वर्गसङ्घर्षमा आधारित समाजमा निष्पक्ष सामाजिक दर्शनको अस्तित्व हुँदैन। समस्त नोकरशाही र उदारवादी दर्शनले शोषण प्रथाको नै हर प्रकारले रक्षा गर्दछ, मार्क्सवादले चाहिँ यस प्रथाको विरुद्ध कठोर संघर्ष। मार्क्सको सिद्धान्त सर्वशक्तिमान छ, किनकि यो सत्य छ, यो सम्पूर्ण र सुसंगत छ। यसले मानिसहरुलाई सम्बद्ध विचारधारा प्रदान गरेको छ। कुनै पनि अन्धविश्वास, कुनै पनि प्रतिक्रियावाद तथा कुनै पनि पूँजीवादी उत्पीडनको यो घोर विरोधी छ।
यो विचारधारा जर्मन दर्शनशास्त्र, बेलायती अर्थशस्त्र र फ्रान्सेली समाजवादको रुपमा उन्नाइसौं शताब्दीमा मानवजातिले आर्जन गरेको उत्कृष्ट ज्ञानको वैधानिक उत्तराधिकारी हो। मार्क्सवादका तीन स्रोत र तीन संघटक अंगहरुबारे संक्षेपमा उल्लेख गरेका छौं।
मार्क्सवादको दर्शन हो – भौतिकवाद। यूरोपको सम्पूर्ण नवीन इतिहासको अवधिमा विशेषतः अठारौं शताब्दीको अन्त्यमा फ्रान्समा, जहाँ हर प्रकारको मध्ययुगीन अवशेषहरुको विरुद्ध, विचारधारा र संस्थाहरुमा भूदास प्रथाको विरुद्ध निर्णायक संग्राम चालु थियो, भौतिकवाद मात्र एउटा यस्तो दर्शन सावित भयो, जुन प्राकृतिक विज्ञानको शिक्षानुकूल र अन्धविश्वास, अशिक्षाको प्रतिकूल थियो। तसर्थ, प्रजातन्त्रका शत्रुहरुले भौतिकवादको ‘खण्डन’ गर्नमा, मुलोच्छेदन गर्नमा, झूठो आरोप लगाउनमा समस्त शक्ति लगाएका थिए र दार्शनिक अध्यात्मवादका विभिन्न रुपहरुको समर्थन गरेका थिए, जसद्वारा सदैव धर्मको नै रक्षा र पुष्टि हुन सक्थ्यो।
मार्क्स र एंगेल्सले दार्शनिक भौतिकवादको दृढतापूर्वक समर्थन गरेका थिए। उनीहरुले यस आधारबाट हुने कुनै पनि विचलनका गम्भीर त्रुटीहरुबारे बारम्बार व्याख्या गरेका थिए। उनीहरुको विचार स्पष्ट एवं विस्तृत रुपमा एंगेल्सका कृतिहरु ‘लुडविग फायरबाख तथा ‘ड्युहरिंग मत–खण्डन’मा वर्णित छ, जो ‘कम्युनिष्ट घोषणापत्र’झैं प्रत्येक चेतनशील मजदुरको प्रियतम् पुस्तक हुन्।
तर, मार्क्स अठारौं शताब्दीको भौतिकवादमा मात्रै सीमित रहेनन्। उनले दर्शनशास्त्रलाई अझ विकसित तुल्याए। उनले त्यसलाई जर्मन आदर्शवादी दर्शनका उपलब्धिहरुद्वारा, विशेषतः हेगेलको प्रणालीद्वारा समृद्ध तुल्याए, जसद्वारा नै फायरबाखको भौतिकवादको अभ्युत्थान भएको थियो। यी उपलब्धिहरुमध्ये विशेष उल्लेखनीय छ – द्वन्द्ववाद अर्थात यथासम्भवपूर्ण, गहन र एकोहोरोपनाबाट मुक्त विकाससम्बन्धी शिक्षा, मानव ज्ञानको सापेक्षतासम्बन्धी शिक्षा, जसले हामीलाई सतत् विकासवान जडवस्तुको प्रतिविम्ब प्रदान गर्दछ। पुरानो सडिसकेको अध्यात्मवादलाई ‘नयाँ’ रुप दिने बुर्जुवा दार्शनिकहरुको शिक्षाको बावजूद, रेडियम, इलेक्ट्रोन, तत्वहरुको रुपान्तरणजस्ता विज्ञानका नवीनतम आविश्कारहरुले मार्क्सको द्वन्द्वात्मक भौतिकवादको दृढतापूर्वक पुष्टि गरे।
