प्रेम मानिसको जीवनको महत्वपूर्ण पक्ष हो। प्रेम महिला र पुरुषबीच हुने भावनात्मक सम्बन्ध पनि हो, जसका निम्ति समाजले युगपिच्छे फरक फरक अवधारणाहरु निर्माण गरेको हुन्छ। समानताको भावसहित साथी खोज्ने अधिकारका रुपमा प्रेमको आविष्कार भएको हुनुपर्छ।
महिलाको शरीरमाथि पितृसत्ताको राजनीतिक दाउपेचका रुपमा रहको सामन्तवादभन्दा अहिले विश्वमा विकसित पूँजीवाद धेरै नै प्रगतिशील छ। र, अचेलको आधुनिक प्रेम पूँजीवादकै उपज हो भन्न पनि सकिन्छ। प्रेमका लागि दिइएको व्यक्तिगत स्वतन्त्रता वा भनौं पूँजीवादी युगमा छौं हामी। दिन प्रतिदिन हाम्रा व्यवहारहरु दृष्टिकोणहरु फरक हुँदैछन्। तर, आजकल मानिसहरु उपभोक्तावाद र चरम पूँजीवादको चङ्गुलमा फस्दा प्रेमहरु चेतनाविहिन हुँदै गएको कुरा भने तीतो यथार्थ हो।
मानिसहरु आजकल हरतरहले पैसाले नियन्त्रित छन्। पद र पैसाले सबै कुरा किन्न सकिन्छ, जसअनुसार माया प्रेम पनि किनबेचको वस्तु भएको छ। वर्ग सत्ता, समाजवाद, भौतिकवादसँग पनि प्रेम नमीठोसँग गाँसिएको छ। हामी भन्छौं, प्रेममा वर्ग, जात र देशको सीमाले अर्थ राख्दैन। तर, यो चरम पुँजीवादी समाजमा प्रेमहरु जात र वर्गअनुसार फरक छन्। मानिसले अंगाल्ने दुःख सुखहरु, गर्ने विवाह र पारिवारिक सङ्घर्षहरु सबै सबै फरक छन् जात र वर्ग अनुसार। अर्थात् पूँजीपति वर्ग र सर्वहारा वर्गले गर्ने प्रेममा यहाँ फरक छ।
कर्णालीको गरीब जोडी प्रेम जगाउन एकान्तका लागि गोठालो जान्छन् भने काठमाडौंका जोडी प्रेम जगाउन र रमाउन सिभिल मलमा डेटिङ जान्छन्। यही चरम पूँजीवादकै कारण आजकल मानिसले प्रेम पाउन आफूले आफूलाई बेच्ने गरेका छन्। केही दिन अघि मैले हेरेको मार्क्स फर्किए नाटकमा मार्क्स भन्छन्, ‘मेरो विचारमा कुनै व्यक्तिले सबैभन्दा क्रान्तिकारी काम गर्नु भनेको नै सत्य बोल्नु हो।’ र, आजकलको प्रेम हेर्छु, सबै झुटको जगमा उम्रिएका महल जस्ता लाग्छन्। यी प्रेमहरु साँच्चै कसरी क्रान्तिकारी हुन सक्छन् ?
