काठमाडौं, १६ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज काठमाडौंको कमलपोखरी र गुहेश्वरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन्। छठ पर्वको आज (शनिबार) मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
यसै अवसरमा राष्ट्रपति भण्डारीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिएकी हुन्। यस्तै छठ पर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन्।
उक्त ठाउँमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ। नदीका दुबै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ।
कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अर्घ्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि छठपर्व समापन हुन्छ।



रासस न्यूज

