- शोभाकान्त लामिछाने
पोखरा शहरको सुदुर उत्तरमा पर्ने पुरनचौर निवासी, सेवानिवृत्त सफल प्रअ, नेकपा महानगर कमिटिका अध्यक्ष एवं वडा नं.२१ का चुनावी कमाण्डरसँग पंक्तिकारको कुनै दिनको भेटमा भलाकुसारी भइरहँदा भन्नुभयो, ‘नेकपा स्थापनाको दोश्रो दशकमा नै म कम्युनिष्ट भएँ र मलाई कम्युनिष्ट बन्ने प्रेणा पोखराको दक्षिणभेगमा पर्ने फोक्सिंडाँडाका अग्रजहरुको देन हो।’ त्यो दिनभरी यही वाक्य पंक्तिकारको कानमा गुञ्जिइरह्यो। जब बेलुकिपख गोधुली साँझमा घरमा आई आराम गरिरहेको बेला विचार गरें, त्यो समय जुनबेला न यातायात थियो, न सञ्चार, न शिक्षा, न त चेतनाको ज्योति नै फैलिएको थियो। थियो त केवल अशिक्षा, अन्धविश्वास र जनताको हक–अधिकार हरण गरेको पञ्चायत।
यसअघि पनि साम्मी, बयली र अर्घौका केही अग्रज कमरेडहरुका मुखारविन्दुबाट सुनेको थिएँ, फोक्सिंडाँडाका आलोकले पूर्वमा भरतपोखरी हुँदै बेगनास, अर्घौ इत्यादि ठाँउहरु र पश्चिमतर्फ मट्टिखान, पुम्दि हुँदै बैदाम इत्यादी स्थलहरु, यतिमात्र होईन स्याङ्जा, पर्वत, कास्की, तनहुँ लगायत गण्डक क्षेत्रमा नै डाँडाको ज्योती बिस्तारै फैलिदै गएको हो। त्यो समयको दूरदराजमा रहेको पुरनचौरका मित्रको यस किसिमको स्वतः स्फुर्त मनको कुरा सुन्दा लाग्यो, – यो कुरा साँचो रहेछ, फोक्सिंडाँडा त कम्युनिष्ट चेतनाको जननी पो रहेछ। उनै मित्रको त्यही वाँणिले पंक्तिकारलाई यस्तो उर्जा प्रदान गर्यो कि जसको प्रेरणाले तपाईंको हातमा आज यो आलेख आइरहेको छ।
नयाँ कास्कीको रुपमा चिनिने पोखराको दक्षिणी भेकमा अवस्थित तत्कालीन स्याङ्जा जिल्लाको पूर्वी नुवाकोटमा पर्ने पूर्व–पश्चिम फैलिएर रहेको भौगोलिक बनोट, आर्कषक र रमणिय स्थल फोक्सिंडाँडा गण्डकी प्रदेशको एकमात्र सुरम्य नगरी पोखरालाई आफ्नो वात्सल्यताको न्यानो काखमा च्यापेर, हिमालको दर्पण छायाँमा लुकामारी खेल्दैँ वरपरका क्षेत्रहरुमा समेत चेतनाको बिगुल फुक्दै देशको राजनीतिलाई राजा र राणाको दरबारबाट फर्काएर जनताको झुपडी र आँगनमा चेतना जगाउने काम गर्दै आएको छ, जसको भूगोल हाल पोखरा महानगरपालिका वडा नं. २१ र ३३ मा पर्दछ।
जसरी, हाम्रो जीवनको आधार – अन्नकोदाना ओसिलो माटोमा रोपिएको केही दिनमै अंकुरण भइ टुसाएर कलिलो बिरुवा बन्छ। मलिलो माटो, हावापानी र उपयुक्त वातावरणमा यो झन ठूलो वयस्क बिरुवा बन्दै गर्दा एउटा निश्चित अवधिपछि यसमा फूल लाग्दछ र फल परिपक्व भएपछि मात्र यसबाट सयौं, हज्जारौंको संख्यामा अन्नका दानाहरु निस्कन्छन्। तर, रोपिएको त्यो अन्नको दाना भने बिसर्जन भइजाने यो प्राकृतिक नियम हो। त्यसरी नै, जननीको रुपमा रहेको फोक्सिंडाँडामा कम्युनिष्ट विचारधाराको बिउ रोपेर, बिरुवा हुर्काउने, फुलाउने र हजारौं कम्युनिष्ट जन्माउने तर आफू भने बिउ जस्तै नासिने जस्तो युगीन महत्वको भूमिकामा कहाँ–कहाँबाट को–को थिए ? हालको कम्युनिष्ट राजमा यो गहिरो चासोको विषय बन्नुपर्दछ।
