पार्टीमा एउटै गल्तीमा कसैलाई फसाउने, कसैलाई सम्मान भयाे : माधव नेपाल

madhav kumar nepal
लाेकपाटी न्यूज

धनगढी, २० पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । पुष्पलाल मञ्च नेपालद्वारा आइतवार धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले पार्टीभित्र गुट उपगुट बनाई कार्यकर्तालाई हेप्ने र पछाडि पार्ने प्रवृत्ति देखिएको भन्दै योग्यता र क्षमता भएका व्यक्तिमाथि अपमान भएको बताए । नेता नेपालले पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने बताउँदै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गरेर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए।

पार्टीमा एउटै गल्ती गर्दा कसैलाई फसाउने, कसैलाई पूजा गर्ने प्रवृत्ति बढेको छ, नियमकानून सबैलाई बराबर लागू हुनुपर्छ, कसैलाई पाखा त कसैलाई काखी गरिनुहुन्न नेता नेपालले भने। उनले एमसिसी अनुदान सहयोग नेपालको हित विपरीत भएको जिकिर गर्दै त्यसमा रहेका केही बुँदा सच्याउनुपर्ने बताए। नेता नेपालले तीनै तहका सरकारले एकापसमा समन्वय गरेर विकासनिर्माणका कामलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिए ।