राकेश बाब्ली ‘रक्तिम’
आज सिङ्गो भूमण्डल कोरोनाको महाव्याधीले आक्रान्त छ। लाखौंलाख मान्छे त्रासको च्याम्बरमा एकान्तवास छन्। श्रमिक र सेवक वर्ग भोकनाङ्गा हालतमा ठेलिँदै छ। नेपालका प्रवासित नागरिक हैरान–परेशान छन्। संक्रमण अंकगणितीय होइन, घातांकीय (exponential) दरमा बढ्दै छ। मान्छेहरु आफ्नो मृत सन्ततीलाई पनि एकखेप अङ्गालोमा बेरेर बिदा गर्न असमर्थ छन्। मृत प्रियाका अञ्जुलीहरु सुम्सुम्याउन असमर्थ छन्।
ज्यामी–मजदूर ‘छाक–टाहार’को प्रताडनाले थिलथिल छन्। पूँजीपति डफ्फा जसरी भए पनि ज्यान बचाउको ध्याउन्नमा उद्दत छ। छ्याल्ब्याल चिकित्सीय संशाधन भएको पूँजीवादी तागतवर पश्चिमा चिकित्साशास्त्र पनि कोरोनाको अगाडि निरीह छ। ज्याक मा, बिल गेट्स स्तरका विश्व पूँजीपति वर्ग मास्क वितरण गरेरै भए पनि संसारकै महादानवीरको उपमा ग्रहण गर्न तल्लीन छन्। महामारीले पूँजीपतिको नाफादरमा खैलाबैला मच्चाएको छ। सम्पूर्ण पूँजीवादी अर्थव्यवस्था कम्पायमान भएको छ। यसर्थ आलेखको उपर्युक्त शीर्षक पनि सम्भवतः समय सान्दर्भिक हुन्छ।
प्रकृतिमा हुने अनेकौं घटना र वातावरणीय प्रतिक्रियाका कारण विविध रोग, उपचार विधि बन्ने र सकिने प्रक्रिया चलिरहन्छ। अन्तरीक्षमा पनि विविध प्रतिक्रियाका कारण नयाँ–नयाँ पीण्ड बन्ने र सकिने प्रक्रिया चलिरहेको छ। विपरितत्वमा नै एकत्व हुने गरेको छ। क्रियामा नै प्रतिक्रिया हुने गरेको छ। मिसाइलमा नै एण्टिमिसाइल हुने गरेको छ। रेबिजमा नै एण्टिरेबिज हुने गरेको छ। वस्तुको उत्पत्ति, विकास, बिनाश र फेरि विकास स्वयं वस्तुमै अन्तर्निहित हुने गरेको छ। भाइरसमा नै एण्टिभाइरस हुने गरेको छ। यस विज्ञानप्रदत्त तथ्यनुरुप कोभिडको एण्टिकोभिड पनि अवश्यम्भावी छ। अतः एण्टिकोभिड पत्ता लागिनसकेको अवस्थामा केही बेर धैर्यतासहितको सावधानी अवलम्बन गर्न जरुरी छ।
एकातिर वैज्ञानिकहरु प्रकृतिमा स्वउत्पादित कोरोनाजस्ता हानिकारक सूक्ष्म जीवाणु र निदानको विस्तृत नालीबेली ज्ञात गराउन निरन्तर अनुसन्धान र नवीन अन्वेषणमा अहोरात्र समर्पित छन्, अर्कोतिर दासयुगमा व्यापक हुँदै सामन्तवादी युगमा ज्यादा बिस्तार हुन पुगेको र पूँजीवादले मलजल गरिरहेको नाशवान् आदर्शवाद जीवाणुशास्त्रलाई नै च्यालेञ्ज गर्दै भ्रामक वितण्डा मच्चाई माहोललाई झन धेरै भयभित तुल्याइरहेको छ। यही आदर्शवादको टेकोमा समग्र जीवन अडेको देख्ने कमसल चेतनाको उपज आदर्शवाद, कोभिड–१९ निरोधक औषधी बनेपश्चात् कोरोना ठीक पार्ने औषधी पनि वेद, गीता र बाइबलकै देन हो भन्ने अफवाह जनमानसमा प्रवाह गर्ने निश्चितप्रायः छ।