सामाजिक परिवर्तनका बाहक कम्युनिष्ट भएको हुनाले जनताको मुक्ति, नेपाल कम्युनिष्ट पार्टीले मात्र पुरा गर्न सक्दछ भनी, संविधान–सभाको माग थाँती राखि २०१५ सालको आमनिर्वाचनमा कम्युनिष्ट पार्टीलाई जीताउन लागिरहँदा यस फोक्सिंडाँडाका अज्ञानता, अशिक्षा र अन्धविश्वासले जेलिएको तात्कालीन रुढीवादी समाजमा यो पुरै डाँडोबाट जम्मा २ (दुई) भोट –एउटा उमाकान्त लामिछाने जीको आफ्नै र अर्को उहाँकी आमाको, परेको कटुतथ्यले के इंगित गर्दछ भने, हुँदा खाने वर्ग पनि स्थानीय शामन्त वा हुनेखाने वर्गको हुकुमी राजले पिल्सीएको तात्कालीन हाम्रो समाजमा परिवर्तनको जोखिम मोल्न कोही तयार भएन। उमाकान्तको त्यो दृढ निश्चयी एउटा मत आज करीब आधाशताब्दी पछि युगीन महत्व बोक्दै पहिलो संविधान सभा निर्वाचन (२०६४)मा कम्युनिष्ट उमेद्धवार रहनुभएका यही डाँडाका ढुंगो र माटोको उपज रवीन्द्र अधिकारीका लागि निर्मल पोखरीमा आयोजना गरिएको त्यहाँका तीन गाबिसको चुनावी प्रचार–प्रसारको विशाल र अन्तिम आमसभामा मञ्चबाट सार्वजनिक भाषणमै बयोबृद्ध क.उमाकान्तजीले गहभरि हर्षका आँशु बगाई, आफ्नै जीवनकालमा परिवर्तनगामी शक्ति – कम्युनिष्ट पार्टीको आज यस्तो चमत्कारी देख्दा म अति हर्षित छु, हर्षविभोर छु, भनि मुक्तकण्ठले खुशि व्यक्त गर्दै अधिकारीको पक्षमा मतहाल्न अनुरोध गरिरहँदा केहीबेर उहाँको गला अबरुद्ध भएको थियो।
त्यसपछिका घटनाक्रममा पनि यदाकदा भेटहुँदा उमाकान्तजीसँग अंकमाल गरी कुराकानी गर्ने मा. रवीन्द्र अधिकारी, भन्ने गर्नुहुन्थ्यो –तपाईंहरुले दुःख गरी, हण्डर खाँदै नेकपा जन्माउनु भयो, हुर्काउनु भयो, यहाँसम्म ल्याई पुर्यानु भयो, अहिले यसलाई अझ बढी सुदृढ गर्दै अगाडि लैजाने अभियानका साथ हामी यहाँसम्म आइपुगेका छौँ। यस किसिमले २०६४ पछिको संविधान सभा निर्वाचन र संसद निवार्चनमा रवीन्द्र अधिकारीले पार्टीबाट उमेद्धवारीको टिकट पाइसकेपछि आफ्नो चुनावी प्रचारको सुरुवात त्यस भेगमा नेकपाका संस्थापक एवं अग्रज कमरेड स्व. उमाकान्त लामिछाने जो पार्टी स्थापनाको दशकमै डाँडामा पहिलो लालझण्डा उठाउने शाहसिक व्यक्तित्वका बाहुलीबाट टिका र आशिर्वादका साथ शुभारम्भ गरिने गरिएको उहाँको चुनावी अभियान विजयमा बदलिदै जानुले पनि उहाँको अग्रज प्रति सम्मान र आदरभाव गर्ने संकृतिलाई स्थापित गराउने मात्र नभई उहाँको यो सभ्य राजनीतिक संस्कारको अनुकरणिय अभ्यास, राजनीतिककर्मीहरुका लागि प्रेणादायी बन्न सक्यो। यी र यस्ता राजनीतिक घटनाक्रमहरुले के कुराको पुष्टि गर्दछ भने, समाजशास्त्रीय विज्ञानमा बिउबाट फल निस्कन करीब आधा शताब्दीसम्म लाग्नसक्ने रहेछ।