भौतिकवादी दर्शनलाई गहन र विकसित तुल्याउँदै मार्क्सले त्यसलाई अन्तिम रुप दिए र त्यसको प्रकृति–ज्ञानलाई मानव समाजको ज्ञानमा पनि प्रयोग गरे। मार्क्सको ऐतिहासिक भौतिकवाद वैज्ञानिक विचारको महानतम् उपलब्धि थियो। इतिहाससम्बन्धी दृष्टिकोणमा अहिलेसम्म रहेका अराजकता र स्वेच्छाचारिता आश्चर्यजनक रुपले सामञ्जस्यपूर्ण र अखण्डनीय वैज्ञानिक सिद्धान्तमा बदलिए, जसद्वारा कसरी सामाजिक जीवनको कुनै एक व्यवस्था, उत्पादन शक्तिमा वृद्धिको फलस्वरुप अर्को, अझ उच्चस्तरको व्यवस्थामा विकसित हुन्छ भन्ने सिद्ध भयो, जसरी सामन्तवादबाट पूँजीवादको जन्म हुने गर्छ।
जस्तो मानव ज्ञानले उसबाट स्वतन्त्र रहेको प्रकृतिको अस्तित्वलाई अर्थात् विकासशील वस्तुलाई प्रतिविम्बित गर्दछ, ठीक त्यस्तै मानिसको सामाजिक ज्ञान (अर्थात् विभिन्न विचारधाराहरु र दार्शनिक, धार्मिक, राजनीतिक शिक्षा इत्यादि) ले समाजको आर्थिक व्यवस्थालाई प्रतिविम्बित गर्दछ। राजनीतिक संस्थाहरु आर्थिक आधारमा खडा हुने भवन हुन्। उदाहरणतः आधुनिक यूरोपेली राष्ट्रहरुका विभिन्न राजनीतिक रुपहरुले सर्वहारावर्गमाथि बुर्जुवाहरुको प्रभुत्वलाई दरिलो तुल्याउन टेवा दिएका छन्।
आर्थिक व्यवस्था त्यो जग हो, जसमा राजनीतिक व्यवस्था आधारित हुन्छ भन्ने कुरा स्वीकार गर्दै मार्क्सले यस आर्थिक व्यवस्थाको अध्ययनमा सबैभन्दा बढी ध्यान दिएका थिए। मार्क्सको प्रमुख कृति ‘पूँजी’मा वर्तमान अर्थात् पूँजीवादी समाजको आर्थिक प्रणालीको विवेचना गरिएको छ। यसमा आर्थिक आधारमा कसरी राज्यको उपरिसंरचना खडा हुन्छ भन्ने तथ्य वैज्ञानिक ढंगले प्रस्तुत गरिएको छ।
मार्क्सभन्दा पहिले शास्त्रीय राजनीतिक अर्थशास्त्रको अभ्युदय सबैभन्दा उन्नत पूँजीवादी राष्ट्र बेलायतमा भएको थियो। एडम स्मिथ र डेभिड रिकार्डोले आर्थिक प्रणालीको अनुसन्धान गर्दै मूल्यसम्बन्धी श्रम सिद्धान्तको प्रतिपादन गरेका थिए। मार्क्सले उनीहरुको कार्यलाई अगाडि बढाए। उनले के प्रमाणित गरे भने, प्रत्येक वस्तुको मूल्य त्यस वस्तुको उत्पादनमा खर्च गरिने आवश्यक सामाजिक श्रम अवधिको परिमाण बराबर हुन्छ।
जहाँ बुर्जुवा अर्थशास्त्रीहरुले मात्र पदार्थहरुको सम्बन्ध (वस्तु विनिमय) देखेका थिए, त्यहाँ मार्क्सले मानिसहरुका बीचको सम्बन्धको रहस्योद््घाटन गरे। वस्तु विनिमयद्वारा बजारको माधयमबाट विभिन्न उत्पादकहरुका बीच सम्बन्धको अभिव्यक्ति हुन्छ। मुद्राले यो सम्बन्ध झन दृढतर हुँदैछ, विभिन्न उत्पादकहरुका समस्त आर्थिक जीवन अटुट रुपले एक पूर्णत्वमा सुगठित हुँदैछ भन्ने कुरा देखाउँछ। पूँजीले यस सम्बन्धको अझ गहिरो विकास दर्शाउँछ—मानवको श्रमशक्ति पनि वस्तुमा परिणत हुन जान्छ।
मजदूरले भूमि, कलकारखाना तथा श्रम साधनको मालिकलाई आफ्नो श्रमशक्ति बेच्दछ। मजदूरले श्रम दिनको एक भाग आफू र आफ्नो परिवारको भरण—पोषणमा खर्च गर्दछ (ज्याला) र अर्को चाहिँ भाग सित्तैमा काम गर्नुपर्ने हुन्छ, जसद्वारा नै पूँजीपतिको निमित्त अतिरिक्त मूल्यको सिर्जना हुन्छ, जुन नाफाको स्रोत हो, पूँजीपतिवर्गको सम्पन्नताको स्रोत हो। अतिरिक्त मूल्यको सिद्धान्त नै मार्क्सको आर्थिक सिद्धान्तको आधारशीला हो।
