तनको भन्दा मनको रोग ठूलो

Rina Bhatt
मान्छेले शक्ति त्यतिबेला गुमाउँछ, जतिबेला इच्छाशक्ति गुम्छ। मानिस आत्महत्या किन गर्छ होला ? मेडिकल साइन्सले मान्छेभित्र बाँच्ने चाहनाको मुर्झाउन थालेपछि आउने सोचको परिवर्तनको परिणाम ठान्छन्। त्यस्तो व्यक्तिले आत्महत्या नगरे पनि बाँच्ने इच्छाशक्ति हराउँदै जाँदा निधन अधिक नजिक हुन्छ। यसलाई डरको एउटा प्रारुप मानिन्छ।
लोकपाटी न्यूज

रिना भट्ट

भनिन्छ – मन त्यस्तो शक्ति हो, जो रोगभन्दा बढी शक्तिशाली हुन्छ। रोगले मान्छेलाई २० प्रतिशत असर गर्छ भने मनको भयले ८० प्रतिशत असर गर्छ। इच्छाशक्तिले अनेक संकटको सामना गर्नका लागि उत्प्रेरणा दिन्छ। यो उत्प्रेरणा मानसिक मनोबलसँगै शारीरिक शक्तिका रुपमा स्थापित हुन्छ। जसको परिणाम मानव शरीरमा रहेका नकारात्मक प्रभावसँग स्पर्धा गरी सकारात्मक प्रभावलाई प्रतिस्थापन गर्ने ठूलो गुण मानिन्छ। त्यसैले त अध्यात्ममा विश्वास गर्नेहरु रोगसँग होइन, मनोरोगसँग लड्न सक्नु नै जीत ठान्छन्।

मान्छेले शक्ति त्यतिबेला गुमाउँछ, जतिबेला इच्छाशक्ति गुम्छ। मानिस आत्महत्या किन गर्छ होला ? मेडिकल साइन्सले मान्छेभित्र बाँच्ने चाहनाको मुर्झाउन थालेपछि आउने सोचको परिवर्तनको परिणाम ठान्छन्। त्यस्तो व्यक्तिले आत्महत्या नगरे पनि बाँच्ने इच्छाशक्ति हराउँदै जाँदा निधन अधिक नजिक हुन्छ। यसलाई डरको एउटा प्रारुप मानिन्छ।

डर नै सबैभन्दा ठूलो भाइरस हो, जसले रोगको भाइरसले भन्दा बढी मानिसलाई दुःख दिन्छ। उदाहरणका लागि प्राचीन कालदेखि जब–जब युरोपका शहरहरूमा महामारी फैलिन्थ्यो, उक्त समय त्यहाँका धर्मगुरुहरूले शहरको रक्षाका लागि सीमानामा बसेर रोगविरूद्ध पूजाआजा गरेर रोगको रोकथाम गर्थे रे। त्यस्तै समयमा एकपटक ‘महामारी’ शहरभित्र प्रवेश गर्न खोजेछ। यस्तो अवस्थामा धर्म गुरुहरूले रोग शहरको भित्र प्रवेश गर्नुभन्दा पहिले बाटोमै रोकेर ‘तिमीले कति जनालाई लिएर जान्छौ ?’ भनेर प्रश्न गरेछन्। रोगले भनेछ, ‘म एक्लै छैन, मसँग मृत्यु र भय दुई साथीहरु नि छन्। मसँगै आएका मृत्यु र भयलाई पनि सोधपुछ गरे मात्र म भन्छु’, रोगले भनेछ।

यो सुनेर धर्म गुरुहरूले हुन्छ भनेपछि, रोगले म यति मान्छे रोगी लग्छु भनेछ। ततपश्चात् मृत्युलाई धर्मगुरुहरूले प्रश्न गरेछन्। मृत्युले ‘म रोगले लगेकोमध्ये रोग लागेको आधालाई लग्छु’ भनेछ। त्यसपछि ‘भय’को पालो आएछ। ‘भय’ले चाहिँ ‘म कसैलाई लग्दिनँ’ भनेछ। यो सुनेपछि रोग मृत्यु भय तीन जनालाई नै शहरभित्र प्रवेश गराइएछ।