मुलूकमा २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि २०४८ सालमा पहिलो पटक संसदीय निर्वाचनको थालनी गरिएको हो। संसदीय निर्वाचनका लागि २०४८ साल देखि २०५६ सालसम्म कास्कीमा तीनवटा निर्वाचन क्षेत्र थिए। जनाधिकार प्राप्तीका लागि गरिएको दश वर्षे माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरण एवं २०६२/०६३ को संयुक्त जनआन्दोलनबाट प्राप्त संघीय गणतन्त्रको स्थापनापछि भने मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो। गणतन्त्रीय संविधान सभा निर्वाचन प्रयोजनका लागि २०६४ र २०७० मा भएका दुई निर्वाचनहरुमा कास्कीलाई चार निर्वाचन क्षेत्रमा विभक्त गरियो। संविधान सभाले मुलूकको नयाँ संविधान जारी गरेपछि भने कास्की जिल्लामा पुनः तीनवटा मात्र निर्वाचन क्षेत्र कायम गरिएको छ।
मुलूकमा बहुदलीय प्रजातन्त्र स्थापनापछिको २८ वर्षीय शासन कालमा २०४८, ०५१, ०५६, ०६४, ०७० र २०७४ गरी जम्मा छ वटा निर्वाचन सम्पन्न भए। २०४८ देखि २०७४ सम्म भएका प्रत्यक्ष संसदीय निर्वाचनहरुलाई मध्यनजर गर्दा कास्कीको निर्वाचन परिणाम यस्तो देखिन पुग्यो कि – २०५६ सालमा कास्कीका तीनवटै सिट नेपाली कांग्रसले हात पारेको अवस्थालाई यु–टर्न गराई त्यसपछि २०६४ र २०७४ को चुनावी परिणाम भने ठिक विपरीत, निर्वाचित पहिलो महिला सांसदको इतिहास रचेकी दुर्गा बि.क. सहित पुरै सिट कम्युनिष्टहरुको पोल्टामा पर्न गयो। बीचका अन्य चुनावी परिणामहरुमा पनि तीनमध्ये दुई र चारमध्ये तीन सिटमा कम्युनिष्टहरुले नै विजय हासिल गरेका छन्। यसले के कुरा इंगित गर्दछ भने परिवर्तनका सम्बाहक कम्युनिष्ट, कास्कीबासीको मनको ढुकढुकी बन्दैछ वा भनौं कास्की जील्ला लालकिल्ला बन्दै छ। यस किसिमले लालकिल्ला उन्मुख कास्की जिल्ला क्षेत्र नं.२ का संघीय सांसद, तत्कालीन संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा. रवीन्द्र अधिकारीको हेलिक्याप्टर दुर्घटनामा असामयिक निधन भएपछि सो रिक्त स्थानमा यहि मंसिर १४ गते सम्पन्न भएको कास्की–२ को उप–निर्वाचन परिणामको नतिजा आंकलन गर्नु अगाडि यस क्षेत्रको चुनावी इतिहासको विश्लेषण गरि हेरौं।
