नेपालको अर्थतन्त्र गौरव गर्न लायकको बाटोमा छ : अर्थमन्त्री खतिवडा

Yubraj khatiwada
लाेकपाटी न्यूज

काठमाडौं, ७ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन्। कृषि विकास बैंक लिमिटेडको ५३औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भने मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने, अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ।׳

नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उनले भने, “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो स्वागतयोग्य हो ।” विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो रु भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा. खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रहेको जनाए। विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उनले भने, “अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ। नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गरोस् भने।

बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका दुई सय ७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताए। पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिए। बैकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिए। बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्वकर्मचारीलाई सम्मान गरिएको थियो ।

बैंकले गत पुस मसान्तसम्म कूल एक सय २७ अर्ब निक्षेप र एक सय १७ अर्ब प्रवाह गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप १८ अर्ब र कर्जामा रु. १४ अर्ब वृद्धि भएको बैंकले जनाएको छ। बैंकले सहुलियतपूर्ण कृषि कर्जातर्फ दुई हजार पाँच सय बढी ग्राहकलाई रु. पाँच अर्ब भन्दा बढी लगानी गरेको छ। बैंकको सञ्चालन मुनाफा आठ प्रतिशतले बढेर रु. पाँच सय ३४ करोड पुगेको प्रमूख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए। हाल बैंकले निष्क्रिय कर्जा ३।२९ प्रतिशतमा राख्न सफल भएको छ। बैंकको आव २०७५र७६ को वार्षिक साधारणसभा पश्चात अधिकृत पूँजी रु २१ अर्ब र कूल चुक्ता पूँजी रु १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार छ ।

नयाँ वर्ष २०७६ को शुभारम्भसहित सरकारले ल्याएको सबै नागरिकको बैंक खाता अभियालनलाई कृषि विकास बैंकले महत्वपूर्ण टेवा पु¥याएको छ। त्यसअन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी जनताको बचत खाता खोलिएको बैंकले जनाएको छ। बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश २४ प्रतिशत र बोनश शेयर ६ प्रतिशत गरी ३० प्रतिशत लामांश वितरण गरेको छ। बैंकबाट प्रवाह गरिएको कर्जामध्ये ८० प्रतिशत १० लाखभन्दा कमका रहेका छन्। कृषिका साथै पर्यटन, जलविद्युत्लगायत उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ। कृषि क्षेत्रको माध्यामबाट समग्र मुलुकको विकास गर्ने उद्देश्यले २०२४ माघ ७ गते बैंकको स्थापना गरिएको थियो। समारोहमा ‘बैंक समाचार’ विशेषाङ्कको विमोचन गरिएको थियो। रासस