मजदूरको श्रमद्वारा सृजित पूँजीले मजदूरलाई नै दवाउँछ, मध्यमवर्गलाई दरिद्र तुल्याउँदै बेकारीहरुको जमात खडा गर्छ। उद्योगमा बृहत् उत्पादनको विजय तत्कालै देखिन्छ। तर कृषि व्यवस्थामा पनि हामी यही प्रक्रिया देख्तछौं—विशालतम् पूँजीवादी कृषि व्यवस्थाको महत्व बढ््दै जान्छ, मेसिनको प्रयोग बढ््दै जान्छ, किसानको खेत पूँजीको पासोमा अल्झँदै जान्छ, पिछडिएको प्रविधिको मारमा परेर उसको टाट उल्टिँदै जान्छ। कृषि–व्यवस्थामा लघु–उत्पादनको ह्रासले अर्कै रुप लिएको हुन्छ। तर, यसको अवनति चाहिँ अवश्यम्भावी छ।
लघु–उत्पादनलाई ढालेर पूँजीले श्रमको उत्पादकत्व बढाउन थाल्दछ र ठूल्ठूला पूँजीपतिहरुको संघको एकाधिकार स्थापना गर्दछ। उत्पादनले चाहिँ बढीभन्दा बढी समाजिक रुप लिँदै जान्छ—लाखौं र करोडौं मजदूरहरु सुनियोजित आर्थिक अंगमा एकत्रित हुँदै जान्छन् र सामूहिक श्रमद्वारा उत्पादित वस्तुमा मुट्ठिभर पूँजीपतिहरुको आधिपत्य कायम रहन जान्छ। उत्पादनमा अराजकता, आर्थिक संकट, बजारका निमित्त होडबाजी बढ््दै जान्छ, आम जन–समुदायको अस्तित्व नै साधनहीन बन्न जान्छ।
वस्तु उत्पादनको प्रारम्भिक लक्षण साधारण वस्तु विनिमयदेखि लिएर मार्क्सले पूँजीवादी विकासको उच्चतम् रुप—बृहत् उत्पादनसम्मको विश्लेषण गरेका थिए। के पुराना, के नयाँ समस्त पूँजीवादी मुलुकहरुको अनुभवले एकपछि अर्को बहुसंख्यक मजदूरहरुलाई मार्क्सको यस शिक्षाको वैज्ञानिकताको वोध गराएको छ।
जब सामन्तवाद मुलोच्छेदन गरियो, संसारमा स्वतन्त्र पूँजीवादी समाजको जन्म भयो, त्यसैबेला यस स्वतन्त्रताको अर्थ पनि श्रमिकहरुको उत्पीडन र शोषणको नयाँ तरिका मात्र हो भन्ने कुरा पत्ता लागिसकेको थियो। यसै उत्पीडन र त्यसको विरोधको प्रतिविम्बका रुपमा तत्कालै विभिन्न प्रकारका समाजवादी सिद्धान्तहरुको प्रादुर्भाव भएको थियो। तर, त्यो प्रारम्भिक समाजवाद काल्पनिक समाजवाद थियो। त्यसले पूँजीवादी समाजको आलोचना गरेको थियो, विरोध गरेको थियो, भत्र्सना गरेको थियो र शोषण गर्नु अनैतिक कार्य हो भन्ने कुरामा धनीहरुलाई विश्वास दिलाउने प्रयास गरेको थियो।
तर, काल्पनिक समाजवादले वास्तविक मार्गको निर्देशन गर्न सकेन। उसले पूँजीवादमा श्रमिक दासत्वको सारलाई बताउन सकेन, न त्यसको विकासको नियम नै बुझाउन सक्यो, न त्यस सामाजिक शक्तिको नै भेउ पाउन सक्यो, जो नयाँ समाजको निर्माता बन्ने सामथ्र्य राख्दथ्यो। तैपनि समस्त यूरोप र खास गरेर फ्रान्समा सामन्तवादलाई ढाल्ने क्रान्तिको उर्लंदो बाढीले वर्गसंघर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो भन्ने कुरा स्पष्ट पारेको थिए।