मंसिर १४ गते कास्की–२ मा भएको देशको एकमात्र संघीय सांसदको उपनिर्वाचनमा ११ दल र १० स्वतन्त्र गरी जम्मा २१ जना प्रतिस्पर्धामा थिए। विभिन्न पार्टीबाट आशलाग्दा युवा मात्र होइन प्रविधिक ज्ञान भएका एवं स्वतन्त्र समेत चुनावी मैदानमा उत्रिनुले के कुरा इंगित गर्दछ भने हिजो पिल्सिएर बस्न बाद्य भएकाहरु आज राष्ट्र निर्माणमा आफ्नो भूमिका खोजि रहेका छन्। यसै क्रममा २०४८ देखि २०७४ सम्मको चुनावी परिणाम हेर्दा उमेद्धवार र पार्टी जति भएपनि कांग्रेस र कम्युनिष्टबीच नै रोचक प्रतिस्पर्धा भइरहेको छ। २०४८ देखि २०५१ र २०५६ सम्म कम्युनिष्ट पार्टीको तर्फबाट उमेद्धवारी दिएका तुल बहादुर गरुगंले खसेको मतको क्रमस ः ५०.१, ४३.६ र ३९.२ प्रतिशत घट्दो क्रमको मत ल्याई २०४८ र २०५१ सालमा विजयी भएपनि पछिल्लो पटक २०५६ सालमा भने कांग्रेसका महादेब गुरुङसँग पराजित भएका थिए। टेण्ड विश्लेषणको यो परिणाम हेर्दा जनमतको आधा हिस्सा ओगटी रहेको कम्युनिष्ट शक्ति आवधिक हिसाबले आफैमा करीब ६ र ५ प्रतिशतको मतान्तरको वेगले अधोगतीतर्फ अलोकप्रिय हुँदै गइरहेको देखाउँछ।
यस किसिमको पतनको भयबाट कम्युनिष्ट पार्टीलाई जोगाउन, अन्य सुचांकहरु यथावत रहेको अवस्थामा कम्सेकम आउने ताजा जनादेशमा नयाँ उमेद्धवार चयन गर्न सक्नु एक विकल्प हुन सक्दथ्यो, जुन कार्यभार रवीन्द्र अधिकारीको उमेद्धवारी छनोटले पुरा गर्यो। २०६४, २०७० र २०७४ सालमा भएका चुनावहरुमा कम्युनिष्टको तर्फबाट उमेद्धवारी दिएका रवीन्द्र अधिकारीले खसेको मतको क्रमस ः ३६.४, ४२.२ र ५६.२ प्रतिशत मत प्राप्त गरी तीनवटै चुनावमा विजय हासिल गरी इतिहास रचेका थिए। तथ्यांक विश्लेषणको हिसाबले यो परिणाम करीब ६ र १२ प्रतिशतको मतान्तरको गतिमा बढोत्तरी हुँदै अगाडि बढेको देखिनु कम्युनिष्टहरुका लागि सुखद भविष्यको सुचक पनि थियो। यसमा अझ माओवादी कम्युनिष्टले पाएको मत मिलाउदा हुनआउने तथ्यांक क्रमसः ६६.१, ५६.५ र ५६.२ प्रतिशतको अग्रतामा देखिन्छ। यसको अर्थ दशक समया अवधिको अबिच्छिन्न ताजा जनमतमा पनि आधा भन्दा बढी हिस्सामा बिना उतार–चढाव राज छाई रहनुले यस क्षेत्रका बासिन्दाको कम्युनिष्ट लोकप्रियतामा कुनै सन्देह रहँदैन।
जनसंख्या र भूगोलका आधारमा विभाजन गरिएको निर्वाचन क्षेत्रहरु मध्येको एक, कास्की–२ को यसपालीको उप–निर्वाचनका लागि कुल मतदाता संख्या ७१,८७१ रहेको थियो। भूगोलका हिसाबले पोखरा महानगरका ११ वडाहरु ः ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस निर्वाचन क्षेत्रमा पर्दछन, जसमध्ये ः बाटुलेचौर, मौजा, अर्मला, गुफा, र्यालेचौर, दिप, महेन्द्रपुल, गैरापाटन, फूलबारी, भलाम, रामबजार, नयाँबजार, बसपार्क, सिमलचौर, मासबार, रत्नचोक, पार्दी बिरौटा, छोरेपाटन, महतगौंडा, मट्टीखान, कृस्ती, बयली, फोक्सिंशिवालय, निर्मलपोखरी, भरतपोखरी, बागमारा, भोटेपोखरी