- रमेश मल्ल
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो। पार्टीको सम्पूर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो। पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिमसहित पश्चिम नेपालबाट क्रमशः पूर्वतिरका कार्यक्रममा सरिक हुँदै हुनुहुन्थ्यो। समाजवादी पार्टी अफ बङ्गलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवराज चौलागाई र म ढाका पुगेका थियौं।
साँझ अबेरसम्मको कार्यक्रमको चापले बिहान निद्रा ढिला खुल्यो। काठमाडौंबाट भतिज लेखराज शाहको फोनले ब्युँझायो। घडीमा सात बजेको थियो। उनले प्रकाश दाहाललाई हृदयघात भएको र नर्भिक हस्पिटलमा पुर्याइएको खबर सुनाए।
म आत्तिएँ। युवराज चौलागाईलाई उठाएँ र खबर सुनाएँ। उहाँलाई पनि मलाईझैं यो खबर पत्याउन कठिन भयो। काठमाडौंमा अरु श्रोतहरुबाट खबरको आधिकारिकता बुझ्ने प्रयास थाल्यौं। क्षणभरमै फेसबुकका भित्ताहरु रंगिइसकेका थिए। अनलाइन र टेलिभिजनको ब्रेकिङ न्युजमा प्रकाश दाहाल रहेनन् भन्ने आए। आफूलाई सम्हाल्न गाह्रो भयो। बाथरुम पसें। युवराजजी पनि बोल्न नसकेर एकोहोरो बन्नुभएको थियो।
फेसबुकमा एउटा स्टाटस लेखें। शब्द धेरै व्यक्त गर्न सकिनँ। आयोजकलाई भनेर काठमाडौं फिर्ता हुने टिकट खोज्न लगायौं, भेटिएन। आफैंले काठमाडौंमा सम्पर्क गर्यौं, सम्भव भएन। एसपीबीका कमरेडहरुको योजना अनुसार उक्त औपचारिक कार्यक्रममै कमरेड प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरियो।
हामी गम्भीर शोक र पीडासहित भौतिक रुपमा ढाकाको कार्यक्रम हलमा थियौं। तर, सम्पूर्ण दृष्टि नर्भिक हस्पिटल, पेरिसडाँडा र पशुपति आर्यघाटमा केन्द्रित भइरह्यो। साथीहरु शोकसागरको दृश्य लाइभ गरिरहेका थिए, मोबाइलको स्क्रिनमा हेर्न कठिन थियो। ढाकाको कार्यक्रम हलमा बगेको शोकाँशु आज सम्झँदा पनि सम्हालिन गाह्रो हुन्छ।
हामीमाझबाट प्रिय कमरेड साकार दाहाल प्रकाश भौतिक रूपमा विदा भएको पनि २ वर्ष पूरा भइसकेको छ। उनको अनुपस्थितिमा आज जति पनि राजनीतिक परिवर्तन भएका छन्। उनको यो सपना थियो, जुन उनले आफ्नै आँखा अगाडि देख्न पाएनन्। सायद आज प्रकाश भएको भए, पार्टी एकताको यो प्रक्रियाले अलि बढी गति लिन्थ्यो होला। नेताहरु बीचमा सम्वादको वातावरण अझ बढी सहज र सरल हुन्थ्यो होला। पार्टी कार्यालय र अध्यक्षको सचिवालयको काममा बढी सहज र सरल हुन्थ्यो होला।