प्रेम मात्र होइन, यौन र विश्वास पनि चरम पूँजीवादको दोसाँधमा फसेको छ। म मान्छु, सामन्तवादको अन्त्य र पूँजीवादको उदयले नयाँ बहसको थालनी भएको छ। महिलाहरु आफ्नो रोजाइको प्रेम सम्बन्धका बारेमा र भए गरेका यौन हिंसाका बारेमा खुलेर बोल्न थालेका छन्। तर, के पूँजीवादको हावीले हाम्रा सबै मानसिकता, संस्कार र बुझाइमा परिवर्तन आउन सकेका छन् त ? सामाजिक व्यवहारहरु जडसूत्रवादी छन्। परम्परा,संस्कार र संस्कृतिहरु महिला माथि विभेदकारी छन्, हाम्रा अपेक्षाहरु पनि पृथक छन्।
तर, अहिलेको जुन वर्तमान अवस्था छ, त्यसमा चरम पूँजीवादको पासोमा पर्ने प्रेमिल सम्बन्धहरुलाई आदर्श मानिराख्न सकिन्न। त्याग र समर्पण युक्त हुनुपर्ने प्रेममा चरम पूँजीवाद हावी छ। यति शाश्वत मानिने प्रेमलाई पूँजीवादको तराजुमा लेनदेनको विषय बनाइदिदा जरुर प्रेमको दुःखद अन्त्यलाई रोक्न सकिएको छैन। यति चोखो निर्मल सम्बन्धलाई विवाह अघि महँगो बनाएर होस् वा विवाहसम्म पुग्दा दाइजो र दाइजो नदिँदा घरेलु हिंसा खेपेर सम्बन्ध विच्छेद भएका घटनाहरु हेर्दा प्रेमको सोझो अर्थलाई औचित्यहीन बनाउन पूँजीवादको योगदान छ।
अब पूँजीवादले उब्जाएका केही सम्बन्धहरुको चर्चा गरौं !
जीवन भनेकै तंरगिनु, चलमलाउनु, लहराउनु हो। रहस्यका झिल्काहरुमा आफूखुशी आनन्द लिनु पनि हो। समय क्रममा हाँस्न, खेल्न, रमाउन साथी चाहिन्छ। जिन्दगीको लामो दूरी पार गर्न जीवनसाथी चाहिन्छ। तर जीवनमा ब्वाइफ्रेण्ड–गर्लफ्रेण्ड किन चाहिन्छ ? के हाम्रा सुख–दुःख, प्राप्ति–हानि, हार–जीत, आँसु–हाँसो, आदर्श–सपना, दृश्य–भावनाहरु सबै अपुरा हुन्छन् त ब्वाइफ्रेण्ड–गर्लफ्रेण्ड बिना ? वा भनौं हामी आलोचना नै गर्न नसकेर जे अरुले अंगाल्छन्, त्यसमै अल्झिरहेछौं।
आफ्नो वृत्तान्त सुनाउछु अलिकति। समय क्रमले कहिले एक्लै कहिले केटा साथीहरुसँग यताउति शहरमा डुलिरहेको हुन्छु। पार्कहरु, सार्वजनिक यातायातहरु, क्याफेहरु, पशुपतिनाथका आरतीहरु, फिल्म हलहरुमा। यी ठाउँहरुमा जोडीहरु भेटिएनन् भने अपवाद नै हुन जान्छ। र, आफू एक्लै गएको अवस्था पर्यो भने त कताकता हिनताबोधले छोप्छ। मेरो त आडैमा हातमा हात समातेर हिडिदिने कोही पनि छैन जस्तो लाग्छ। हप्तामा आएको बहुमूल्य शनिबार पनि कोठाका भित्ताहरुमा आँखा डुलाउँदैमा जान्छ वा घरको कामकाजमा खट्टिएर लाग्न पर्छ।
फुटपाथमा पनि एक्लै त हिडिसाध्य छैन। उसै त महानगरपालिकाले फुटपाथ सानो बनाएको छ त्यसैमाथि कुनै जोडी बिस्तारै बिस्तारै कछुवाको चालमा हिड्न थाले भने त हामीजस्ता एकल नवजवानहरु मगज भारी बनाई झोक्राएर हिड्नुपर्ने हुन्छ। कहिलेकाँही त गर्लफ्रेन्ड नभएर नै भूलभुलैयायुक्त अन्धकारबाट बचिरहेछु जस्तो पनि लाग्छ। तर, फेरि एउटा अति नै व्यस्ततापूर्ण जिन्दगीका बीच गर्लफ्रेन्ड नहुनु पनि फुर्सत भएको समयमा आफैसँग बिताउन पाउनुको अवसर हो जस्तो लाग्छ।
मानौं, यदि कुनै परमपूज्य प्रेमिकाको जालमा परेको भए म कस्तो हुन्थें होला ? एकचोटी त्यो पाटोलाई पनि नियालौं। केटी उस्तै खर्चालु र रिसाहा परेको खण्डमा, कुरा नबुझ्ने र जिद्दी गर्ने खालको भएमा, समस्याको गहिराइमा नपुगी सतही बकवासमा रुमल्लिने भएको खण्डमा जिन्दगी झन् विरक्तलाग्दो हुन्छ। मानौं, महङ्गो चमेना गृहमा छिरियो, धेरैथोक मगाइयो, खाने कुरा खाँदा बहुत मीठा गफहरु पनि गरियो, एक अर्काका लागि आकाशको तारा झार्नेदेखि लिएर समुन्द्रको मोती टिप्नेसम्मका कुरा समेटियो। तर, बिल तिर्ने बेलामा मैले अर्थात् केटाले मात्र आफ्नो गोजीबाट पर्स निकाल्नुपर्यो भने सोच्नुस्, यो सम्बन्ध कहिलेसम्म टिक्ला ?