घोर प्रतिरोधबिना सामन्त वर्गमाथि राजनीतिक स्वतन्त्रताको कुनै पनि विजय प्राप्त हुने सकेको थिएन। पूँजीवादी समाजका विभिन्न वर्गहरुबीच जीवन–मरणको संघर्ष नभइकन अपेक्षतः स्वतन्त्र प्रजातान्त्रिक आधारमा कुनै पनि पूँजीवादी देशको स्थापना भएको थिएन। मार्क्सको विलक्षण प्रतिभा हो, उनले यसद्वारा सबैभन्दा पहिले विश्व इतिहासको शिक्षा अनुरुप ठोस निष्कर्ष निकालेका थिए। त्यही निष्कर्ष सम्पूर्ण मजदूर वर्गको मुक्तिको अचुक हतियार बन्न पुग्यो। यो निष्कर्ष थियो – वर्गसंघर्षको सिद्धान्त।
जबसम्म मानिसहरुले हरप्रकारको नैतिक, धार्मिक, राजनीतिक, सामाजिक प्रचार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजीनीति गर्न जान्ने छैनन्, तबसम्म उनीहरुले राजनीतिमा सधैं नै धोकाबाजी र आत्म–वंचनाको शिकार बनिरहनुपर्नेछ। हर प्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतीत भए पनि, कुनै न कुनै सत्तारुढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका संरक्षकहरुले सुधारवादीहरुलाई मूर्ख बनाइरहेकै हुन्छन्।
यी वर्गहरुको प्रतिरोधलाई रोक्ने एउटै मात्र साधन हो – हाम्रै वरिपरि रहेको समाजभित्र त्यस्ता शक्तिहरुको खोजी गर्नु, संघर्षका निमित्त तिनलाई शिक्षित र संगठित पार्दै लैजानु, जो आफ्नो सामाजिक स्थितिवश पनि त्यस्तो शक्ति बन्न सक्तछन् र बन्नु पनि पर्दछ, जसले पुरानोको मुलोच्छेदन गरेर नयाँको निर्माण गर्न सक्दछ।
मात्र मार्क्सको भौतिकवादी दर्शनले सर्वहारावर्गलाई बौद्धिक दासत्वबाट, जसमा अहिलेसम्म समस्त उत्पीडित वर्गहरु जकडिएका थिए, मुक्ति पाउने मार्गतर्फ औंल्याएको छ। मार्क्सको आर्थिक सिद्धान्तले पूँजीवादी अर्थव्यवस्थामा सर्वहारावर्गको वास्तविक स्थितिको व्याख्या गरेको छ।
अमेरिकादेखि जापानसम्म र स्वीडेनदेखि दक्षिणी अफ्रिकासम्म समस्त संसारभरि नै सर्वहारावर्गका स्वतन्त्र संस्थाहरुमा वृद्धि हुँदैछ। वर्गसंघर्षको सिलशीलामा सर्वहारावर्ग सुशिक्षित र अनुशासित हुँदैछ, लामबद्ध हुँदैछ र आफ्नो सफलताको मूल्याङ्कन गर्न सिक्दैछ, आफ्नो शक्ति तिखो पार्दैछ र निर्वाध रुपले विकसित हुँदैछ।
संक्षिप्तमा भन्दा बेलायतको औद्योगिक क्रान्ति, हेगेलको द्वन्दवाद र फायरबाखको भौतिकवाद, अनि यूरोपका विभिन्न देशमा चलेका राजनीतिक सङ्घर्षहरु नै मार्क्सवादका स्रोत थिए। मार्क्सले ती स्रोतहरुलाई सन्दर्भ सामग्री माने। तर, त्यससाथि भर परेनन्। इतिहासका तथ्यमाथि उभिएर सर्वहारा वर्गको मुक्तिको सिद्धान्त खोज्न मार्क्सले अग्रजहरुका सकारात्मक कुराहरुबाट पनि शिक्षा लिएका थिए।
मार्क्सवादका प्रमूख तीन संगठक अंग छन्, दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद। दर्शनशास्त्रले सर्वहारा वर्गलाई मुक्तिको दार्शनिक हतियार प्रदान गर्दछ। राजनीतिक अर्थशास्त्रले मजदूर एवं श्रमजीवी वर्गमाथि पूँजीपति वर्गले गर्ने शोषण, त्यसबाट मुक्ति र मजदूरहरुको आर्थिक व्यवस्था निरुपणको उपाय प्रदान गर्दछ। अनि, वैज्ञानिक समाजवादले समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्ने मार्ग प्रशस्त गर्दछ।



लाेकपाटी न्यूज

