‘बसाइँ हिड्नेकाे ताँतीले बस्नेकाे मन रुवाउँछ’

migration
लोकपाटी न्यूज

अर्जुन ढकाल

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ। लाखौको लागि उजाड छ यो देश, मुट्ठी भरलाई त स्वर्ग छ। जनवादी गायक जेबी टुहुरेले गाएको यो चर्चित गीत नेपाली कम्युनिष्टहरुको लोकप्रिय गीत हो।

यो गीतसँगै सुन्दै राजनीतिमा होमिएकाहरु अहिले धेरै जना सरकारको नेतृत्वमा छन्। शायद कति मन्त्री र नेताहरुले त यो गीत अहिले पनि बाथरुममा गुनगुनाउँछन होला। तर, केहि दिन देखि बन्दाबन्दीमा फसेका हजारौ मजदुरहरु भोकभोकै, सयौं किलोमीटर हिडेर घर फर्किरहेका छन्। सोलुखुम्बुमा हाईड्रोपावरको सुरुङ खन्दै ‘आईशोलेसन’ मा बसेका गरीब मजदूर हिडेरै कैलाली पुगे। दिमाखै खल्वलाउने पीडादायक तस्वीर र कथाहरु पत्रिका र अनलानहरुमा प्रकाशन भएका छन्।

कम्तिमा उनीहरुलाई बीच बाटैमा रोकेर भए पनि कसैले घर पुराइदिएको भए के बिग्रिन्थ्यो र? गायक जेबी टुहुरे कै शब्द सापटी लिदाँ यी मजदुरको लागि त ‘हाम्रा लागि उजाड छ यो देश‘.” भएन र ? बेजोडी चप्पल लगाएर, चिउरा र चाउचाउ खादै सप्तरी र कैलाली हिडेको मजदूरको लस्कर देखेर, कम्तिमा शालिन र संबेदनशील लाग्ने मन्त्रीहरु प्रदीप ज्ञवाली र घनश्याम भुसाल, अनि भर्खरै आशालाग्दो काम गरेर प्रशंसा बटुलिरहेका मन्त्री बसन्त नेम्बाङको मन त पक्कै पग्लिन्छ होला भन्ने लागेको थियो।

यस्ता महामारी र संकटहरु धेरैका लागि चुनौतिपूर्ण भए पनि केहिका लागि भने स्वर्ग हुँदोरहेछ। हुन त राज्य र देश एकदम कमजोर हुँदा नै हुन् यहाँ वर्षौदेखि लुकेर रहेका कमजोरीहरू बाहिर आएर छताछुल्ल हुने। कतिपयले यसलाई गौण वा महामारीका बेलाको किनाराका विषय पनि मान्लान् तर समस्यालाई निर्मूल पार्ने पनि यही बेला नै हो। जिम्मेवार सरकारको भूमिका यहिनेर हुन्छ- लाखौको लागि ‛उजाड हुन पनि नदिने’ र कसैका लागि ‘स्वर्ग हुन पनि नदिने’। महामारीसँग जुध्दै, गर्दा सरकारले तत्काल गर्न सक्ने केहि कुराहरु यस्ता हुन सक्छन्।

१. कुटनैतिक आवरणमा कालोबजारी गर्ने अवैतनिक दूतको करमत त हामीले देखि हाल्यौ। यस्तो संकटको समयमा पनि यति चनाखो भएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिनैपर्छ। साथै, केहि सुबिधा तुरुन्तै स्थगन गरेकोमा सरकारलाई पनि धन्यवाद। यो नीतिगत सुधार गर्ने अवसर पनि हो। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रभावमा पारेर गरिएको यो सुबिधाको निर्णय खारेज नै हुनुपर्छ। कम्तिमा जेबी टुहुरेले भने जस्तै “मुट्ठी भरलाई त स्वर्ग छ” नहोस्।

२. महामारीसँगै हामीले अब जुध्नु पर्ने, भनेको आर्थिक संकटसँग हो। यसका लागि सरकारी ढुकुटीको खर्च घटाएर मितव्ययी बनाईनुपर्छ। त्यसका लागि बिगतका कसैलाई खुसी पार्ने गरी सरकारले पूर्व विशिष्टहरु दिएको सबै सुबिधाहरु खारेज गर्दा राज्यको ठूलो श्रोत बच्छ। यो सच्चाउने अवसर हो। शक्तिशाली सरकारसँग आशा गर्ने पनि यहि हो। फेरि पनि जेबी टुहुरेले भने जस्तै ‘मुट्ठी भरलाई त स्वर्ग छ’नहोस्।

३.सांसद विकाश कोषको पैसा तुरुन्त महामारी रोकथामका लागि प्रयोग गरियो भने ठूलो राहत मिल्छ।

४. यो महामारीसँगै पछि पनि जुध्नु पर्ने भनेको संभावित खाद्य संकटसँग हो। कृषि मन्त्री घनश्याम भुसालले यो चुनौतिको बारेमा सुझावको अपेक्षा गर्दै आफ्ना धारणा सार्वजनिक गरिसक्नुभएको छ। मुलभुत रुपमा उहाँले आंकलन गरेका चुनौति र प्राथमिकतामा राखेका बालीको सूचि सान्दर्भिक नै छन्। यसमा थप सुझाव पनि आउँला नै। एउटा सत्य के भो भने, अब विश्व मै कृषि उत्पादनको रणनीति नै परिवर्तन हुनेबाला छ। त्यो गर्दै गरौला। तर हामीले तत्काल गर्नु पर्ने भनेका ( Food supply system) लाई प्रभावकारी बनाउनु नै हो।

किसानहरुले दुध सडकमा पोख्नु पर्ने, तरकारी गाईभैसींलाई खुवाउनु पर्ने, तर उपभोक्ताले नपाउने वा पाए पनि बढी मुल्य तिर्नु परेका खबरहरु आइरहेका छन। दुबै पक्षलाई राहत दिने भनेको supply system मा राज्यको हस्तक्षेप गरी व्यवस्थित गर्ने हो। यसले लामो समय देखि चुनौतिपुर्ण बनिरहेको Cartelling को अन्त्य गर्न पनि सहयोग पुग्छ। जेबी टुहुरेले भने जस्तै “मुट्ठी भरलाई त स्वर्ग छ” लाई “सबैका लागि स्वर्ग छ” मा परिवर्तन गर्न सकिन्छ।

हो, हामी लडयौं भने, उठने, अनि फेरि हिड्न बानी परेका छौ। १० वर्षे माओवादी युद्ध, २०७२ को भूकम्प र लगत्तैको नाकाबन्दीले हामीलाई दरिलो च्भकष्ष्भिलत बनाएको छ। शायद यहि भएर होला, हामीले सजिलैसँग कोरोनासँग सामना गरिरहेका छौं। सुरक्षित रहौं र अरुको पनि सुरक्षा गरौं। यो महामारीसँग जुध्दै बिगतमा जस्तै फेरि उठेर अगाडि बढ्न सकौं। नयाँ वर्षको शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्