र, चमेना गृहबाट निस्किएर घर पुग्दै गर्दा मैले सोच्छु, यो सम्बन्धमा समभाव खोई ? अर्को उदाहरण, केटा अर्थात् म घरमा बिरामी भएर सुतिराखेको हुन्छु। तर, गर्लफ्रेन्डको जिद्दीकै कारणले मन नभएर पनि म फिल्म हलसम्म पुग्छु, फिल्म त हेर्छु। तर, म मनोरञ्जन गर्न सक्दिन। घर आएपछि मैले पनि सोच्न बाध्य हुन्छु, यो सम्बन्धमा त्याग र योगदान जहिले पनि केटाहरु अर्थात् मैले नै गर्नुपर्ने ? त्यसो भए यो रिलेसनसीपको अर्थ के ? यो त मालिक र नोकरको जस्तो सम्बन्ध भएन र ?
धेरै कथाहरु समाजमा व्याप्त छन्, जहाँ पुरुषकै बढ्ता त्यागले नै त्यो प्रेम सम्बन्ध अजरअमर हुन सकेको छ। मैले यो भनिरहँदा धेरै महिला मित्रहरुलाई असहज लाग्न सक्छ। तर, के यस्ता घटना परिघटनाहरु हेर्दा एक जनाको त्यागले मात्र सम्बन्धलाई जीवन्त बनाउन र न्याय दिन सकेको देखिन्छ त ? के केटाकै बाइकको पछाडि बसेर गर्लफ्रेण्डहरु शयर गर्न हतारिनु पर्छ र ? आफ्नै स्कुटी किनेर कहिलेकाहीँ केटालाई पनि स्कुटी पछाडि राखेर शयर गराउन सकिन्न ? नारी सशक्तिकरणको प्रश्न समेत यही आएर ओझेल पर्छ, जब नारी एउटा सम्बन्धमा पुरुषले नै त्याग गरिरहोस् भन्ने चाहन्छे।
केटाहरुलाई पनि पश्चिमा लयले पक्रेको छ। फूलबारीका पुष्पहरु टिप्ने तछाडमछाडमा हुन्छन्। कल्पना र भावनामा बोलिदिन्छन्। रागहरु सुन्छन्। तेत्तीस कोटी मधुर पुकारहरु गुञ्जित भएको पाउँछन्। गर्नुसम्मका त्याग र दिनुसम्मका भाउहरु दिलाउँछन्। जब त्याग र समर्पण समान रुपमा अघि बढ्दैन, सम्बन्ध टुक्रिन्छ, अनि नाना किसिमका गालीहरु गर्छन्। आफू बिग्रिन्छन्, अनि घर परिवार बिथोल्छन्। संसारमा त्यही केटीबाहेक अरु हुँदै नभए जस्तै ऊ नपाए मर्ने जिकिर गर्छन्। अति नै पागलपनका चमत्कारीहरु हुन्छन् केटाहरु पनि। बिछोड प्राकृतिक नियम हो भन्ने बुझ्नलाई पनि प्रेमिकाले नै विश्वासघात गर्नुपर्छ।
चरम पूँजीवादको हावी र संस्कारको कमिले सम्बन्धमा यति धेरै शंका र उपशंकाहरु सिर्जना हुन्छन् कि त्यसको लेखाजोखा नै हुँदैन। कोही परको मान्छेसँग भेट्दा बोल्दा र संगै हिड्दा जलन नै हुन्छ सायद। फेसबुकको पासवर्ड माग्नेदेखि लिएर, किन त्यो केटा–केटीको फोटोमा लाइक गरिस् ? भन्नेसम्मका तल्लो स्तरका सवाल उठ्छन्। ।एउटा सम्बन्धको भरमा नै प्रेमी वा प्रेमिकाले आफूले जे भन्छ, त्यही गर्नुपर्छ भनेर सोच्नु पनि मूर्खता हो। मान्छेभित्र आ–आफ्नो अहम निहित हुन्छ। त्यो केटा होस् वा केटी। अझ भनुँ आत्मसम्मान त झन् दरिलो रुपमा रहन्छ। यसमा ठेस पुग्नुलाई सम्बन्ध विच्छेदको चरम अवस्था मान्न सकिन्छ।