आदि रहेका छन्। सिमित ग्रामिण इलाकाका बाबजुद भौगोलीक हिसाबले पोखराको घना–जनसंख्या भएका स्थलहरु र सुगमताका हिसाबले अतिसम्पन्न, हुनेखाने, घरानियाँ, सुविधाभोगी मानिसहरु बसोबास गर्ने, यो बजारीया जनजीवन बाहुल्य रहेकाले पनि सामान्यतया कांग्रेसीजन बाहुल्य हुन सक्ने अनुमानलाई यसअघि नै रवीन्द्र अधिकारीले ८,५६२ को मतान्तरमा विजय ह्याटीक गरी देखाएका थिए।
जसमा बढी जनसंख्या भएका वडाहरुः १६, १७ र १५ कम्युनिष्ट बाहुल्य भएको मानिन्छ भने ४, ८, ९ र ११ वडाहरु कांग्रेस बाहुल्य भएको मानिन्छ। तर, यस पटकको मतपरिणाम यस्तो देखियो कि करीब तीनरचार सय अग्रमतका साथ वडा नं. ४ र ११ मात्रै कांग्रेस बाहुल्य देखियो भने एधार मध्ये बाँकी सबै वडामा कम्युनिष्टहरुको वर्चश्व रह्यो। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट १३२५ मत बदर भएकोमा यसपाली घटेर ६०० मात्र हुनु अर्को सफलता हो। उतिखेर नेकपाको दुईवटा चुनाव चिन्ह (सूर्य र हसियाँ–हथौडा) भएकोले पनि बढिमत बदर भएको हुन सक्दछ। मतदाता शिक्षाको प्रभावकारीता र नेकपाको एउटा मात्र चुनाव चिन्ह हुनुले पनि अघिल्लो पटकको चुनावमा भन्दा यसपटक कमबदर भएको हुनसक्ने अनुमान गरिएको छ।
यस पटकको उप–निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नयाँ युवापुस्ताका बिचमा त्यति परिचीत हुन नसक्नु भएका तर निष्ठावान इमान्दार पुरानो कार्यकर्ता खेमराज पौडेलका विरुद्ध नेकपाको तर्फबाट बौद्धिक युवा महिला नेतृ विद्या भट्टराई चुनावी मैदानमा थिए। कांग्रेसमा पौडेलको उमेद्धवारीले एक अर्थमा निष्ठावान र पुरानो पंक्तिका कार्यकर्ताको मनोबल बढाउने काम गरेको थियो भने अर्को अर्थमा कांग्रेस भित्र मौलाएको अन्तरघातको संस्कृति निस्तेज हुनसक्ने अनुमान पनि गरिएको थियो। यता कम्युनिष्टहरुमा भट्टराईको उमेद्धवारीलेः पाँच वर्षका लागि जनताले दिएको अभिमतको निरन्तरता, राष्ट्र निर्माणमा बौद्धिक कसरत गरिने स्थल (विश्वविद्यालय)को प्राज्ञीक अनुभवको भरपुर उपयोग, पिलन्धारे र पिल्सीएका नेपाली महिलाहरुको आँशु पुछ्न सक्ने एउटा सशक्त युवा महिला नेतृ, कतिपय औठेछाप लगाउने हाम्रा सांसदहरुको बीचमा फराकिलो बौद्धिक क्षितिज भएको शिक्षित स्नातकोत्तर, संवैधानिक हिसाबले पनि समावेशी चरित्र दखिनु पर्ने हाम्रो प्रतिनिधि सभामा एउटा सहनशील महिला व्यक्तित्व, ‘संवृद्ध नेपाल सुखि नेपाली’ सरकारको अभियानका एउटा अभियान्ता स्व.अधिकारीको मन बुझेको मान्छे, विकास प्रेमीको छबी बनाएका स्व.अधिकारीको बाँकी सपना पुरा गर्ने भरपर्दो सारथी, संविधानतः समावेशी हाम्रो लोकतन्त्रमा एउटा कर्मशील उर्जावान महिलाको सक्रिय सहभागिता, अरुहरु (व्यक्ति वा दल)लाई न गाली न आरोप जस्ता प्रदुषण मुक्त संस्कारको थालनी, धाराप्रवाह जनताको सेवक बन्ने अठोटपूर्ण अभिव्यक्ति, जनहितका लागि आफ्नो सपनाको पुष्ट्याई गर्न सक्ने सक्षम र सभ्य नागरिकको पर्यायका रुपमा अनुकुल स्थितिको सृजना गरिरहेको प्रष्ट देखिन्थ्यो।
