काठमाडौं, १८ कात्तिक। रौतहट बम काण्डका आरोपी मोहम्मद अफताब आलमले आर्जन गरेको सम्पत्ति छानबिन हुने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आलमको सम्पत्तिमाथि छानबिन प्रक्रिया थालेको हो।
प्रहरीले आलमको सम्पत्ति छानबिन गर्न विभागलाई आइतबार पत्राचार गरेको थियो। पत्र प्राप्त भएसँगै आलमको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी विभागको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले आलमको सम्पत्ति अनुसन्धान गर्न आवश्यक रहेको भन्दै विभागमा पत्राचार गरेको थियो।
सो पत्र पाउनासाथ प्रक्रियामा लगिएको विभाग स्रोतले जनायो। फौजदारी कसूरमा थुनामा रहेका व्यक्तिको सम्पत्तिमाथि अनुसन्धान गर्न सजिलो हुने भएकाले तुरुन्तै प्रक्रियामा लगिएको ती अधिकारीले बताए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साविक राजपुर गाविस-४ फरहदवामा बम विस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोपमा कांग्रेस सांसद आलममाथि कर्तव्य ज्यान मुद्दाको थुनछेक जिल्ला अदालत रौतहटमा विचाराधीन छ।
रौतहट बम विस्फोटमा आलमसहित १० जना प्रतिवादी छन्। उनीहरूविरूद्ध जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको छ।



लाेकपाटी न्यूज