शहरभित्र महामारी फैलिएपछि रोगले आफूले भनेको जतिलाई लगेछ। मृत्युले नि आफ्नो वाचाअनुसार रोगले लगेको भन्दा आधा मानिसलाई लगेछ। तर भयले चाहिँ रोग र मृत्युले लगेको भन्दा बढीलाई लगेको देखेर धर्मगुरूहरूले ‘भय’लाई रोकेर सोधेछन्, ‘तिमीले त कसैलाई लग्दिनँ भनेको होइन, फेरि सबैभन्दा बढी तिमीले किन लगेको ?’ यो प्रश्न सुनेर भयले भनेछ, ‘मैले यिनीहरूलाई लगेको होइन, यिनीहरू नै आफै मेरो पछि लागेर आएका हुन्।’

तसर्थ भय त्यस्तो चीज हो, जसले हामीलाई नजानिँदो किसिमबाट रोगको मुखमा पुर्‍याउन मद्दत गर्छ, जसले सजिलै मृत्युको नजिक पुर्‍याउँछ।

आज पनि यस्तै समयको सिर्जना विश्वभरि भइरहेको छ। आज त्यही भय वा डर सबैभन्दा बढी हामीमाथि हावी भइरहेको छ। यस्तो समयमा हाम्रो सोंचले जीवनमा ठूलो असर गरेको पाइन्छ। तसर्थ सोचलाई सकारात्मक बनाउँदै जीवनलाई सुखी र खुशी बनाउनु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो। आज यस्तो परिस्थितिको सिर्जना भएको छ, जसले विश्वको हरेक मनलाई डरले प्रभाव पारेको छ।

परिस्थिति कोरोना भाइरस हो, जसका कारण चिन्ता र भयले हरेक मनलाई खाइरहेको छ। परिस्थितिले मनको स्थिति बनाएको भन्दा पनि मनको स्थितिले परिस्थिति बनाएको देखिँदैछ। त्यसो हुनुमा सबैभन्दा महत्वपूर्ण हात भनेको ‘टेक्नोलोजी’को फरक प्रभाव मान्नुपर्छ।

टेलिभिजन, सामाजिक सञ्जाल र पत्रपत्रिका इत्यादिको भूमिका महत्वपूर्ण हो। हामी रोग र मृत्युको बारेमा हेरिरहेका छौं, सुनिरहेका छौं, अनि सेयर गरिरहेका छौं, जसले रोग र मृत्युभन्दा पनि भयलाई बढी सहयोग गरेको छ।

यहाँ कोरोना भाइरसभन्दा डरको भाइरसले मानव जातिको शरीरमा नोक्सानी सुरू गरिसकेको छ। यो ‘भाइरस अफ फियर’ सबैभन्दा महत्वपूर्ण रोग हो, जसले मलाई मेरो घर परिवारलाई मेरो राष्ट्रका तीन करोड नेपालीलाई मात्र नभएर विश्वको पौने आठ अर्ब जनसंख्यालाई नै जकडेर राखेको छ।

यो डर नै समस्याको जड हो। डाक्टर भन्दैछन् – डरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँछ। रोग प्रतिरोधात्मक क्षमता उमेरले होइन, मनले तय गर्दछ भन्ने कुरा हाम्रा सम्माननीय प्रधानमन्त्रीले नै प्रमाणित गरिसकेको अवस्थामा हामीले आफूलाई बुझाउन सजिलै सक्छौं। यस्तो अवस्थामा आज सारा विश्वका मानिसहरु घरमा बसेर टेलिभिजन च्यानल र सामाजिक सञ्जालमार्फत् कोरोना भाइरसकै समाचार हेरेर मृत्यु आदिबारे नकारात्मक सूचनामार्फत् आफ्नो शरीरमा डरको नकारात्मक प्रभाव पारिरहेको अवस्था छ।

दिनभरको नकारात्मक समाचारले हाम्रो सोंचमा नै डर त्रास फैलिएको छ। सूचना सम्प्रेषण गर्नेले रोग नफैलोस् भनेर दिनु राम्रो काम हो, जसलाई नकारात्मक कुरा भन्न सकिन्नँ। तर त्यो सूचनालाई डर त्रासको रूपमा चौबीसै घण्टा हेरेर, लेखेर र सेयर गरेर पटकपटक दिनु साँच्चिकै नकारात्मक प्रभाव वा असरलाई आफूप्रति आकर्षित गर्नु हो।

