पत्रकारलाई पत्रकारको खुला पत्र

Laxmi Gautam pp
पत्रकारलाई कसैले तेस्रो आँखा, कसैले वाच–डग त कसैले चौंथो र कसैले चुथ्थो अंग भन्ने गरेका छन्। यही भएर हो कि हामी पत्रकार खण्ड खण्ड र झुण्ड झुण्डमा बिभक्त भएको ? तर समाजले परिभाषित गर्ने माथिकामध्ये कुन चाँहि वर्गको पत्रकार ? भनेर हामी सबैले सोच्नुपर्ने बेला यही हो जस्तो लाग्छ।
लोकपाटी न्यूज

लक्ष्मी गौतम

प्रिय सहकर्मीहरु, हामी पत्रकारहरु यतिखेर सेल्फ क्वारेन्टाइनमा छौं। कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि सरकारले गरेको लकडाउनका अवधिमा पनि आफ्नै स्रोत साधनको परिचालन गर्दै समाचार संकलन र सम्प्रेषण गर्नु नै छ। एकातिर हामी आफैं श्रमजीवी भएकाले काम नगरी झन हुँदै हुँदैन। यो बेला हाम्रो कार्यस्थल काम गर्ने शैली थोरै बदलिएको छ। तर दिनचर्या खासै बदलिएजस्तो लाग्दैन। कार्यालय जानेहरु रुटिनअनुसार कार्यालय गएर त कार्यालय नजानेहरु घरैमा बसेर पनि समाचार र सञ्चार माध्यमका लागि सामग्री उत्पादन गर्नु छ। अझ श्रव्यदृश्य माध्यममा काम गर्ने सञ्चारकर्मीहरु फिल्ड र स्टुडियोमै खटिरहेका छौं। यो हाम्रोे रहर नभएर बाध्यता अनि जिम्मेवारी र कर्तव्य पनि हो।

यद्यपि लकडाउन शुरु भएपछि हामी पत्रकार, पत्रकारहरुका पेशागत संगठनदेखि छाता संस्थाका अगुवाहरु मुलुकको खास समस्याभन्दा पनि निश्चित विषयमा एक अर्काबीच आलोचना गर्ने, दलगत स्वार्थले ओतप्रोत भएर विचार प्रवाह गर्ने, तीनै तहका सरकाले गरेका कामको कि धेरै खुलेर प्रशंसा कि त आफ्नो पेशागत र पदीय मर्यादाभन्दा तल झरेर आलोचना तथा नकारात्मक टिप्पणी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् आफ्नो असली रुप समाजलाई देखाउने काममा उद्धत भइरहेका छौं कि ? भन्ने मलाइ महसुस भएर यो पत्र तयार लेख्दैछु।

मलाई पत्र लेख्न निम्न घटनाले प्रेरित गरेका हुन्। एकसाता अघि काठमाडौं प्रेसमार्फत् सार्वजनिक भएको समाचार सामग्री डिलिट भएको वा गर्न लगाइएको प्रसंगमा पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रकाशित गरेको विज्ञप्तिका विषयमा पेशागत संघगनका तपाई नेतृत्व वर्गले जुन शैलीमा जुहारी खेल्नु भो नि। त्यस घटनालाई मात्रै हेर्ने हो भने पनि हामी संगठन पदाधिकारीहरु आ–आफ्ना गुटलाई बलियो सावित गर्न कतिसम्म लागि परेका छौं भन्ने विषय पुष्टि गर्छ। यद्यपि ती गुटहरु गिरोहमा परिणत भइसकेका छन्। तिनले हामी कसैको भलो गर्दैनन् भन्ने कुराको हेक्का हामीले राखेका छैनौं।

प्रेस विज्ञप्तिमा के लेखिएको थियो वा त्यो कसले प्रकाशित गर्‍यो, अनि कसले गर्न लगायो भन्ने विषय आन्तरिक संगठन वा नेपाल पत्रकार महासंघको बन्द कोठामा हुने छलफलको विषय हो जस्तो मलाई लाग्छ । यदि विज्ञप्ति नै आएको थिएन भने महासंघ ‘चुँ’ बोलेन भनेर आक्षेप डुक्रिने पनि हामीहरु नै हौं।

पेशागत संगठनमा आवद्ध नेता पत्रकारहरुको यो रोग र यस्तै खालको झोक केवल प्रेस संगठन मात्रै होइन, सबै संगठनहरुमा देखिन्छ। केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म आइपुग्दा प्रत्येक पत्रकारहरुको स्वार्थ बाझेको पाइन्छ। ती स्वार्थ अब गुट हुँदै गिरोहमा परिणत भइसकेका त छैनन् ?

अर्को सन्दर्भ : हामी कोही जनप्रतिनिधि, कर्मचारी र शक्तिमा रहेका पदाधिकारी र सत्तामा रहेका दल निकट नेताहरु निकट भएर उनीहरुको जयजयकार गर्दै भक्ति भजन गाउदै उनीहरुकै अगाडि पछाडि डुलिरहेका छौं। कोही उनीहरुले गरेका गतिविधिलाई नियालेर उनीहरुले जे गरिरहेका छन्, ती कुरालाई समाचार सामग्री बनाएर प्रस्तुत गरिरहेका छौं त, कोही यो गरे नि बेठीक त्यो गरे नि बेठीक भनेर कटु आलोचना मात्रै गरिरहेका छौं। कोही हाम्राले गरेको सबै राम्रो राम्राले राम्रो गरे पनि नराम्रो त, कोही राम्राले गरेको राम्रो पनि नराम्रो अनि हाम्राले गरेको चाँहि सबै कुरा राम्रो भनेर भक्तिभाव दर्साउँदैछौं। आखिर किन भइरहेछ यस्तो ? पत्रकारलाई कसैले तेस्रो आँखा, कसैले वाच–डग त कसैले चौंथो र कसैले चुथ्थो अंग भन्ने गरेका छन्। यही भएर हो कि हामी पत्रकार खण्ड खण्ड र झुण्ड झुण्डमा बिभक्त भएको ? तर समाजले परिभाषित गर्ने माथिकामध्ये कुन चाँहि वर्गको पत्रकार ? भनेर हामी सबैले सोच्नुपर्ने बेला यही हो जस्तो लाग्छ।

