कोरोनाका कारण न्युयोर्कमा फेरि एक नेपालीको मृत्यु

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। न्युयोर्कमा कोरोना भाइरस (कोभिड(१९) बाट थप एक नेपालीको मृत्यु भएको छ। सर्वाधिक प्रभावित अमेरिकी सहर न्युयोर्कमा थप एक नेपालीको मृत्यु भएको हो।

४५ वर्षीय पवनकुमार मल्लको न्युयोर्क उडसाइडस्थित निवासमै मृत्यु भएको उनका नातेदार पद्मा प्रधानले पुष्टि गरिन्। न्युयोर्क सहरमा अहिलेसम्म १८ हजार ३०२ कोरोना संक्रमित देखिएका छन्। न्युयोर्क राज्यभरिमा ११ हजार ५८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। आठ वर्ष अगाडि अमेरिका पुगेका पुगेका पवन नेपाल छँदा नेपाल प्रहरीको असई थिए। उनका एक श्रीमती र दुई छोरा नेपालमै छन्। गैरआवासीय नेपाली संघ, अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँका अनुसार न्युयोर्कमा उनी ग्रीन क्याब नामक ट्याक्सी चलाउँदै आएका थिए।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले गरेको अध्ययनले न्युयोर्कमा आम जनसम्पर्कमा रहेर काम गर्नेहरु बढी जोखिममा रहेको देखाएको छ। उबर चलाउने एवं स्टोर फ्रन्टलाइनमा काम गर्ने नेपालीहरु बढी जोखिममा छन्। कोरोना प्रकोप बढ्दै गए पनि पवनकुमार नियमित काममै थिए। संक्रमणमा परेपछि घरमै उपचार गराइरहेका उनलाई मंगलबार एक्कासि श्वासप्रश्वासमा समस्या देखिएको थियो। अस्पतालले स्थिति जटील नभएको बताएर आरम गर्न भनेपछि उनी निवासमै थिए।

त्यहीँ उनको निधन भएको हो। यो सहित अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ। गैरआवासीय नेपाली संघ, अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँकाअनुसार यसअघि न्युयोर्कका ५० वर्षीय अनिल लिम्बु, ४४ वर्षीय ङिमा टेम्बा शेर्पा, ४७ वर्षीय राजकुमार थापा, ४८ वर्षीय थोक्मे विष्ट तथा ४० वर्षीय सोनाम लामा, विष्णु राईको निधन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्