‘नमस्कार’ : पूर्वीय सभ्यताको पुनरागमन

SAmjhana Sharma Dhakal
तर कालान्तरमा यसको वैज्ञानिक महत्वको विश्लेषण गर्नुभन्दा पनि धार्मिक विश्लेषण बढी भएको पाइयो, फलतः वैज्ञानिक युगमा पर्याप्त अनुसन्धानको कमी र पर्याप्त वैज्ञानिक प्रमाणको कमीले गर्दा यी नियम पालना गर्ने प्रचलन घट्दै गएको पाइन्छ। अर्को शब्दमा भन्नुपर्दा यी नियमको महत्व घटेर गएको पाइन्छ।
लोकपाटी न्यूज

सम्झना शर्मा ढकाल

आज विश्व आक्रान्त बनेको छ। कोरोना भाइरसको प्रकोपबाट कसरी बाँच्ने र बचाउने भन्ने ध्येय सम्पूर्ण मानव जातिमा छ। आज पश्चिमी सभ्यताको नेतृत्वको क्रमभंग भएको छ। आफूलाई अग्रागामी पथप्रदर्शक र महान ठान्ने बुद्धिजिवीहरु पनि हतास भएर ईश्वरको शरण परिरहेको अवस्था छ। प्रकृतिको नियमविपरीत कोही पनि जान सक्दैनन् भन्ने कुरा यहीँ देख्न सकिन्छ। यो सबै नियतिको खेल हो। प्रकृति संयमित छ, नियमित छ, प्रकृतिको नियममा कुनै पनि कुरा अप्राकृतिक र आकस्मिक हुँदैन, मात्र हामी मानव जाति असंयमित र प्रकृतिको नियम बाहिर जाँदा परिआएको विपदा हो आजको महामारी। यसैले यसलाई नियमित आकस्मिकता भन्न अत्युक्ति नहोला जस्तो लाग्छ।

पूर्वीय सभ्यताको समृद्धि कतिको रहेछ र यो सभ्यता कतिको वैज्ञानिक रहेछ भन्ने कुरो आज विश्वले बुझ्दैछ। हात मिलाउनुभन्दा पनि नमस्कार गर्नु नै उत्तम मानिने हाम्रो चलनलाई आज विश्वले अनुशरण गरेको छ। ‘नमस्कार’ एक संस्कृत शब्द हो, जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु। प्रत्येक व्यक्तिभित्र परमात्मा (ईश्वरीय तत्व) हुन्छ, जसलाई हामी आत्मा भन्छौं। नमस्कार गर्दा एक व्यक्तिको आत्माले दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन अनि नमस्कार गर्दछ। यसैले नमस्ते वा नमस्कार गर्दा यस प्रकारका फाइदा छन् :

१. नमस्कार गर्दा आध्यात्मिक शक्तिको विकास हुन्छ, यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ।

२. नमस्कार गर्दा अहंकारको भावना नष्ट हुन्छ र यसले विनम्रता बढाउनमा सहयोग गर्छ।

३. अभिवादनको यो पद्धतिमा शारीरिक सम्पर्क नहुनुको कारण अन्य व्यक्तिको नकारात्मक रूपले प्रभावित गर्ने क्षमता न्यून हुन जान्छ।

यसैले आज विश्वभर नमस्कार गर्ने प्रणालीको विकास भएको छ, जुन परापूर्वकालदेखि नै हाम्रो सभ्यताको पहिचान बनेर रहेको छ। पाश्चात्य सभ्यतालाई अंगालेर आफूलाई सभ्य र आधुनिक ठान्ने होडबाजी चलिरहँदा कोरोना भाइरसको बिगबिगीले पुनः एकपटक हामीले बिर्सिंदै गइरहेको संस्कारले झक्झकाएको छ। पूर्वीय सभ्यता पूर्ण रुपले वैज्ञानिक भएता पनि यसको उचित रुपमा विश्लेषण नहुँदा युवा पिँढीको आकर्षण घटेको जस्तो बुझिन्छ। आफूले पहिले जानेको तर अनुशरण नगरेको कुरा पनि अरुले भनिदिँदा र गरिदिँदा देखासिखी गर्ने बानीले होस् वा करबलले होस्, आज हामी पनि पुनः आध्यात्मिक युगमा फर्किरहेका छौं जस्तो अनुभूति हुन थालेको छ।

उहिलेका मानिसहरुले पालना गरेका नियमलाई अन्धविश्वास, अतिवादिता आदिको संज्ञा दिइएको थियो। तर अहिले बुझ्दा त यो कति वैज्ञानिक रहेछ भन्ने कुरो प्रष्ट हुन्छ। जस्तै धोती फेरेर मात्र खान खाने, भान्से बज्यैले नुहाएर चुलोमा चढेपछि चुलो चौको नसकी तल नओर्लने, खान पकाउँदा अरुलाई छुन नदिने, स्वयंपाक्य खाने, ब्रह्म मुहुर्तमा उठ्ने र नित्य कर्म सक्ने आदि। विभिन्न रोगव्याधिबाट बच्नका लागि नै यस्ता कार्यहरु हुने रहेछन्। तर कालान्तरमा यसको वैज्ञानिक महत्वको विश्लेषण गर्नुभन्दा पनि धार्मिक विश्लेषण बढी भएको पाइयो, फलतः वैज्ञानिक युगमा पर्याप्त अनुसन्धानको कमी र पर्याप्त वैज्ञानिक प्रमाणको कमीले गर्दा यी नियम पालना गर्ने प्रचलन घट्दै गएको पाइन्छ। अर्को शब्दमा भन्नुपर्दा यी नियमको महत्व घटेर गएको पाइन्छ।

