको साँघुरो घेरा तोड्न जरुरी छ। यी साँघुरो घेराले देश र जनताको वास्तविक चित्रमा ग्रहण लगाई देश र जनतासँगको सम्बन्धमा पर्खाल खडा गर्दैछन्। जसबाट नेपाली जनताको न्यायमा अङ्कुश, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा माफियाको नाङ्गो दादागिरीलाई प्रोत्साहन हुने नीतिगत निर्णयमा यिनै खराब सल्लाहकारको चलखेल स्पष्ट देखिनु केही उदाहरण हुन्।
देश र जनताप्रति इमान्दार नागरिकले यस्ता गलत प्रवृत्तिको सचेततापूर्वक गरेका प्रश्न, आलोचना र सुझावसँग डराउनुपर्ने स्थिति झन डरलाग्दो र अँध्यारो हुन्छ। त्यसैले समाननीय प्रधानमन्त्री केपी शर्मा ओलीको ४० दशकभन्दा लामो राजनीतिक त्याग, तपस्या र राष्ट्र निर्माणप्रतिको लगावमा कुनै प्रश्न छैन। तर, प्रधानमन्त्री स्वास्थ्य लाभका लागि आराममा रहँदा यता सल्लाहकारबाट हुने देश र जनताप्रतिको बेइमानीले चिन्तित बनाउँछ।
यतिबेला नेपाली राजनीतिमा नेपाल राष्ट्र र नेपाल कम्युनिस्ट पार्टीको भाग्य र भविष्य प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कामकारबाहीमा निर्भर हुनेछ। अहिले जस्तो निर्वाचनबाट कम्युनिस्ट पार्टीको यति धेरै बहुमत विरलै प्राप्त हुन्छ। यो अवसरको सजिलो घडीमा पनि देश र जनताको आधार फेर्ने महत्त्वपूर्ण जनपक्षीय काम हुन सकेन भने जनताले कसलाई विश्वास गर्ने ? कम्युनिस्ट पार्टीको सरकार र मण्डलले वा दक्षिणपन्थीले चलाएको सरकारमा केही भिन्नता नभएपछि ? मण्डलले भन्दा कम्युनिस्ट पार्टीका नेता, मन्त्री र कार्यकर्ता झन् भ्रष्ट देखिनु सिङ्गो विश्व कम्युनिस्ट आन्दोलन र वर्गप्रतिको चरित्रमा गद्दारी हो।
त्यसकारण प्रधानमन्त्रीले आफ्ना आसेपासे वा खराब सल्लाहकार वा अन्य जो–कोही पनि भ्रष्टाचारमा लिप्त छन् भने पनि अत्यन्तै निर्मम भई कडा कार्वाही गर्नुको साथै देशमा सुशासन कायम गरी जनतासँग राज्यको प्रत्यक्ष सम्बन्ध विकास गरी अभिभावकत्व ग्रहण गर्नुपर्छ। किनकि जनता शक्ति हुन्, जनता नै जनार्दन हुन्। जनता र शासकको दूरी बढ्दा २४० वर्ष लामो जहाँनिया शाही शासनले घुडा टेकेको इतिहास हामीसँग ताजै छ। तसर्थ, प्रधानमन्त्री ओलीलाई राष्ट्र निर्माणको “समृद्ध नेपाल, सुखी नेपाली’’ भन्ने अभियान र नेपाललाई समाजवाद उन्मुख आधारशिला खडा गर्ने अभिभारामा सम्पूर्ण नेपालीको साथ र सहयोग रहनेछ।
अहिले विश्व मानव जाति कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा छ। यस लडाइँमा नेपाल पनि अछुतो रहेन। कोरोना भाइरस विरुद्धको लडाइँमा सम्पूर्ण नेपाली एकतावद्ध भई सरकारलाई साथ सहयोग गरी अघि बढ्नुको विकल्प छैन। काम गर्दै जादा कहिलेकाहीँ केही कमीकमजोरी हुन्छन्, ती कमीकमजोरीमाथि जनताले प्रश्न गरिसकेपछि सच्याएर अघि बढ्नु बुद्धिमता हुन्छ। एउटा कमजोरीलाई लुकाउन, अरु सयौं कमजोरीले ढाक्ने प्रवृत्तिको अन्त्य गरौँ। राष्ट्र निर्माणमा दृढ इच्छाशक्तिसँगै अघि बढ्ने असल प्रधानमन्त्रीलाई सबैले साथ सहयोग गरौँ। खराब सल्लाहकारलाई विदा गरौँ।
(सापकाेटा अनेरास्ववियूका केन्द्रीय सदस्य हुन्।)



लोकपाटी न्यूज

