पोर्चुगलमा एकै घरका दुई नेपाली दाजुभाईको मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस। पोर्चुगलमा समुन्द्री किनारमा माछा मार्दा छालले बगाएर एक घरका दुई नेपाली दाजुभाईको आइतबार मृत्यु भएको छ। कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाउदा दुबै दाजुभाई समुन्द्री छालमा बेपत्ता भएका थिए।

समुन्द्री छालमा हराएका नेपाली दाजुभाईको खोजीकार्यका लागि क्यासकाइज लाइफगार्ड स्टेशन र मेरीटाइम पुलिसमार्फत् अल्काबिडेचे फायर फाइटरको टोलीले सहयोगमा गरिएको थियो। घटनास्थल निकै जटिल र चट्टान नै चट्टानको क्षेत्र भएकोले उद्धारमा निकै कठिनाई भएको र स्पीडबोटहरूको प्रयोग गर्न पहुँचयोग्य नभएको उद्धारकर्मीहरुले जनाएका छन् ।

उद्धारको लागि समुद्री प्राधिकरणको वाटरक्राफ्ट परिचालन गरिएको थियो। समुन्द्री छालमा हराएका दुबै दाजुभाईलाई खोजी गरेर पानीबाट बाहिर निकाल्दा दुबैको मृत्यु भईसकेको प्रहरीले जनाएको छ। यसैबिच तामाङ समाज पोर्चुगललका उपाध्यक्ष प्रदिप थिङ् तामाङले मृत्यु भएका दुबै नेपाली दाजुभाई तामाङ समुदायका भएका र कास्काइसमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका जनाएका छन्। मृत्यु भएका तामाङ दाजुभाई नौ महिना अघि मात्रै पोर्चुगल गएको बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्