पश्चिमी सभ्यता सिकेर हामी नमस्तेको साटो ‘हेल्लो’ भन्दै हात मिलाउने संस्कारमा होमिँदै गइरहेको बेला अमेरिकी र बेलायतीहरु एकाएक नमस्ते युगमा फर्किएका छन्। कोरोना संक्रमणको डरले हात नमिलाउने अभियानसँगै नमस्ते अर्थात् नमस्कार गर्ने शैली विश्वव्यापी रुपमा स्थापित भएको छ। यसले पूर्वीय संस्कारलाई अझ मजबूत बनाउन बल पुगेको छ। विभिन्न सञ्चार माध्यमले आज पश्चिमी देशका गन्यमान्य व्यक्तित्वहरुले हात मिलाउनको साटो नमस्ते गरिरहेको फोटोसहितको समाचार सम्प्रेषण गरिरहेका छन्, जस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हृवाइट हाउसबाट ‘नमस्ते’ गर्दै थिए, जहाँ आयरल्याण्डका प्रधानमन्त्री पनि नमस्तेबाटै ट्रम्पलाई अभिवादन गरिरहेका थिए।

यस बीचमा इजरालयका प्रधानमन्त्रीले पनि नमस्कार गरेको तस्वीर सार्वजनिक भएको थियो। ट्रम्पले हृवाइट हाउसमा आयरल्याण्डका प्रधानमन्त्रीसँग हात नमिलाई नमस्कार गरेपछि यो संस्कार आफूले भारतबाट सिकेको बताएका छन्। योसँगै नमस्तेको महत्वलाई सम्पूर्ण विश्वले बुझेको पाइन्छ। जसरी हिन्दू धर्म वा हिन्दू सभ्यताको विकास हिन्दकुश क्षेत्रबाट भयो, त्यसैगरि नमस्ते वा नमस्कार गर्ने सभ्यताको विकास पनि यही क्षेत्रबाट भयो, जुन हिन्दकुश क्षेत्र आधुनिक राष्ट्रहरु निर्माण हुनुअघि विराट भारत वर्ष थियो, जहाँ आर्यहरुको बसोबास थियो र जुन बेला हिन्दुस्तान वा भारत वा नेपाल भनेर अलग देशहरु बनिसकेका थिएनन्।

ट्रम्पले भारतको राजनीतिक भ्रमणको क्रममा नमस्ते गर्ने प्रणाली सिके पनि यो प्राचीनतम् सभ्यताको पहिचान हो। पूर्वीय दर्शन र संस्कृत भाषा आज संसारभर एकपटक पुनः खोज अनुसन्धानको विषय बनेको छ। ठीक यहीबेला कोरोनाले संसारलाई त्रासमा पारेका बेला हात मिलाउने पश्चिमा शैलीको विकल्पमा दुवै हात जोडेर अभिवादन गर्ने पूर्वीय शैली प्रचलनमा ल्याएसँगै पश्चिम सभ्यता विस्थापित हुनसक्ने संकेत देखिएको छ। पछिल्लो समय संसारभर योगाबाट व्यायाम तथा मनलाई शान्त बनाउने पूर्वीय संस्कृति फैलिएर अंग्रेजी महिना २१ तारिक अन्तर्राष्ट्रिय योग दिवस नै मनाउन थालिएको छ। यसै बेला कोरोनाको थप कारणले नमस्ते संसारभर स्वीकार्य बनेको छ। यो अवश्य पनि पूर्वीय दर्शन र सभ्यताको सर्वस्वीकार्यता हो।

योग र नमस्कार एकअर्कामा अन्योन्याश्रित छन्। हाम्रा ऋषिमुनि र पूर्वजहरुले हजारौं वर्षअघि शुरुआत गरेको सभ्यतालाई आधुनिक विश्व साम्राज्य निर्माणका क्रममा देशका भूगोलसँगै संस्कार संस्कृतिमाथि समेत जबर्जस्ती अतिक्रमण गरिएको थियो। मानव जीवन र स्वास्थ्यका लागि पूर्वीय सभ्यताले वैज्ञानिक उपाय त्यो युगमै अपनाएको रहेछ भन्ने कुराको पुष्टि आज सिद्ध भइरहेका छन्। जस्तै –एक अर्कालाई हत्पति नछुनु, हात राम्रै धोएर मात्रै खाना खानु, दिनदिनै नुहाउनु, घर राम्ररी लिपपोत गर्नु, अरुको जुठो नखानु, शौचालयको प्रयोगपश्चात लुगा फेर्नु र राम्रोसँग हात धुनु, बिहान बेलुका घरमा धुप बाल्नु (सालको वा गोकुल धुप), शंखघण्टी बजाउनु आदि। यी सबै कुराहरु झट्ट हेर्दा दैनिकीमा अमिल्दो देखिए तापनि वैज्ञानिक दृष्टिले अति नै महत्वपूर्ण देखिन्छ।

आज संसारभर संस्कृत भाषा र हिन्दू (पूर्वीय) सभ्यतामाथि धेरै सोध अनुसन्धानहरु भइरहेका छन्। नमस्तेको विश्वव्यापी स्वीकार्यताले पूर्वीय सभ्यताको स्वीकार्यता अझ फराकिलो बनाइदिएको छ। यसका लागि विश्वभरि फैलिएर बसेका नेपाली र भारतीय जनसमुदाय, उनीहरुले मनाउँदै आएका चाडपर्वहरुले पनि अवश्य योगदान दिएका छन्।

१४ चैत्र, २०७६ (सुकेधारा, काठमाडौँ)
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्