काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन्। शनिबार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले भने, ‘हामी विद्युत्मा अझै आत्मनिर्भर हुन सकेको अवस्था छैन, तर आँखासम्बन्धी उपचारमा आत्मनिर्भर छौँ, हामीले लेन्स निर्यात गर्छौं, त्यो देख्दा खुसी लाग्छ। बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्छ, आँखा नभइ संसार देख्न सकिँदैन।’
कार्यक्रममा नेपाल आँखा बैँकको अक्षय कोषस्थापना गरिएको थियो। जसमा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए। तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अहिले धेरै मानिसहरुमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएको बताइन्।
मृत्युपश्चात् आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहीनले पुनः देख्न पाउँछन्। नेपाल आँखा बैंकमाहालसम्म ७५ हजारभन्दा बढी दाताले मरणाेपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्।



लाेकपाटी न्यूज