अर्थात्, सधैं मोटरसाइकल र कार दुर्घटनाको भिडियो हेर्दा हेर्दा र मरेको मान्छेको कुरा सुन्दा सुन्दा हाम्रो मगजमा यस्तो नकारात्मक प्रभाव पार्छ कि त्यसले गर्दा हामीले बाटोमा गाडी कुनै हालतमा चलाउन सक्दैनौं। हामीलाई भयले यस्तो जकडेर राख्छ, जसका कारण हाम्रो मगजमा ‘एनजाइटी’ सिर्जना भएर स्वतः नै दुर्घटना हुन सक्छ। तसर्थ नकारात्मक सोचको प्रभाव पनि नकारात्मक नै हुन्छ। यो ब्रम्हाण्डको नियम नै हो। प्रत्येक दश–दश मिनेटमा मोवाइल टिभीमा हाम्रो शुभचिन्तकहरूले शुभ भावनाले रोगबाट बच्ने सन्देश पठाइरहेका हुन्छन्, जुन हामीलाई साँच्चै आवश्यक छ त ?

दिनमा १५ मिनेट समाचार सुनौं जानकारीका लागि। तर हरेक १५ मिनेटमा समाचार सुन्ने त्यसको ‘पिक्चर’ हेर्ने, त्यसैका बारेमा सामाजिक सञ्जालमा लेख्ने र त्यसैका बारेमा घर परिवारमा कुरा गर्ने इत्यादिले हाम्रो पूरै शारीरिक शक्ति रोग मृत्यु र भयमा मात्र सीमित भइरह्यो भने त्यसले हाम्रो प्रतिरक्षात्मक शक्ति समाप्त भएर हामीमाथि त्यो रोगले सजिलै आक्रमण गर्न सक्छ।

हाम्रो आन्तरिक शक्तिलाई डर र त्रासले नाश गर्ने छ, जसका कारण कोरोनाजस्तो नकारात्मक तत्वलाई सजिलै आकर्षण गर्छ। नकारात्मक तत्वलाई समाप्त गर्ने एक मात्र उपाय सकारात्मक सोंच राख्नु हो। यसले यो भाइरस छिटै हराउँछ, हामी नेपाली र नेपाललाई दुःख दिँदैन। हामी भाइरससँग लड्न सक्छौं भन्ने सकारात्मक सोच मात्र सकारात्मक परिणामको एउटा प्रमुख उपाय हो।

यसर्थ, कोरोना भाइरसका सन्दर्भमा त्यति गहिरो धारणा बनाउन आवश्यक छैन। विश्व सूचकांक हेर्दा पनि यो साधारण हो, खानपानदेखि अनेक विषयमा ध्यान दिए यसको आक्रमणले मान्छे मरिहाल्ने वा सक्किइहाल्ने पनि होइन। आत्मबल बलियो भएका मानिसको शारीरिक रुपमा प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ। यसलाई लडाउने वा खुत्रुक्क पार्ने चीज नै बलियो प्रतिरोध क्षमता हो, त्यसका लागि त्रास र डररहित सुरक्षित बसोबास हो।

विश्व स्वास्थ्य संगठनले पनि भनेको छ – जति खुशी बन्नुहुन्छ, त्यति प्रतिरोध क्षमतामा कमजोरी हुने छैन। यसर्थ, स्वस्थ्य रहन केही त मनन् गरौं, ‘मनको बाघ खतरनाक हुन्छ बनको बाघ भन्दा।’ आजैबाट स्वस्थ मनस्थिति नै रोगसँग लडने सबैभन्दा ठूलो औषधी हो भन्ने मन्त्र आफ्नो जीवनमा लागू गरौं। स्वस्थ मनस्थितिले रोगलाई सजिलैसँग पराजित गर्न सक्छ भन्ने सबैभन्दा ठूलो उदाहरण नै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ।

(भट्ट पाटन क्याम्पसमा राजनीतिशास्त्र प्राध्यापन गर्छिन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्