नेतृत्वको पारिवारिक तनावको त कुरै नगरौं, एक सबल योद्धा, जिम्मेवार सदस्य, एक जिम्मेवार बाबु, श्रीमान, पारिवारिक दायित्व काँधमा बोकेको छोरो, भातृत्वको भावना र मातृत्वको मुटुको टुक्रा जसको अभावमा अध्यक्षको परिवार कसरी गुज्रिरहेको छ, मसँग व्यक्त गर्ने कुनै शब्द छैन। यो क्षति वर्तमानको भोगाइ मात्र होइन, कम्युनिष्ट आन्दोलनमा भविश्यको यात्रामा भएको एक महशुस गर्न सकिने धक्का हो।
प्रकाशले मलाई सम्बोधन गर्दा सधैं दाइ भनेर शुरु गर्थे। दाइ तपाई कता हो ? के छ सिंहदरबारतिर ? बुवाले कुरा गर्न खोज्नुभएको छ। विद्यार्थीको के छ ? निर्वाचनमा त्यहाँ के हुन्छ ? ल बुवासँग कुरा गर्नुस् रे। दाइ ल आई हाल्नुस त, बुवाले खोज्नुभएको छ। लगायतका विभिन्न सम्वाद मात्र होइन, “दाइ अब हाम्रो अगाडि अन्तिम अवसर छ कि गर या मर। यसपालि त जस्तोसुकै चुनौती सामना गरेर हामी सफल हुनैपर्छ। यो पार्टीका लागि, नेतृत्वका लागि र हाम्रो वर्गका लागि पुनः लयमा फर्कने अवसर हुन सक्छ। व्यक्तिगत चाहनाहरुलाई फेरि एकपटक सुलीमा नचढाई सफल बनिँदैन दाइ। आदि इत्यादि।
एक परिपक्व राजनीतिक कार्यकर्ताको रुपमा उनको प्रस्तुति कम मूल्यवान थिएन। विद्यार्थी संगठनको मूल नेतृत्वको टिममा आएपछि र मूलतः संगठनको मुख्य नेतृत्व सम्हालेपछि अध्यक्ष र उहाँको सचिवालयसँगको सम्वन्धमा बढी निकट भएँ।
विद्यार्थी मोर्चाको अध्यक्षबाट विदाइ भएको सातौं दिन मात्र बितेको थियो, कमरेड अध्यक्ष देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुग्नुभयो। प्रधानमन्त्रीको यो चुनौतीपूर्ण यात्राको एक सदस्य भएर जिम्मेवारी सम्हाल्ने अवसरकै सिलसिलामा कमरेड प्रकाशसँग बढी निकट रहेर काम गर्ने अवसर जुटेको हो।
कमरेड प्रकाश सामान्य परिवारमा जन्मे। संघर्षपूर्ण आँधीमय दिनहरू छिचोल्दै आफूलाई आमूल परिवर्तनको क्रान्तिकारी अभियानको सारथि बनाए। सर्वहारा हेडक्वार्टरको रक्षार्थ व्यक्तिगत जीवनलाई तिलाञ्जली दिए। पार्टीभित्र र बाहिरका सबैखाले गलत प्रवृत्तिसँग चनाखो भएर संर्घषमा खरो उत्रिए।
मान्छे हुनुको नाता उनले कतिपय मानविय कमजोरीका बाबजुद ती कमजोरीबाट सबक सिक्दै अघि बढेका थिए। जतिबेला उनी हाम्राबीचबाट अस्ताए, म दाबाका साथ भन्न सक्छु, उनी सामान्य मान्छे मात्र थिएनन्। उनीसँग जीवन र जगतलाई बुझ्ने र बदल्ने नयाँ चेत र जाँगर थियो। त्यसलाई समायोजन गर्ने कौशल थियो। समाजका विभिन्न अवयवहरुसँगको उनको घुलनशीलता मूलतः युवाहरुबीचमा उनको उपस्थिति एक उदीयमान विम्ब बनेर खडा हुँदै थियो। उनी अध्यक्षको पारिवारिक जीवनमा मात्र होइन, राजनीतिक जीवनमा समेत सारथीका रुपमा खडा हुँदै थिए। उनका जीवनका झाँकीबारे यहाँ धेरै भनिरहनु पर्दैन होला।
