- मदन पंगाली
सम्पूर्ण हिन्दू नेपालीको दास्र्रो ठूलो पर्व तिहार हो। चन्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्धितियासम्मको अवधि तिहार हो। तिहारको पाँच दिन क्रमशः काग, कुकुर, लक्ष्मी (गाई), गोबर्धन पुजा (गोरु) र भाइ टीका पर्दछ।
शास्त्रीय मान्यताअनुसार यमराज आफ्नो दैनिक कार्यबाट फुर्सद निकालेर बहिनी यमुना कहाँ गएर बसेको पाँच दिनको अवधिलाई तिहार भनिन्छ। यो पाँच दिन यमराजको पूजा गर्ने मान्यता भएबाट यस पर्वलाई यम पञ्चक पनि भनिन्छ। यम पञ्चक हिन्दू आर्यहरुका आदर्श पात्र कृष्ण र अलौकिक राजा इन्द्रसँग पनि सम्वन्धित भएको शास्त्रीय मान्यता छ। यसमा कृष्णको अपमान सहन नसकी इन्द्रले गोकुलमा आँधी तुफान सहितको वर्षा पार्दा कृष्णले गोवर्धन पर्वत उचालेर गोकुलबासीको रक्षा गरेर पशुपंक्षी र प्रकृतिको पूजा गर्न लगाएको पाइन्छ। यसरी इन्द्रविरोधी बलिराजाले कन्याहरुलाई नाँचगान गरेर खुसियाली मनाउन पठाएको त्यही नाँचगान भैलीको रुपमा आजसम्म रहेको मानिन्छ। साथै ब्राह्मण अवतार विष्णुुले बलिराजासँग तीन पाउ जमिन मागेको र सम्पूर्ण पृथ्वी दुई पाउमा सिध्यिएको र बाँकी एक पाउ टेक्ने जमिनका लागि बलिराजाको शीर माग्दा देउसिर भनेको र त्यही शब्द अवभ्रंश भई देउसे भएको मानिन्छ।

तिहार पर्व कहिलेदेखि मनाउन थालियो, यसको कुनै तिथि मिति नभए तापनि भारतको गंगा यमुना नदीका किनारमा आजभन्दा ३५०० पूूर्व बस्ने गोपालहरुको प्रसङ्ग र शिजा राज्यका १४ औं शताब्दीका बलिराजाको प्रसङ्ग सँगसँगै आउने हुँदा यस पर्व हजारौं वर्षसम्म विकसित र परिमार्जित हुँदै आएको देखिन्छ। समग्रमा यो पर्व कविला नायक शासनबाट निरंकुश राजतन्त्रको संक्रमणको अवधिको सांस्कृतिक आधारमा खडा भएको पर्व हो। सम्पूर्ण चाड पर्वमा सांस्कृतिक पक्ष अन्धविश्वास रुढिवाद र विकृति सँगसँगै आउँदछन्। यसको परिचान गरी समयानुकूल पर्वको परिवर्तन गर्नु प्रगतिशील तरिकाले मनाउनु आजको आवश्यकता हो। संस्कृतिको संरक्षण हुनु पर्दछ, जो हाम्रो परिचान हो। तर, अन्धविश्वासको अन्त हुनु पर्दछ, जसले हाम्रो बौद्धिक दरिद्रताको परिचय दिन्छ। र, विकृति भित्र्याउनु हुँदैन, जसले हाम्रो पहिचान मेट्ने छ। अन्धविश्वास र रुढिवादमा खडा भएका पर्व भौतिक आधारमा खडा गर्दै मनाउनु पर्दछ।
हिन्दू पर्वहरु वर्षा ऋतु सकिएर शरद ऋतुमा पर्दछन्। न जाडो न गर्मी र न हिलो न धुलो हुने मौसम र वातावरणमा पर्दछन्। पशु ब्याउने समय र खेती भित्र्याउने समयमा पर्दछन्। यसरी तिहारका अवसरमा प्रकृतिमाथि विश्वासका रुपमा यमराज गोवर्धन पर्वतको पूजा गाई र गोरुको पूजा कृषिको पूजा हो। काग र कुकुरको पूजा पशुपंक्षीको पूजा हो। तिहारका अवसरमा मानिसको सँगसँगै पशुपंक्षी र प्रकृतिमाथि विश्वास, पूजा र सम्मान गरिन्छ। यसरी प्रकृति पशुपंक्षी र कृषिको पूजा सम्मान सद्भाव वातावरण संरक्षण र सन्तुलनका लागि गरिनु राम्रो विषय हो। यो पर्व अलौकिक शक्ति भएका राजा इन्द्रलाई गोकुलवासीले पूजा गर्नु, मानसम्मान गर्नुको सट्टा प्रकृति, पशुपंक्षी पूजा, मानसम्मान गर्दै एक सामन्ती राजाका विरोधमा विद्रोह गरेका थिए।
