काठमाडौं, ४ मंसिर। मन्त्रिमण्डल हेरफेरको बारेमा निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले केही मन्त्रीलाई विदा गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर तथा नयाँ मन्त्रीको सिफारिसको निर्णय गर्ने छ।
मन्त्रिमण्डल हेरफेर बारे नेकपा सचिवाल बैठकले अनुमोदन गरेपछि आजै नयाँ मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ दिलाउने तयारी रहेको छ। मन्त्रिमण्डलमा हेरफेर गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान दुई घन्टा भन्दा धेरै बेर छलफल गरेका थिए। त्यस लगत्तै उनीहरु शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्रिमण्डल हेरफेरबारे परामर्श गरेपछि अहिले नेकपाको सचिवालय बैठक जारी छ। मन्त्रिमण्डलको हेरफेर हुने भएपछि शीतल निवासमा मन्त्रीहरुको शपथको तयारी गरिएको छ।
शपथको तयारीका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालयलाई अनौपचारिक रुपमा जानकारी गराएका छन्। राष्ट्रपति कार्यालय श्रोतका अनुसार साँझ पाँच बजे नवनियुक्त मन्त्रीहरुको शपथको तयारी भएको भएपनि औपचारिक जानकारी भने प्राप्त नभएको बतायाे।



लाेकपाटी न्यूज

