अब कर्मचारीले घुम्न जाँदा थप एक महिनाको तलब पाउने

लाेकपाटी न्यूज

धनुषा, २४ कात्तिक। अब आन्तरिक पर्यटनमा जाँदा प्रदेश नम्बर २ मा कार्यरत निजामती कर्मचारीहरुले एक महिनाको थप तलब सुविधा पाउने भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानून बनाएको हो।

प्रदेश स्तरिय निकायका निजामती कर्मचारीहरुको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०७६ ले देश भित्र कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जाने कर्मचारीलाई एक महिनाको तलब सुविधा प्रदान गर्ने निर्धारण गरेको छ । तर त्यस्ता कर्मचारीले निर्देशिकाले तोकेको केही दायित्व र आचारसंहिता पालना गर्नुपर्ने उल्लेख रहेको छ।

भ्रमण सकेर कार्यालयमा हाजिर भएको सात दिनभित्र आफू घुमेको पर्यटकीय स्थल, त्यहाँको आफूसहितको तस्बिरहरुलगायत भ्रमणको विस्तृत प्रतिवेदन सम्बन्धित निकायमा पेश गरे मात्र एक महिना बराबरको थप तलब भुक्तानी हुने निर्देशिकामा जनाइएको छ। कर्मचारी भ्रमणमा जानु अघि पनि एक महिनाको थप तलब पेश्कीको रुपमा लिन सक्ने छन्। तर, प्रतिवेदन बुझाए मात्र पेश्की लिएको रकम फर्छौट हुने निर्देशिकामा उल्लेख रहेको छ।

सबै निजामती कर्मचारीले यस्तो सुविधा पाउन सक्ने छैनन्। यो सुविधाका लागि प्रदेश २ मा कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। निर्देशिकामा लेखिएको छ ‘प्रदेश निकायमा हाजिर भएर ६ महिना सेवा पूरा गरेका संघीय तथा प्रादेशिक निजामति कर्मचारीहरु यस निर्देशिका बमोजिमको आन्तरिक पर्यटनमा सहभागि हुन सक्नेछन्।’

निजामती कर्मचारी आफू कार्यरत जिल्लाबाहेक प्रदेश अथवा देशभित्रको जुनसुकै पर्यटकीय स्थलको भ्रमणमा जान सक्नेछन्। भ्रमणमा गएका कर्मचारीले खर्च विवरण बुझाउनुपर्ने छैन ।

प्रदेश नम्बर २ को आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको अनुमान बजेट वक्तव्यको बुँदा नम्बर १२२ ले दिएको नीतिगत अधिकार प्रयोग गर्न प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ को दफा नम्बर २ बमोजिम प्रदेश सरकारले यो निर्देर्शिका बनाएको जनाएको छ। प्रदेश २ का प्रमूख सचिव दीपक सुवेदीले प्रदेश २ मा पर्यटन प्रवद्र्धन, कर्मचारीलाई स्थायित्व राख्ने उद्देश्यले निर्देशिका प्रदेश सरकारले बनाएको बताएक छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्