चीनबाट फागुन ३ मा नेपाली ल्याइने निर्णय

council-of-ministers
लोकपाटी न्यूज

काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिएको हो । चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान पाउनेछन् ।

नेपाल सरकारको एकल निर्णयले मात्रै चीनबाट नेपाली ल्याउन पाइँदैन । विश्व स्वास्थ्य सङ्गठन डब्लूूएचओको सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । नेपालमा स्रोत र साधन पर्याप्त मात्रामा नरहेको हुनाले पनि ढिलाइ भएको स्पष्ट गरिएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण रोकिएको छैन । त्यसलाई ध्यान दिई सङ्क्रमण भित्रिनै नदिन नेपालमा छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यसअघि बाहिर गएर आएका केही नेपाली सेना र प्रहरीलाई मात्र क्वारेन्टाइन व्यवस्था गरिएकोमा योपटक नागरिकलाई समेत पहिलोपटक क्वारेनटाइनमा राख्नुपर्ने भएकाले ढिलाइ भएको जनाइएको छ । क्वारेन्टाइन भएको स्थानमा खान, बस्न, बिजुली, शौचालय, इन्टरनेट लगायतका सुविधाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

चीनबाट लक्षण नदेखिएका नेपालीलाई मात्र नेपाल ल्याइन्छ । लक्षण देखिएका व्यक्तिलाई चीनमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरिएको छ । लक्षण नदेखिएका व्यक्तिलाई नेपाल ल्याइने हुनाले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरी दुई सातासम्म उनीहरूलाई निगरानीमा राख्नुपर्ने हुन्छ । नेपालको विमानस्थलमा अवतरण गरिसकेपछि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरिन्छ । त्यो अवस्थामा लक्षण देखिएमा उनीहरूलाई सीधै आइसोलेसन भएका अस्पतालहरूमा लैजाने व्यवस्था गरिएको छ । चीनबाट ल्याइने विद्यार्थी र अन्य व्यक्तिहरूसंँगको सम्पर्क पूर्ण रूपमा बन्द गरिन्छ ।

सरकारले सम्भावित बिरामीलाई उपचार गर्न छवटा हब अस्पताल र ३० वटा स्याटेलाइट अस्पतालमा गरी १४७ वटा आइसोलेसन वार्डको व्यवस्था गरिसकेको छ । वीर, सिभिल, पाटन, शिक्षण, सैनिक र भक्तपुर अस्पताललाई अब अस्पतालका रूपमा विस्तार गरिएको छ । नेपालीलाई ल्याउने विषयमा सरकार संवेदनशील भएर अगाडि बढिरहेको छ ।

चीनबाट ल्याइने विद्यार्थीलाई विमानस्थलदेखि क्वारेन्टाइनसम्म लैजान यातायात साधनको व्यवस्था मिलाइसकिएको छ । एम्बुलेन्स चालकलाई उद्धारका क्रममा अपनाउनुपर्ने सचेतताका विषयमा प्रशिक्षणको काम सम्पन्न भइसकेको छ । यीबाहेक चिकित्सक, नर्सलाई समेत तालिमको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्