राष्ट्रियसभा निर्वाचनः उम्मेदवारी मनोनयन आइतबार

nirbachan-aayog
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ। दुईवर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पद निर्वाचनबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर पदपूर्ति हुनेछ। १८ जनाको चयनका लागि माघ ९ मा निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन सम्बन्धित प्रदेशमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। राष्ट्रिय सभाका उम्मेदवार तथा मतदान प्रदेशगत रूपमा हुने कानुनी व्यवस्था छ। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

राष्ट्रिय सभामा त्यसरी निर्वाचित ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्य रहन्छन्। पदावधि भने गोलाप्रथाबाट टुंगो लगाइएको थियो। एक तिहाइ सदस्यको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि रहने संविधानमा उल्लेख छ। त्यही व्यवस्थाअनुसार एक तिहाइ सभा सदस्यको दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ। ती पदमा नयाँ आउने व्यक्तिको पदावधि ६ वर्ष हुनेछ।

कानुनअनुसार म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। नयाँ निर्वाचित हुनेले फागुन २१ बाट पदबहाली गर्नेछन्। नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जना सदस्यको पदावधि सकिन लागेको छ।

नेकपाले निर्वाचन हुने १८ मध्ये १६ स्थानका लागि उम्मेदवारी दिने तयारी गरेको छ। उसले प्रदेश २ को दुई सिट राजपालाई दिने गरी चुनावी गठबन्धन गरेको छ। बिहीबार पार्टीबाट सभामा उम्मेदवारहरूको नाम टुंग्याउँदा नेकपाले पदावधि सकिन लागेका ८ मध्ये कसैलाई दोहोर्‍याएको छैन। निर्वाचन कानुनअनुसार पदावधि सकिन लागेका व्यक्ति पनि उम्मेदवार बन्न सक्छन्।

निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष छन्। राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ।

यसपटक प्रदेशगत रूपमा प्रत्येक क्लस्टरबाट एक/एक जना मात्रै चुनिने भएकाले बहुमत ल्याउने व्यक्तिले चुनाव जित्नेछन्। प्रत्येक प्रदेशमा सत्तारूढ नेकपा बहुमतमा देखिएकाले उसले उम्मेदवारी दिएका १६ वटै स्थान जित्ने सम्भावना छ। उम्मेदवारले पुस २५ मा निर्वाचन चिह्न पाएपछि निर्वाचन हुनुभन्दा ४८ घण्टापूर्व १० दिनको समयावधि प्रचारप्रसारका लागि पाउनेछन्।