जब म प्रधानमन्त्री प्रचण्डको टीममा रहेर काम गरिरहेको थिएँ। प्रधानमन्त्री दोश्रोपटक भए पनि हाम्रो टीम भने पहिलो पटकको र काँचै थियो। हामी सबै सिकारु नै थियौं। हामीले सहज कार्यविभाजन गर्यौं। देशलाई नयाँ सन्देश दिनु थियो, विश्वासको। राजनीतिका थुप्रै प्रश्नहरुको काम गरेर उत्तर दिनु थियो। कार्यविभाजन अनुसारको काम गर्ने मियो प्रकाश नै बन्न पुगे। रातदिन नभनी प्रधानमन्त्रीसँग साथमा रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्वन्धका मुद्दाहरु डिल गर्नुपर्ने काम चानचुने थिएन। सायद प्रकाशजी नभएको भए व्यवहारिक कोणबाट हेर्दा यो सम्भव थिएन। उनले नै यो सब भूमिका पूरा गरे।
विभिन्न कवच लिएर गलत मनसायका साथ प्रधानमन्त्री कार्यालय वा निवासमा छिर्ने मान्छेको कमी थिएन। त्यसबाट प्रधानमन्त्री र उनको टिमलाई बचाउने कुरा पनि चानचुने विषय थिएन। आफ्नै नजिकका देखि पहुँचवाला राजनीतिक नेतृत्व किन नहुन्, त्यस्तो मनसाय छ भन्ने आँकलन गरी ढोकाबन्दको नीति अख्तियार गर्ने कुरामा प्रकाश कठोर बन्न तयार भए।
प्रकाश आफैं भन्थे– बिचौलियाको बिगबिगी भएको आजको समाजमा बिचौलियाहरु पहुँचवाला नेतृत्व र आफन्तको फुर्को समातेर भित्र पस्न खोज्छन्, चनाखो हुनुपर्छ, यिनले हामीलाई डुबाउँछन्। यो उनको राजनीतिक परिपक्वताको द्योतक थियो।
पत्रकारिता क्षेत्र कुनै बेला प्रकाशको कटू आलोचक थियो। प्रधानमन्त्री कार्यालयमा हुँदा धेरैले त्यो सम्बन्ध प्रधानमन्त्रीका लागि बाधा बन्छ कि भन्ने आशंका गरेका थिए। तर, हामीले धेरै समय कुर्न परेन। उनको सहज सम्बन्ध सञ्चालनको प्लेटफर्ममा देशका ठूला मिडियादेखि श्रमजीवी पत्रकारहरुको समूह केन्द्रित भई रचनात्मक सहयोगको मोर्चामा उभियो।
सत्तापक्षदेखि प्रतिपक्षसम्मका उच्चस्तरीय नेतृत्वदेखि देशका विद्दत वर्गको सहज सूचना आदान–प्रदान र सम्बन्ध सञ्चालनमा उनी धेरै काबिल देखिए। परराष्ट्र सम्वन्ध सञ्चालनमा पनि उनले आफ्ना बुबा र देशको प्रधानमन्त्रीलाई राम्रो साथ र हात दिए। तसर्थ मैले कमरेड प्रकाश दाहालका बारेमा मेरो पुस्तक छिमेक यात्रामा उल्लेख गरेको छु कि, “उनी नभएको भए हाम्रो सचिवालय र प्रधानमन्त्रीको सफलतामा धेरै ठूलो अभाव रहन्थ्यो होला।”
आज उनी छैनन् र हामीलाई त्यही अभाव खड्किइरहेको छ। बुवाको सहयोगी मात्र होइन, सल्लाहकारको भूमिकामा उठिसकेको एक जिम्मेवार कमरेडको अभाव पार्टी अध्यक्षकोमा पक्कै होला। यसलाई पूरा गर्न त्यहाँ भएका साथीहरु सफल हुनुहुनेछ। उनका योगदानबाट हामीले सिक्नेछौं। यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
(साभार अनलाइन खबरबाट।)



लाेकपाटी न्यूज

