अब निःशुल्क युएई जान पाइने, नेपाली कामदारलाई यस्ता छन् सुविधा

Uae
लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स(युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ।काठमाडौंमा सोमबार सम्पन्न नेपाल-युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो।

त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले ब्यहोर्ने छ। युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ। ६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरुले छलफल गरेका थिए। यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो।

सहमतिका मुख्य बुँदा

-कामदारको सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्ने

-म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने

-हवाई टिकट रोजगारदाताले दिने

-कानूनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले ब्यहोर्ने

-कानूनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने

-रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने

-कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँचजस्ता सुविधामा विभेद गर्न नपाइने

-कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने

(नागरिक दैनिकबाट)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्