काठमाडौं, २९ मंसिर। प्रदेश र स्थानीय तहमा खटाइएका अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। कर्मचारी समायोजनका क्रममा संघमा समायोजनमा परेर पनि प्रदेश र स्थानीय तहमा खटाइएका अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन्। प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीहरु काठमाडौं आएर धर्ना दिएका हुन्।
संघमा खाली ठाउँ नरहेको भन्दै प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीहरुले धर्ना दिएका हुन्। गत मंसिर २५ गते लोकसेवा आयोगले सामान्य प्रशासन समूहमा ५ सय ६० अधिकृत मागेपछि उनीहरुले संघमै समायोजनका लागि धर्ना दिएका हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटासँगको भेटमा सो बारेमा संसदको राज्यव्यवस्था समितिमा राखेर छलफल गर्न सकिने बताएको शाखा अधिकृत कृष्ण पराजुलीले जानकारी दिए। तर मन्त्रालयका प्रवक्ता भूपाल बरालले अहिलेको कानून अनुसार उनीहरुको माग पूरा नहुने र त्यसका लागि कानून संसोधान आवश्यक रहेको बताए ।
कर्मचारीहरुले निकालेको विज्ञप्तीमा उनीहरुले यसबारे मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्।विज्ञप्तीमा भनिएको छ ‘यति धेरै दरबन्दी संघमै खाली थियो भने हाम्रो रोजाई र प्राथमिकता विपरित किन प्रदेश र स्थानीय तहमा समायोेजन गरियो ? यही परिस्थितिमा भर्ना खोल्ने हो भने हामी भन्दा जुनियर साथीहरुको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था आउने र यसबाट हाम्रो मनोबल खस्कने अवस्था सिर्जना हुन्छ। यसबाट समग्रमा निजामति सेवाको प्रणालीमा असर पर्छ। हामीलाई संघमा दरबन्दी व्यवस्थापन गरेपछि मात्रै बाँकी दरबन्दीमा लोकसेवा आयोगमार्फत् भर्ना खोल्नु आवश्यक छ ।’



लाेकपाटी न्यूज

