काठमाडौं, २७ कात्तिक। छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ। सुनसरीको कोशी गाउँपालिका ४ कोशी कटान क्षेत्रमा मंगलवार भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा पृथ्वीनगर ४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। स१झ २६८ नम्बरको गाडीले को ३० प ५३०१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक १० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। यस्तै, पाँचथरमा मंगलवार राति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको हिलिहाङ गाउँपालिका ४ सालिङ्गेमा टिप्पर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ २ घर भएका भीम तामाङको मृत्यु भएको हो।
निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कंदै गरेको बा २ क २९२० नम्बरको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो। दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।



रासस न्यूज