यतिबेला विशेषतः पूँजीवादी विश्व शक्तिराष्ट्र र कोरोनाबीच भीषण टकराव भइरहेको छ। सुरुमा खासै प्रभाव नपारे पनि केही दिनयता संसारभरिका माउ नाफाखोर पूँजीपतिहरुको मुख्यालय अमेरिकालाई कोरोनाले बेहद आक्रमण गरिरहेको छ। आर्य मूलका गोरा पश्चिमाहरु मंगोलियन अनुहारका चिनियाहरुलाई प्रायः घृणाको नजरबाट हेर्ने गर्छन्। अझ भनौं चीनका रक्ताम्य क्षितिजहरुमा अझै पनि सर्वहारा मुक्तिका उषाकिरणहरु जाज्वल्यमान भइरहनाले पनि पश्चिमा अभिजात वर्ग चिनियाहरुलाई घृणाको नजरबाट हेर्ने गर्छ। फलतः महामारीले चीनलाई हायलकायल बनाइरहँदा पनि पश्चिमाहरूले विश्व सर्वहारा वर्गका नेता माओ–त्से–तुङको मुखमा मास्क लगाएको तस्बीर छपाउँदै व्यङ्ग्य गरेका थिए। यद्यपि, पश्चिमा जगत पनि कोरोनाको चपेटामा पर्दा चीनले कुनै बदलाभाव नलिएर नितान्तः मेडिकल टीम पठाउँदै मानवीयताको उच्च नमूना प्रकट गरेको छ, यसलाई उसको असाधारण क्षमता मान्न सकिन्छ।
सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिपश्चात् दह्रोसँग जरा गाड्न पुगेको पूँजीवाद अथवा सम्भ्रान्त वर्गपक्षीय बुर्जुवा उदारवाद सँगसँगै यसमा देखिएका गम्भीर संकट हल गर्न १९७० मा अमेरिकी नेतृत्वको पूँजीवादी खेमाले संस्थागत गर्न सुरु गरेको नवउदारवाद सोभियत संघको पतन भएसँगै हालसम्म झन् राम्ररी संस्थागत भएको छ। बुर्जुवाहरुको आँखाबाट हेर्दा नवउदारवाद प्रगतिशील देखिए पनि यसले पटकपटक पूँजीपती वर्गलाई नै असाधारण आर्थिक संकटमा पारिरहेको जीवन्त दृष्टान्तबाट निश्चय नै यसको क्षयीकरण प्रष्ट छ।
९० प्रतिशत सम्पत्ति मुठ्ठीभर पूँजीपतिको पोल्टोमा सञ्चित हुने नवउदारवादी अर्थनीतिले नै एउटा भाइरसले विश्वको अर्थव्यवस्थामा असाधारण खैलाबैला मच्चाउने दख्खल राख्न पुग्यो। सम्पूर्ण आर्थिक रास पूँजीपति वर्गको पोल्टामा सञ्चित भइरहनाले यस्तो संकटको बेला सर्वहारा र निम्न मध्यम वर्ग छ्टपटाउनुको बिकल्प हुँदैन। यसर्थ मानव समाजमा हुने यस्ता गम्भीर संकटहरुको वैज्ञानिक हल सम्पूर्ण अर्थ व्यवस्था सन्तुलनमा राख्नसक्ने समाजवादी अर्थव्यवस्थाबाट मात्र सम्भव छ। यो यथार्थताको पुष्टि समाजवादी भनिएका रुस, चीन, क्युवा, उत्तर कोरिया लगायतका देशहरुले कोरोना विरुद्वको युद्वमा सापेक्षित रुपमा विजय प्राप्त गरिरहनुले पनि प्रमाणित गर्दछ। थेग्नै नसक्ने कोरोनाको मारमा पिल्सिएका आफूलाई अब्बल ठान्ने चरम पूँजीवादी पश्चिमाहरूभन्दा समाजवादी मुलुकका जनतामा एक प्रकारको चेतना र उच्च ज्ञान रहेको कुरा पनि सजिलै बुझ्न सकिन्छ।