यसपटकको कास्की २ को उप निर्वाचनमा अघिल्लो चुनावको तुलनामा करीब पाँच हजार मत कम खसि रहदाँ समेत सूर्य र रुख बीचको फराकिलो मतान्तर सदा झै करिब साढे आठ हजारको हाराहारीमा नै भइरहनुले तत्कालका लागि रुख लोकप्रीय हुन नसकेको प्रष्ट हुन्छ। यसको अलावा सूर्य र रुख बाहेकका सबै पार्टीको जमानत समेत जफत हुन सक्ने स्थितिले के संकेत गर्दछ भने आउदो केही वर्षसम्मका लागि अन्य वैकल्पिक राजनीतिक शक्तिको भविष्य यस क्षेत्रमा नरहेको प्रष्ट देखिन्छ। अझ उल्लेख्य कुरा त के छ भने काँग्रेसको साख बचाउन नसकिएको भनि वडा नं. ९ का पार्टी अध्यक्षले नैतिकताका आधारमा दिएको राजिनामाले बजारीया वस्तिको केन्द्रीय भागमा समेत कम्युनिष्ट शक्ति लोकप्रिय हुँदै गइरहेको थप पुष्टि भएको छ। यस क्षेत्रमा पर्ने महानगरपालिकाका एघार वडाहरु मध्ये नौ वडाहरुमा सूर्यको वर्चश्व देखिनुले पनि उपरोक्त कथनको पुष्टी प्रमाणित गरेको छ। त्यसैमा पनि सबै भन्दा बढीको मतान्तर २५४३ का साथ वडा नं. २१ (फोक्सिंडाँडा) सदाझै कम्युनिष्टहरुको भोट बैंकको रुपमा अबिरल आफ्नो पहिचान स्थापित गर्न सफल रह्यो। डाँडाका कतिपय मतदान केन्द्रमा रुखले बुथ एजेण्टसम्म पाउन मुस्किल पर्ने स्थिति रह्यो।
यो क्षेत्रकै कम्युनिष्ट जननीको रुपमा डाँडोले हालसम्म युगीन पहिचान बोक्दै आइरहेको र कम्युनिष्ट चेतनाको फैलावटमा पनि थप उचाइ हासिल गरिरहेको यही तथ्यले प्रमाणित गरेको छ। त्यसैगरि यही डाँडाका वडा नं. ३३, रुख बाहुल्य रहेको भरत पोखरीमा पनि ११६१ मतले सूर्यनै अगाडि रहनुको अर्थ अन्ततः डाँडानै लाल–किल्लामय बनिरहेको झल्को दिइरहेको छ। धन्य १ डाँडोका वडाबासीहरु। यी यावत सबलताहरुको संघारमा अकल्पनिय घटनाक्रमले हामी बीचमा ल्याइपुर्याएको, आधा आकाश उठाउने महिला प्रतिनिधि पात्रलाई खुल्ला आकाश कि जननीका रुपमा राष्ट्र निर्माण गर्ने गहन अभिभाराका साथ हामी सबैको विकास–निर्माणको सारथी, यही डाँडोबासी क.भट्टराईका लागि स्थिति निकै सहज हुन सक्ने पूर्वानुमान आज सत्य साबित भएको छ। विजयको लागि बधाई एवं सफल कार्यकालको शुभकामना क. विद्या भट्टराईलाई।
(लेखक पृ.ना.क्या.पोखरामा भौतिकशास्त्र विषयका प्रध्यापक हुनुहुन्छ। तथ्यांकको श्रोतः निर्वाचन आयोगको कार्यालय, पोखरा)



लाेकपाटी न्यूज

