काठमाडौं, २२ पुस । अर्थमन्त्री डा.युवराज खतिवडाले उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताएका छन्। भूमी, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको स्पष्ट पारेका हुन्।
आज संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘ समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको बताए।
उनले गाउँगाउँमा समतामूलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रुपले विकास हुने बताए। त्यसका लागि सरकारले उत्पादनका साधन र श्रोतको समान वितरणमा जोड दिएको बताए। आर्थिक विकास समावेशी हुनका लागि आर्थिक वृद्धि समावेशी हुनुपर्ने र आर्थिक वृद्धि समावेशी बनाउनका लागि उत्पादनका साधनमाथि समावेशी पहुँचको सुनिश्चितता हुनुपर्नेमा मन्त्री खतिवडाको जोड थियो।
कार्यक्रममा ‘नेपाल २०३०ः लक्ष्य, प्रवृत्ति, साधन र जोखिम’, ‘समावेशी विकास र समृद्धि, राज्यको नीति, संकलप र वर्तमान अवस्था’ र ‘महिला र समावेशी विकास’ लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरएको थियो ।



लाेकपाटी न्यूज