पछिल्ला दिनहरुमा स्वास्थ्य सामग्री खरिद र ठेक्का रद्दको प्रसंग होस् वा सेनालाई सामग्री खरिदको अख्तियारी दिने प्रसंग नै किन नहोस्, हामीले दिइरहेका समाचारमा दलीय गोत्रको गन्ध प्रष्ट रुपमा आइरहेका छन्।

यो बेला कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणको पूर्वतयारीमा मुलुक जुटिरहेको छ। २ साता लामो लक डाउनले श्रमजीवी र मजदुर वर्गको हातमुख जोर्ने मेसो टुटिसक्यो। समस्यामा जुध्नेहरु जुधिरहेका छन्। राहत र सहयोग संकलन गर्नेहरुले गरिरहेका छन्। अनि बितरण गर्नेहरु पनि गाउँ टोलमा कुदिरहेकै देखिन्छन्।

पछिल्ला दिनहरुमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधिमध्ये कोही गाउँको तरकारी भेला गरेर बजारमा त कोही बजारबाट खाद्य सामग्री लगेर गाउँमा बितरण गरिरहेका छन्। यद्यपि, खास ठाउँहरुमा उनीहरु पुग्न नसकेको भने साँचो हो। एकजना जनप्रतिनिधि बजारमा साग बाँड्दै हिड्छन्, कसैले तस्वीर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्छ, हामी तरकारी बितरणका नाममा भीड जम्मा गर्‍यो, सस्तो लोकप्रियताका भन्छौं। कसैले किटनाशक औषधी छर्कियो, वाइयात नाटक भन्छौं, कसैले गाउँमा लगेर चामल बाँड्यो, कोही हाइहाइ गर्छौं त कोही अर्को चुनावका लागि जनमत निर्माण गर्न लाग्यो भन्छौं। एकातिर राहतका नाममा भीडभाड गर्नु हुँदैन सोसल डिस्टेन्स कायम गर्नुपर्छ भनेर हामी नै कराइरहेका छौं। फेरि कसैले फरक ढंगबाट केही सामग्री बितरण गर्‍यो नाटक भन्दै आलोचना गर्छौ।

अन्त्यमा म सानो छँदा आमाले एउटा कथा सुनाउनुभएको कथांश राख्दै मेरो कलम बन्द गर्दैछु। ‘भर्खर बिहे गरेर डेरामा श्रीमतीसँग बस्दै आएको नवदुलाहाले एक क्यारेट अण्डा ल्याएर भोलिदेखि ‘बिहान यसैको नास्ता बनाउ है भनेर अर्‍हाएछ। भोली बिहान श्रीमान बाहिर निस्कने बेलामा नवदुलही दुई कप चिया र बोयल गरेका दुई वटा अण्डा तयार गरेर श्रीमानलाई नास्ताका लागि बोलाइछिन्। बोयल अण्डा देख्नासाथ श्रीमानको मुखबाट ‘हैट यो फ्राइ गर्ने अण्डा बोयल गरेर खत्तम गरिछौ भन्ने जवाफ दिएछन्।

अर्को दिन बुढोलाई फ्राइ अण्डा मन पर्दो रहेछ भनेर त्यहीअनुसार तयार गरेर भान्छामा बोलाउछिन्। अब भान्छामा आएका श्रीमान खुशी होलान् कि भनेर मुख हेरिरहेका बखत ‘यो बोयल गर्नुपर्ने अण्डा फेरि किन फ्राई गरेको भनेर कड्किएछन्। तेस्रो दिन आज चाँहि जसरी नि खुशी पारेरै छोड्छु, एउटा अण्डा फ्राइ अनि अर्को अण्डा बोयल गरेर बोलाउछु, जुन मन पर्छ, त्यही खान्छन्। म फ्राई वा बोयल जुन भए पनि लिउला भन्ठान्दै त्यहीअनुसार तयार गरेर नास्ताका लागि निमन्त्रणा गर्छिन्। आज त बुढोले खुशी भएर खालान् भनी मख्ख परेकी श्रीमतीलाई तिमी किन सधैं उल्टो मात्रै काम गर्छौ हँ ? यो बोयल गर्ने अण्डा फ्राइ गर्‍या छ, अनि फ्राइ गर्ने अण्डा चाँहि बोयल गर्‍या छ’ भनेर उल्टै हपारेछन्। विचरी श्रीमती हेर्‍या हेर्‍यै।’

कतै यस्तै त भइरहेको छैन हाम्रो पत्रकारिता ? यो बेला पनि तथ्यगत समाचार प्रकाशन प्रशारण नगरे कहिले गर्ने ? एकपटक सबैले सोच्ने हो कि ?

(गौतम पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्