अमेरिकी साम्राज्यवादी भूखण्ड मरणासन्न पूँजीवादी मुख्यालय त हो नै, संहारकारी गोलाबारुद उत्सर्जनको प्रधान केन्द्र पनि हो। यसको सम्पन्नता गरीब तथा विकासशील देशका प्राकृतिक स्रोतको लुटमा केन्द्रित छ। यसको अर्को भरपर्दो आर्थिक स्रोत सैन्य हतियारहरुको बेचबिखनमा केन्द्रित छ। उसकै प्रविधि मान्नुपर्ने, उसकै टेलिभिजन किन्नुपर्ने, उसकै हतियार किन्नुपर्ने, कमजोर देश्को प्राकृतिक स्रोत उसले मात्रै लुट्न पाउने, अमेरिकाभन्दा अरुले विज्ञानको क्षेत्रमा पनि अनुसन्धान गर्न नहुने, आफूले भन्नेको मात्रै सबै कुरा मान्नुपर्ने, नभए चारैतिर ‘सेना छ हान्छु’ भनेर सैन्य हमलाको हवाला दिने अमेरिकी साम्राज्यवादी रणनीति छ।
स्टालिनले बचाइराखेको पछि गद्दार संशोधनवादी ख्रुश्चेभले लेनिनको सोभियत संघ पतन गराइसकेपछि अमेरिकी साम्राज्यवाद झन् धेरै मैमत्त हुन पुग्यो। अहिले भने चीनको भीमकाय भौगोलिक आयतनसहितको आर्थिक वजन र कोभिड–१९ सँगको प्रतिरोध क्षमताले चीनलाई फेरि विश्व महाशक्तिको शानदार दर्जा प्रदान गरेको छ। इतिहासले फेरि एकचोटी विश्वभरका सम्पूर्ण समाजवादी तप्कालाई चीनको अग्रदस्तामा साम्राज्यवादविरुद्वको प्रतिरोधी मोर्चामा सरिक हुन अबेला गर्नु हुँदैन भन्ने सन्देश सम्प्रेषण गरेको छ। यद्यपि, चिनियाँ मोडेलको समाजवादबारे पंक्तिकार अज्ञात छैन।
विश्वमा सबैभन्दा बढी माफियागिरी औषधीमा हुने गरेको छ। एलोप्याथिक औषधीशास्त्र पूँजीपतिको कब्जामा छ। नाफाको मार्जिन सबैभन्दा बढी औषधीमै हुने गर्छ। पूँजीवादी देशहरुले विज्ञान प्रविधिको चमत्कृत अस्त्र फेला पारी सकेपछि आफ्नो नाफाका लागि अर्को देशमा कृत्रिम रोग सिर्जना गर्दै र त्यहाँको अर्थतन्त्र कमजोर तुल्याउँदै अथाह नाफा कमाउने रणनीति तर्जुमा गरिरहेका छन्। यस प्रकारको हर्कतले मानव सभ्यतालाई एकदमै खतरामा पारेको छ। लाग्दैछ कि अब Nuclear war युग अन्त्य हुँदैछ, Bio-chemestrical war को युग सुरु हुँदैछ। कोरोना भाइरस पनि अमेरिका सिर्जित भाइरस हो भन्ने पत्याउन सहज छैन। यद्यपि, यसले मानवीय क्षति पुर्याउनुका साथसाथै अधिकांश देशको कारोबार ठप्प पारेको छ। यसर्थमा कोरोनाले पूँजीवादी शिविरमा ध्वंसात्मक आक्रमण गरेको छ। इतिहासमा विरलै हुने यस्तो अन्तर्राष्ट्रिय स्तरकै मानवीय सङ्कट परेको समयमा मानव र मानवताको रक्षाका लागि पनि यो महामारी र सङ्कटका विरुद्ध सबै एक भएर लाग्न आवश्यक छ।
(वामपन्थी कार्यकर्ता बाब्ली पेशाले सिभिल इञ्जिनियर हुन्।)



लोकपाटी न्यूज

