पर्वत, १ मंसिर। पार्टी एकीकरणपछि नेकपा पर्वतको दोस्रो पूर्ण बैठक शनिबार कुश्मामा सम्पन्न भएको छ। बैठकले जिल्लाका ६१ वटै वडाका वडा ईञ्चार्ज टुंगो लगाएको हो। दुई नगरपालिका र पाँच गाउँपालिकाका सबै वडा ईञ्चार्जहरुको टुंगो लगाएको हो।
त्यसैगरी कुश्मा नगर कमिटिको सचिवमा मिनप्रसाद श्रेष्ठलाई मनोनित गरिएको छ। यस अघिका अध्यक्ष ढाकाराम सुवेदीको ब्रेन ट्यूमरका कारण गत महिना मृत्यु भएपछि उक्त पद खाली रहेको थियो। बैठकले सुवेदीको निधन भएकोमा श्रद्धाञ्जली व्यक्तसमेत गरेको छ।
त्यसैगरी बैठकले वडा अध्यक्ष चयन हुन् नसकेका ११ वटा वडामा अध्यक्षसमेत चयन गरेको छ। भने ४२ सदस्यीय सचिवालयको टुंगो लगाएको नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिए। उनका अनुसार सचिवालयमा १ सदस्य मनोनित गर्न बाँकी रहेको छ। श्रोतका अनुसार मोदी गाउँपालिकाका प्रवक्ता तथा युवा संघका केन्द्रीय सदस्य बिमल लामिछाने, ईश्वर गिरी र शिवलाल सार्कीलाई सचिवालयमा मनोनित गरिएको छ। सो अवसरमा स्थानीय तहका संयोजकहरुले रिपोर्टिङसमेत गरेका थिए।
बैठकमा बोल्दै नेकपा प्रदेश कमिटि सचिव गोविन्द नेपालीले सरकार यतिबेला राष्ट्रियताको रक्षाका लागि सक्रिय रुपमा लागेको बताउँदै तीनै तहका सरकारलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गरे। उनले अहिलेको सरकारले मुलुकमा राम्रो काम गर्न सकेर जनताको मत जीत्न सकेमा लामो समय अरु दलको पालो नआउने बताउँदै सरकारलाई सफल बनाउन नकारात्मक कुरालाई चिर्दै जानुपर्ने बताए। उनले हरेक तहका कमिटिहरुलाई क्रियाशिल र सक्रिय बनाउन पनि आग्रह गरे।
कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य तथा पर्वतका ईञ्चार्ज गुप्तबहादुर हमालले पार्टीको सबै तहले पूर्णता पाइसकेको बताउँदै अब काम गरेर देखाउन आग्रह गरे। उनले सरकारका सकारात्मक कामको तल्लो तहसम्म प्रचार गर्न पनि आग्रह गरे। सो अवसरमा नेकपा जिल्ला अध्यक्ष पदम गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश कमिटि सदस्यलगायतले धारणा राखेका थिए।



लाेकपाटी न्यूज