गोकुलबासीका नेता कृष्ण आदिम गणतन्त्रवादी थिए। अलौकिक शक्ति इन्द्रको पूजा गर्न कंशले संकलन गर्न लागेको करस्वरुप दही दुध घिउ मह खोसेर खाइदिन्थे वा नस्ट गरिदिन्थे। यसरी कृष्णले सामन्ती आर्थिक प्रणाली नष्ट गरिदिए। साथै शक्तिशाली राजा बलिराजालाई ब्राह्मणले बिर्ता प्रथाका विरुद्धमा सवक सिकाएको तिहार सम्बन्धि कथा हेर्दा यो पर्व सामन्ती राजसंस्था विरोधी छ। हिन्दू चाडपर्व नाग पञ्चमी, जनै पूर्णिमा, तीज, दशैं र तिहार क्रमशः ठूला हुँदै गएका थिए। तर, पछि तिहार पर्व राजा विरोधी संस्कृतिका आधारमा विकास भएका कारण सामन्तवाद बलियो हुदै जाँदा तिहार कमजोर बनाउँदै लगियो। दशैं रामले रावण बध गरेको कथा होस् वा देवी दुर्गाले महिषाशुर बध गरी राजा इन्द्रको राज्य संरक्षण गरिदिएको कथा दुवै राजाका पक्षमा छन्। त्यसले दशैं खर्च दिँदै धेरै विदा दिएर हर्षबढाइ जस्ता गतिविति गर्दै दशैं ठूलो पर्व बनाएको देखिन्छ।
तिहार पर्व दाजुभाइ दिहीबहिनीबीच आत्मीयताको पर्व हो। दुखःसुख साटासाट गर्ने अवसर हो। जर्ष दिनसम्म आ—आफ्नो काममा ब्यस्त आफन्तलाई चाडपर्वले भेटघाट गराउँदछ। तिहारमा देउसी र भैलोका लागि युवायुवती नाँचगान र बजाउनका लागि तयारी गर्ने र आ—आफ्ना कला प्रस्तुत गर्दछन्। यसले कला र कलाकार विकास गरिरहेको छ। आज विज्ञान र प्रविधिको विकासले अलौकिक शक्तिमाथिको विश्वासको कुनै आधार देखिँदैन। र, कुनै आवश्यकता पनि छैन। आयु लामो बनाउनका लागि कुनै अलौकिक शक्तिको पूजा गर्नु रुढिवाद हो। तेलको धारा बगाएर दुवोको माला नउड्ने रंग र नऔइलाउने पूmलको माला लगाएर ओखर फोरेर आयु लामो हुने होइन। यदि यसरी आयु लामो हुने भए सबैभन्दा बढी हिन्दूहरु नै बाँच्ने थिए।
तिहार पर्व दाजुभाइ नहुनेले टीका लगाउन नपाउने र दिदीबहिनी नहुनेले रोटी खान नपाउने पर्व भएको छ। यसरी यो पर्व लैङ्गिक विभेदको पक्षमा भएको देखिन्छ। तिहारमा टीका लगाउनका लागि दाजुभाइ नै चाहिने मान्यताबाट यो पर्वले पुरुष प्रथान समाजलाई बढावा दिइरहेको छ। यसले यो पर्वलाई दाजुले भाइ वा दिहीले बहिनीलाई पनि टीका लगाउन सकिने बनाउनु आजको आवश्यकता हो।
तिहार पर्वको देउसीभैलो सन्दर्भमा शास्त्रीय मान्यता जेसुकै भए तापनि इतिहास के भन्छ भने राज्यच्युत भएका शिजा राज्यका बलिराजाले आफ्नो राज्य पून प्राप्त गर्नका लागि जनतासँग चन्दा संकलनका लागि देउसीभैलो खेल्न लगाएका थिए। र, देश निर्माण गर्ने उनको उदेश्य थियो। तर, आज हामी भैली खेल्दा बलिराजाले पठाएको त भन्छौं। तर, भैलीमा उठेको रकम गलत ठाउँमा खर्च गरिरहेका हुन्छौं। यस्तो रकम समाजमा कुनै रचनात्मक काममा खर्चनु पर्दछ। यसो गर्दा देउसी भैलीको मान्यता बचाउन सक्नेछौं। समाज विकास हुनेछ र तिहार एक सामाजिक पर्व बन्नेछ।



लाेकपाटी न्यूज

