उपेन्द्र न्यौपाने/ जुम्ला, १३ कात्तिक । जुम्लाका ग्रामीण क्षेत्रमा समेत परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन्। संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुडे नाच, बालो चम्फा नाचलगायत मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन्।
कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको कनकासुन्दरी गाउँपालिका जुम्लाकाकी उपाध्यक्ष उर्मिला भण्डारी खत्रीले बताइन्। पश्चिमेली संस्कृति र सहरी क्षेत्रको पहिरनले जिल्लाको पुर्ख्यौली संस्कृति र पहिरन ओझेलमा परेको देउडा गायक पदमवहादुर रोकायाले जानकारी दिए।
युवापुस्तामा संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको उनले जानकारी दिए। अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीत संगीतमा रमाउने गरेकाले लोक संस्कृति ओझेलमा परेको गायक रोकायाले गुनासो पोखे।
रोकायाका अनुसार बाजे बज्यैको पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालो, लगायत गीत लोप हुँदै गएका छन्। बिगतमा वनपाखामा गुञ्जिने देउडा गीत, ठाडी भाका, सवाल जवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएको उनको गुनासो छ।
विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजालगायतमा गाइने झोडा गीत लोप हुँदै गएपछि स्थानीय संस्कृति ओझेलमा परेको कनकासुन्दरी गाउँपालिका जुम्लाकाकी उपाध्यक्ष उर्मिला भण्डारी खत्रीको भनाइ छ। दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न पाइने उनको अनुभव रहेको छ।
उनका अनुसार दुई दशकअघिसम्म १५ र २० जना महिला आपसमा सवाल जवाफ गर्दै झोडा गीतमा रमाउने गर्थे। दशकयता जुम्लाका गाउँ बस्तीमा महिलाले लगाउने गुन्युँचोली र पुरुषले लगाउने दौरा सुरुवाल पनि हराउँदै गएको बताइन्।
घरमै उत्पादित ठेटुवाबाट दौरासुरुवाल बनाइन्थ्यो। बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोसाक हराउन थालेको उनको भनाइ छ। उनले ठेटुवा कपडा उत्पादनका लागि गाउँमा कपास खेती सुरु गर्न आवश्यक रहेको बताइन्।
त्यस्तै पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन्। बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पन्चेबाजा संकटमा परेको गाउँका धामीहरुले बताउने गरेका छन्। विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको उनीहरुले बताए।
विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन्। अहिले सुन र चाँदीका विभिन्न गहनासमेत गाउँघरमा देखिन छाडेका छन्। गाउँबस्तीमा ६० कटेका बृद्धाले समेत बिरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन्।
खुट्टामा लगाइने कल्ली र पैरा हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, सांला, मुगामाला, डुरी, ढुङ्ग्री, कालो, पहेंलो, सेतो पोते, कपुर्ने मालालगायत पूराना गहना गाउँमा समेत लगाउन छाडेको कनकासुन्दरी गाउँपालिका वडा नम्वर ५ की स्यानु रावतले बताइन्। संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाचसमेत लोप भएको उनको भनाइ छ।
मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीय अगुवा तथा कनकासुन्दरी ६ गोठिज्युलामा लामो समयदेखि नवदुर्गा होटेल खोलेर बसेका सार्के बुढाको भनाइ छ। १०/ १५ वर्षअघिसम्म मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पञ्चेबाजा खुब सुनिन्थे, हुडेलाई पनि भ्याइनभ्याइ हुन्थ्यो। सार्के बुढाका अनुसार आधुनिक चलन भित्रिएको छ।
पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुटी गाउने परम्परा थियो। बिहेको पछिल्लो दिन दौडा लगाएर हातमा डमरु जस्तै देखिने हुडो समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला) हरूका कथा (भात्ता) भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने चलन थियो । आजभोलि त जन्ती जाने चलनै हरायो । बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुडो बजाइन्थ्यो तर हिलेका पुस्तालाई हुडोबारे केही थाहा नभएको उनले गुनासो पोखे।
जिल्लामा पछिल्लो समय परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेकाले संरक्षणका लागि स्थानीय सरकारको ध्यान जान जरुरी रहेको स्थानीय तथा देउडा गायक पदमवहादुर रोकायाले बताए।



लाेकपाटी न्यूज

