भ्रष्ट साँचो, भ्रष्टाचार झुठो !

binod khanda timilsina
ओम्नीमार्फत् स्वास्थ्य सामग्री खरिद गरिएकोबारे प्रधानमन्त्री बेखबर थिए रे भन्दै समाचार सार्वजनिक भएको छ। २०७६ चैत १६ गते १२ बजे स्वास्थ्य सामग्री खरिद कानूनसम्मत गरिएको हो भन्ने प्रधानमन्त्रीले सोही दिन बेलुका ५ बजे आफ्नो पार्टी सचिवालयको बैठकमा स्वास्थ्य सामग्री खरिदबारे आफूलाई केही थाहा छैन भने रे। म यस्ता ‘तोरी–लाहुरे’ कुरामा आधारित समाचार खारेज गर्छु। यो खारेज लायक छ।
लोकपाटी न्यूज

विनोदखण्ड तिमिल्सिना

पार्टी पद्धतिमा जनवादी केन्द्रीयताको अभ्यासमा होस् वा प्रजातान्त्रिक अभ्यासमा सामूहिक निर्णयको अभिव्यक्ति संस्था प्रमुखको अभिव्यक्तिबाट मुखरित हुन्छ। हामीकहाँ न जनवादी केन्द्रीयता न प्रजातान्त्रिक अभ्यास नै व्यवहारमा छ। नेपालमा डेमोक्रेसी कागजमा लेख्ने जन्तुमात्र बनाइएको छ। त्यसैले त पदमा पुगेका हरेकले आफैलाई सर्वज्ञानी ठान्छन् र सामूहिक प्रजातान्त्रिक अभ्यासलाई दुत्कार्छन्। प्रधानमन्त्री पनि यही नेपाली समाजको ड्याङका मुला न हुन्, उनको ब्यवहार मात्रै फरक अपेक्षा गरेर हुन्छ र ?

दुईतिहाइ आसपासको नेकपाको सरकार छ। नेकपाका अध्यक्ष र संसदीय दलका नेता केपी ओली प्रधानमन्त्री छन्। कोभिड–१९ ले तुल्याएको चुनौतीको महासंकट सामना गर्ने कठिन परिस्थिति छ। समग्र सरकारी संयन्त्र, पार्टी पङ्तिमात्र होइन, प्रतिपक्ष लगायत सबै राजनीतिक शक्तिहरु र समाजका अवयवहरुको संगठित परिचालनले संकटको सामना गर्नुपर्छ। तर हाम्रा प्रधानमन्त्री आफ्नो खोपीका सल्लाहकारहरुको घेरा तोडन सक्दैनन् र चाहन्नन्। पार्टीका सहकर्मी, जनप्रतिनिधिहरु, प्रतिपक्ष, पूर्वप्रधानमन्त्रीहरु लगायत कसैसँग पनि सल्लाह गरेका छन् भन्ने देखिन्न। महत्त्वपूर्ण मानिने देशबासीका नाममा सम्बोधन गरेपछि मात्रै पार्टीको बैठक बसाँउछन्। पार्टीको बैठक, छलफल र सुझावपछिको आफ्नो निष्कर्षलाई देशबासीका नाममा सम्बोधन गर्दै सम्प्रेषण गर्ने अवसरलाई पन्छाउँछन्। यो के हो ? ‘पार्टी भन्या मेरो ईशारामा उठबस गर्ने जन्तु हो, म नै हर्ताकर्ता हुँ।’ यही हुँकार दिन खाजेको होइन र ?

अर्को महारोग छ, ‘नेकपामा सत्ता र शक्तिको तावेदारी गरेर बस्ने र सामुन्नेमा साखिल्ले पल्टने तर गुटको कोठरीमा उछितो काट्ने।’ नेकपाको आन्तरिक जीवन मात्र होइन, समग्र नेपाली समाज यो प्रवृत्तिको शिकार बनेको छ। प्रसिद्ध जनकवि खुशिराम पाख्रिनको ‘फाटेको जालैले छेकेको छेके पनि छर्लङ्गै देखेको, हेर गाउँले हो,देशमा के–के भो’ भन्ने गीतको घतलाग्दो यथार्थ नेकपामा छ।

घुमाउरो पाराले एकविरुद्ध अर्को खडा गरेर आफू शक्तिमा आउने मनोलासाले अविशप्त त्रिशंकु शक्ति सन्तुलनको गुप्त मनोवैज्ञानिक लडाइँ नेकपामा छ। आफ्नो पुरानो परम्परागत गुटसँगको लडाइँमा नयाँले भित्र पसेर वित्यास पार्ने हौवा खडा गर्दै आफूमा निहित शक्ति बचाउने र थप दोहन गर्ने छिर्केदाउ अब लुकाएर लुक्ने अवस्थामा छैन। लुकाउन जति खोजे पनि खास्टोले ओडाई राखेको बिरालो देशबासीका नाममा सम्वोधनरुपी बिरालोको रुपमा म्याउ गरिहाल्यो। नेकपा नेताहरुलाई खवरदार गरौं कि यस शितयुद्धको शिकार पार्टी पङ्ति र जनतालाई बनाउन छुट छैन। सबैलाई चेतना भया।