गर्लफ्रेण्ड बनाउनैपर्छ र ? भन्ने प्रश्न गरिरहँदा मैले धेरै मेरा शुभचिन्तक गुमाएको हुन सक्छु। अझ बढ्ता गर्लफ्रेण्ड नबनाउने प्रण गरेसँगै मैले केटी साथीहरुको साथ गुमाएको हुन सक्छु। गर्लफ्रेण्ड हुँदाका अनेकौं फाइदाहरु गुमाएको हुन सक्छु। समाजले सजिलै पचाइसकेको यो विषयवस्तुलाई बेकारमै नजरअन्दाज गरेको हुन सक्छु। तर, मलाई अझै पनि यकिन छ, स्वअस्तित्व स्वीकार्ने र ईच्छाशक्तियुक्त परिपक्व प्रेममा विश्वास अडिन सकेको खण्डमा त्यस सम्बन्धका प्रत्यासीहरुलाई ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड नामकरण गरिराख्नुपर्ने जरुरी पर्दैन। यी नामहरु चरम पूँजीवादकै उपज हुन्।
आजकल फिल्मका जादुमय कथाहरुको देखासिकी गर्ने सिकारु प्रेमीहरु धेरै छन्। बालुवामाथि प्रेमिल घर बनाउँछन्, आफूलाई महात्मा सम्झिन्छन्, मुना–मदन, रोमियो–जुलियट सम्झिन्छन्, अनि बेकम्मा भएर टुक्रिन्छन्। सानै उमेरदेखि कलिला मगजहरुमा बिएफ–जिएफको चर्चा चल्छ। यति मात्रै हो र वैवाहिक सम्बन्धमा गाँसिएपछि पनि घर बाहिर सम्बन्ध राख्ने प्रचलन व्याप्त छ। बिहे नहुँदै लिभिङ रिलेशन अरे, अचम्म अचम्मका विकृतियुक्त सम्बन्ध भित्रिरहेका छन् नेपालमा। न कुनै दृश्य, न कुनै अनुभूति, न सच्चा भावनाको मिलन, न अनेक क्रियाद्वारा आत्मप्रकाशन, न सजीव अनुभवहरु, न कलात्मक प्रकाशन, न लोककल्याणकारी चलन।
आखिर, मैले अब गर्लफ्रेण्ड बनाई राख्नुपर्ने औचित्य के ? के यो विपना हो, के यो सत्य छ, के यो अस्तित्ववान छ ? होइन भने सम्बन्ध राखेर भ्रममा बाँच्नुको अर्थ के ? यो आजकलको अस्पष्ट झिलिमिली नै होला, यसलाई नदेखेकै भान पार्दै वा यो मेरो क्षितिजभित्र नै नपर्ने दृढताका साथ अघि बढ्न सक्दिन र ? आखिर कालान्तरमा मन मिल्नेसँग बिहे गर्नु त छँदैछ। बेकार चरम पूँजीवादयुक्त प्रेमको शरण परेर बैंक पनि साथी पनि किन बन्ने ?
डा. अच्युतशाली घिमिरे, शिक्षण अस्पताल



लाेकपाटी न्यूज

