काठमाडौँ। दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका सांसदहरूलाई मङ्गलवार संसद्बाट बिदा गरिँदै छ। उनीहरूले दिउसो दुई बजे राष्ट्रियसभामा मन्तव्य राखेर बिदा लिने भएका हुन्। आजै कार्यकाल सकिनेमा अर्थमन्त्री डा युवराज खतिवडा पनि छन्।
उनी मंगलबारदेखि सांसद नभई मन्त्री मात्रै रहनेछन्। सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ। उनी राष्ट्रपतिले मनोनीत गर्ने सिटमा सांसद भएका हुन्। उक्त सम्भावना कायम छ। तर, नेकपा सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई उक्त सिटमा सांसद बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली उनलाई नै दोहोर्याउनुपर्ने पक्षमा छन्।
पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईँ, हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, प्रदेश ५ बाट मीना बुढा, दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ, कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे, कमलाकुमारी ओली रहेका छन्।
त्यस्तै, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिँदै छ। पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नु पर्ने नियमअनुसार उनीहरूको ठाउँमा नयाँ सांसद निर्वाचित भइसकेका छन्। राष्ट्रियसभाको बैठक दुई बजे बस्दै छ। त्यसअघि आज बिदा हुने सांसदहरूको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। नयाँ निर्वाचित सांसदहरूको भने बुधवार ११ बजे शपथग्रहण हुने भएको छ।
५९ जना सांसद रहेको राष्ट्रियसभामा प्रतिपक्षको उपस्थिति कमजोर हुने भएको छ। राष्ट्रियसभाको निर्वाचनमा काँग्रेसले ७ सिट गुमाएको छ। यसअघिका १३ मध्ये ६ जना मात्रै सभामा रहने छन्। यसै गरी राजपाका २ र समाजवादीको एक जना सांसद गरी ९ जना प्रतिपक्षमा रहने छन्। सत्तापक्षले भने सिट सङ्ख्या बढाएर ४७ जना पुर्याएको छ।



लोकपाटी न्यूज