योभन्दा नि उदेकलाग्दो र अट्ठहासपूर्ण हाँसो उठने अर्को विषय पनि छ। संसारलाई आपत छ, देश संकटमा छ। ‘कोहीलाई केको आत्तुरी, घरज्वाइँलाई सुत्नको आत्तुरी’ भनेझैं प्रतिपक्षका कतिपयलाई सरकारमा भाग चाहिएको छ कतिपयलाई मध्यावधि चुनाव। हे दैव, कन्तविजोग। रचनात्मकता र सिर्जनशीलता मरेकै हो त ? अनि यस्तो गैह्रजिम्मेवार प्रतिपक्ष रहुञ्जेल जे गरे पनि कसैले केही नाप्न सक्दैन भन्ने अहम् सरकारलाई किन नपलाओस् ?

हिजो बन्दाबन्दी पूर्व समाज, राजनीति, अर्थ विश्लेषण गर्दा प्रत्यक्ष सुन्ने, हेर्ने र मनन गर्ने पाटाहरु पनि थिए। आज त्यो अवसर निलम्बनमा छ। सोसल मिडियामा आउने समाचार, टिप्पणी, स्टाटस र कमेन्टहरुको विश्लेषण नै अहिलेको सामाजिक, राजनीतिक र समकालीन घटनाहरूको विश्लेषण हो। सार्वजनिक भएका र सोसल मिडियामा देखेका समाचार, सूचना र टिप्पणीका आधारमा हेर्ने हो भने एउटा प्राकथन बन्छ। ‘म नै सबथोक हो, अरु सबै झिना मसिना र आउरे बाउरे नथ्थु गैरे’ हुन् भन्ने अहमता र लघुताभाषले सम्माननीय प्रधानमन्त्रीलाई छपक्कै ढाकेको छ।

देशबासीका नाममा सम्वोधन गरेपछि नेकपा सचिवालयको बैठक बस्यो रे। बैठकमा ओम्नीमार्फत् स्वास्थ्य सामग्री खरिद गरिएकोबारे प्रधानमन्त्री बेखबर थिए रे भन्दै समाचार सार्वजनिक भएको छ। २०७६ चैत १६ गते १२ बजे स्वास्थ्य सामग्री खरिद कानूनसम्मत गरिएको हो भन्ने प्रधानमन्त्रीले सोही दिन बेलुका ५ बजे आफ्नो पार्टी सचिवालयको बैठकमा स्वास्थ्य सामग्री खरिदबारे आफूलाई केही थाहा छैन भने रे। म यस्ता ‘तोरी–लाहुरे’ कुरामा आधारित समाचार खारेज गर्छु। यो खारेज लायक छ।

सार्वजनिक भएको प्रत्यक्ष सम्वोधनमा खरीद प्रक्रियामा कुनै अनियमितता भएको छैन भनेर आफ्ना मन्त्री र टिमको बचाउ गरेका पिएमले बोलेको कुरा नै आम रुपमा स्थापित स्टैण्ड हो। अब कुन कोठाको मिटिङ, किचन, राति बेडरुममा के–के भने भन्ने कुराको कुनै मिनिङ छ ? आफ्नो पार्टीका सहकर्मीलाई उल्लु बनाए भन्दैमा हामी आम सर्वसाधारण नागरिक नि उल्लिनु। हरेक कुरा पत्याई दिनैपर्ने हामीले ? त्यही अपेक्षा हो भने प्रयत्न बेकार छ। त्यस्तो प्रयत्न नगरेकै राम्रो। के सहकर्मीहरुप्रतिको पौठेजोरीले नै संकटलाई मोचन गर्न सकिएला र ?

जनताहरु भन्दैछन्, अब भरोसा कि त स्वास्थ्य विभागका डाइरेक्टरको, कि त नेपाली सेनाको अन्यथा श्री पशुपति नाथको। के हामीले सबैभन्दा भरपर्ने सरकारकै हो, अन्यथा सोच्नु पर्दैन, सरकार जिम्मेवार छ, वहिङ्गम छ, आम भावनाको नेतृत्व गर्छ, संकटको सामना गर्ने ब्यवस्थित योजना छ, अन्तर्रास्ट्रिय सम्वन्धको भरपुर प्रयोग गर्छ, कसैलाई काखा पाखा गर्दैन, पारदर्शी छ र सक्षम छ भन्न पाउने दिन आउला ? अस्तु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्