झापामा बन्दै एसियाकै नमुना डिज्नेल्याण्ड

disney-land-jhapa 1
लाेकपाटी न्यूज

बिर्तामोड, २ मंसिर । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ। फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ । दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाउँन लागेको पार्कका लगानीकर्ता मध्येका एक अजेयराज सुमार्गीले जानकारी दिए।

चर्चित उद्योगी तथा व्यवसायी सुमार्गीका अनुसार दमकको वडा नम्बर ८ बालुवाटारमा १२२ बिगाहा क्षेत्रफलमा फन पार्क बन्नेछ। पार्क निर्माण गर्ने समूहमा व्यवसायी सुमार्गीका साथै दमकका स्थानीय प्रतिष्ठित नेता रहेका छन्। दमकका अग्रज नेताहरु गगन पुरी, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, प्रदेशका कानून मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता गणेश बस्नेत लगायतको लगानीमा पार्क बन्न लागेको हो। नेताहरुले भने पार्कमा रकम लगानी नगरेर आफ्नो तथा आफन्तको नाममा रहेको जग्गा दिएर लगानी गर्न लागेका हुन्।

‘यो पार्क अढाई वर्षमा बनिसक्नेछ’ व्यवसायी सुमार्गीले भने । उनका अनुसार पार्क निर्माणमा प्रदेश सरकारले पनि निश्चित प्रतिशत रकम लगानी गर्नेछ। पिपिपी मोडलमा सरकारी र निजी लगानीमा बन्न लागेको यो पहिलो फन पार्क हो। यो पार्क निर्माणले नेपालमा पिपिपी मोडलको सफल र उदाहरणीय काम हुने सुमार्गीले बताए। ‘विश्व चर्चित डिज्नेल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ ।

पार्क अवलोकनका लागि भारत तथा दक्षिण एसियाका अन्य देशहरुबाट लाखौं पर्यटक भित्राउने हाम्रो लक्ष्य छ’ सुमार्गीले भने। फन पार्क बनेपछि त्यसले झापा जिल्लाका साथै सम्पूर्ण एक नम्बर प्रदेशको अर्थतन्त्रलाई धेरै माथि उठाउने छ । पार्कको मोडल हेर्न प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीका स्वकीय सचिव, नेता गगन पुरी र निर्माण व्यवसायी गणेश बस्नेत र उद्योगी अजेयराज सुमार्गीले सिंगापुर, दुबई तथा मलेसियाको भ्रमण गरिसोका छन्। ‘हामी विश्व स्तरीय फन पार्क बनाउँदैछौं’ सुमार्गीले भने।

पार्क निर्माणको संयोजन केन्द्रीय स्तरमा सुमार्गी र इन्द्र भण्डारीले तथा स्थानीय गगन पुरी र देवेन्द्र दाहालले गरिरहेका छन्। पार्क निर्माण सम्बन्धी छलफल गर्न तथा निर्माण स्थल अवलोकन गर्न उद्योगी सुमार्गी दुई पटक दमक पुगीसकेका छन्। स्थलगत अवलोकनमा पार्क निर्माण गर्न उपयुक्त देखिएपछि पार्कको डिपिआर तिब्र गतिमा बनिरहेको समाजसेवी सुमार्गीले बताए।

पार्कको शिलान्यास नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको छ। ‘हामी चाँडै नै शिलान्यासको अवस्थामा पुग्दैछौं, आउँदो माघ महिनाभित्र शिलान्यास गर्नेछौं। यसका लागि झापासहित सम्पूर्ण पूवाञ्चलका जनताको साथ र सहयोगको अपेक्षा गर्दछौं’ सुमार्गीले भने।

disney-land-jhapa (3)disney-land-jhapa (1)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्