निर्मल पौडेल/ पर्वत, २७ चैत। नव वर्ष २०७७ को अवसरमा कालीगण्डकी नदि किनारमा हुने स्नान तथा मेलाहरु नगर्न जिल्ला प्रशासन कार्यालय पर्वतले अनुरोध गरेको छ। विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमण फैलिन नदिन तथा जोखिम न्युनिकरणका लागि कालीगण्डकी नदि किनारमा हुने जुनसुकै धार्मिक कार्य गर्न गराउन रोक प्रशासनले लगाएको हो।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले नव वर्षको अवसरमा हुने धार्मिक मेला, पुजापाठ तथा सांस्कृतिक जमघट नगर्न आग्रह गरेको हो। यस्ता मेला महोत्सव तथा जमघट हुने ठाउँहरुमा मानिसहरुको भीडभाड हुने भएको र संक्रमण फैलिने खतरा उत्तिकै हुने भन्दै सरकारले गरेको लकडाउनलाई घरमै बसेर पालना गर्न आग्रह गरेको छ।
प्रमूख जिल्ला अधिकारी कल्पना घिमेरे नेपालद्धारा जारी सूचनामा जिल्लामा अन्तर जिल्ला तथा अन्तर स्थानीय तहहरुसंगै एक वडााट अर्को वडामा समेत आवत जावतमा रोक लगाइएको अवस्थामा नदि किनार तथा मठ मन्दिरमा हुने जमघटले व्यक्ति स्वयंमलाई खतरा हुने भन्दै लकडाउनको पूर्ण पालना गर्न आग्रह गरी घरमै बस्न आग्रह गरिएको छ।
हिन्दु धर्मालम्वीहरुको पवित्र तिर्थस्थल तथा विश्वमै विष्णुअवतार शालिग्राम पाईने पवित्र एक मात्र कालिगण्डकी नदी तटमा नव वर्ष वैशाख संक्रान्तिको अवसरमा विभिन्न ठाउँहरुमा मेला लाग्ने तथा स्नान गर्नेहरुको घुईँचो लाग्ने गर्दछ।
विशेष गरी जिल्लाको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला, पूर्तिघाट, वेलवगर, सुम्साघाट, चिरुवाढुङ्गा ,राताढुङ्गा,सत्तल,जैमिनीघाट,मोदी वेणी दिव्यधाम सहस्रधारा, मालढुङ्गा, मिलनचोक, वारीवेनी लगायतका स्थानहरुमा तिर्थालुहरुको भीड लाग्ने गर्दछ।



लोकपाटी न्यूज

