काठमाडौं। ‘दक्षिणा’ फिल्मबाट उदाएकी अभिनेत्री निरुता सिंहले झण्डै एक दशक नेपाल फिल्म क्षेत्रमा राज गरिन्। आफ्नो समयकी लोकप्रिय अभिनेत्री अहिले भने गुमनाम छिन्। निरुता अहिले कहाँ के गर्दैछिन् ? बुझ्न मुस्किल छ।
आफूलाई ‘मोर्डन’ रोलमा पस्केको फिल्म ‘द गेम’ असफल भएपछि बम्बईमा नयाँ करिअर खोज्न हिंडेकी निरुता गत साता सिक्किममा आयोजित इनास अवार्डमा भेटिइन्। लामो समयदेखि नेपाली फिल्म क्षेत्रबाट पर रहेकी निरुता सिक्किमको उक्त अवार्डमा भने ‘रिजर्भ’ देखिइन्। अभिनेत्री करिश्मा मानन्धरको आडमा भइरहने निरुता मिडियासँग तर्कंदै हिँडिन्।
फोटो तथा भिडियोका लागि आग्रह गर्दा ‘एकछिन है’ भन्दै निरुताले पर्खाइ मात्रै रहिन्। उनले भिडियो कुराकानी गर्न मानिन्। फोटो पनि आनाकानी गर्दै खिचाइन्। एक समय चर्चाको शिखरमा रहेकी निरुताले नेपाली मिडियासँग किन त्यसो गरिन् ? उनले सबै मिडियाकर्मीलाई सोचमा पारिदिइन्।
तर उनले राम्रो रोलको अफर आए फिल्म भने खेल्ने बताइन्। उनले भन्नका लागि त्यसो भनिन् या मनैबाट ? निरुताको उक्त व्यवहारले के प्रष्ट्याउँछ भने उनी हाल जहाँ छिन्, सोही ठाउँमा खुसी छिन्, नेपाली फिल्म क्षेत्रमा फर्कन चाहन्नन् ।
‘दर्पण छायाँ’, ‘बन्धकी’ जस्ता दर्जन बढी सुपरहिट फिल्म दिएकी निरुताको अन्तिम हिट फिल्म ‘अजम्बरी नाता’ थियो। तत्कालिन रेखा फिल्मस्बाट छविराज ओझाले निर्माण गरेको उक्त फिल्ममा निरुता चार सन्तानकी आमाको भूमिकामा थिइन्। नयाँ नायिकाको आगमनसँगै निरुता पाखा लागेकी थिइन्।



लाेकपाटी न्यूज

