काठमाडौं, २० चैत्र। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ६३ औं सहकारीलाई जनसेवाका काममार्फत् मनाउन सम्पूर्ण सहकारीकर्मीमा अपील गरेकी छिन्।
बिहीबार सहकारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री अर्यालले जनसेवामा लाग्न सबै सहकारीलाई अपील गरेकी हुन्। सन्देशमा मन्त्री अर्यालले भनेकी छिन्, ‘कोरोना भाइरसको सन्त्रासले निम्त्याएको विपदको यस घडीमा राष्ट्रव्यापी सञ्जाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको सम्प्रेषण र सहजीकरण गर्नुपर्ने खाँचो छ। यस दिशातर्फ अगाडि बढ्न आजको दिनले हामीलाई प्रेरित गरोस्।’
मन्त्री अर्यालको शुभकामना सन्देश
नेपालको पहिलो सहकारी संस्था ‘वखान’ स्थापना भएको ऐतिहासिक दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ। ६३ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा म सम्पूर्ण सहकारी संघसंस्था, सहकारीकर्मी, सहकारी अभियानमा संलग्न सरोकारवालाहरु तथा यस क्षेत्रमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।
स्वावलम्बन र पारस्परिकताको माध्यमबाट छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्ने विशेष व्यावसायिक विधि सहकारीता हो। यो विपन्नहरु आफै मिली सम्पन्नताका लागि गरिने आर्थिक, सामाजिक जागरणको अभियान पनि हो। यो अभियानले “समृद्ध नेपाल, सुखी नेपाली”को लक्ष्य भेदन गर्न सहयोग पुग्नेछ भन्ने अपेक्षा गरेको छु। संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको छ। संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी तल्लो तहदेखि नै विकास, नियमन, प्रवद्र्धन र प्रशिक्षणका क्रियाकलापहरुलाई अझै सशक्त एवं फराकिलो बनाएको छ।
संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न, सहकारीमार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरण सम्बन्धी आयोजना, उद्योग कलकारखाना सञ्चालन गर्नु आवश्यक छ। त्यसका लागि परम्परागत सहकारीको ढाँचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसँग जोड्नु अहिलेको समयको माग हो। सहकारीको पहुँच नपुगेको दुर्गम स्थान र विपन्न वर्गलाई सहकारीतामार्फत् स्वारोजगारका अवसर दिलाई जीविकोपार्जनका आधारहरु सवल र फराकिलो बनाउन उनीहरुमा रहेको स्रोत, साधन र सीपको समुचित परिचालनमा सहयोग पुर्याउन पनि त्यतिकै जरुरी देखिन्छ। आगामी दिनमा मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशिल हुँदै जाने विश्वास लिएको छु।
अन्त्यमा, कोभिड—१९ कोरोना भाइरसको सन्त्रासले निम्त्याएको विपदको यस घडीमा राष्ट्रव्यापी सञ्जाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको सम्प्रेषण र सहजीकरण गर्नुपर्ने खाँचो छ। यस दिशातर्फ अगाडि बढ्न आजको दिनले हामीलाई प्रेरित गरोस्। मूल्य, मान्यता र सिद्धान्तमा आधारित सुशासनयुक्त सवल सहकारी प्रणालीको विकास गर्न हाम्रा नीति र विधिलाई समय सापेक्ष परिस्कृत गर्दै अगाडि बढेमा सहकारी निजी र सार्वजनिक सरह प्रतिस्पर्धी र सम्मानित क्षेत्रको रुपमा सर्वस्वीकार्य हुनेछ।
आज नेपालको सहकारी अभियान ६२ वर्ष पुरा गरेको अवसरमा म समस्त सहकारी संघसंस्थाहरुलाई आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयन तथा सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणमा योगदान पुग्ने गरी समन्वयात्मक रुपमा सक्रियताका साथ क्रियाशील हुन हार्दिक अनुरोध एवं शुभेच्छा व्यक्त गर्दछु।



लोकपाटी न्यूज

