‘उत्पादनको लागि स्वदेशी र गैरआवासीय नेपालीहरूबीच साझेदारी गरौँ’

लाेकपाटी न्यूज

– रामचन्द्र शर्मा

विद्यमान अवस्थामा देशको समृद्धि सर्वपक्षीय एजेण्डाको केन्द्रको रुपमा स्थापित भएको छ । समृद्धि प्राप्त गर्ने सक्ने औजार पूँजीको निर्माण हो । राष्ट्रिय आत्मनिर्भरताको लागि राष्ट्रिय उत्पादन आन्दोलन आगाडि बढाउन सक्नु आजको मुख्य कार्यभार हो । इज्जत , रहर ,अध्यन र बाध्यताले देशको उर्जावान् बहुसंख्यक श्रम र युवा जनशक्ति बाह्य मुलुकमा काम गरिरहेका छन् ।

अहिले तिनै जनशक्तिले पठाउने विप्रेषणले देशको अर्थतन्त्रकाे विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यो आधारलाई लिएर राज्यले युवा श्रम शक्ति निर्यात गर्ने नीति लिनु भविष्यमा राष्ट्रकाे लागि आत्मघाती बाटो बन्न सक्छ। राज्यले बरु हिम्मत गर्नुपर्छ युवाहरुलाई जसरि हुन्छ उत्पादनसँग जोड्ने स्वोदेशमा नै केही न केही गर्नु पर्छ भन्ने भावना जागृत गराउने एजेण्डा ब्यापक रुपमा स्थापित गर्नुपर्छ । युवाहरुलाई सहुलियतको सुविधा तय गरी देशमा लगानी भित्र्याउन अपिल गर्न अब ढिलो गर्नु हुँदैन ।

देश बाहिर रहेर काम गर्ने धेरै नेपालीहरु अनेकौं संगठनमा आबद्ध छन्। प्रबासी संगठनहरुको उद्देश्य ठोस रुपमा लगानीको लागि भन्दा पनि राजनैतिक काममा प्रेरित गरिएको अवस्था छ । महान् दार्शनिक भन्नु हुन्थ्यो ‘आँफु बाँच अनि अरुलाई बचाउन पनि लाग’ भन्नुको तात्पर्य के हो भने हामी बाँच्ने मुख्य तागत पूँजीकरण र उद्यम हो। पहिला हामी पूँजीकरण र उद्यमी हुँदै आफूलाई आत्मनिर्भर बनाउँदै लैजान अति जरुरत छ ।

पहिला हामी बाँच्न लायक हुन्छौं । अरुलाई बचाउने तागत तपाइँले उद्यमबाट हासिल गरेको शिक्षा र विचार हो। यही विचार प्रवाह गर्नु सामाजिक एवम् राजनीतिक काम हो । खास खास अवस्थामा राजनैतिक काम पनि प्रधान थियो । तर, आज उद्यमको काम प्रधान छ । जुन भोलिको राजनीतिको लागि अति जरुरिको विषय बन्नेछ ।

स्वदेशमा रहने अधिकांश युवा जनशक्तिमा समेत आज विदेश जाने भोक जागेको अवस्था छ। नेपालका केही ठूला घराना बाहेक नेपाली उत्पादनको पूँजीकरणको लागि ठोस पहल लिएको देखिँदैन । सरकारले मध्यम वर्गका व्यवसायिकलाई आकर्षित गर्न दिएका अनुदानका सुविधाहरु समेत बिचौलियाको हात पर्ने अवस्था छ । यस कारण मध्यम वर्गमा व्यवसायिक शुरुवाती उत्साहजनक बन्न सकिरहेको छैन ।

वैदेशिक लगानी भित्रिने काम क्रमिक रुपमा सुधार हुँदै आएको छ । लगानी भित्राउने प्रक्रियामा समेत बिचौलियाको बिगबिगी, चलखेल तीव्र रुपमा बढ्दै गएको छ। यो अवस्थाले समेत आर्थिक अराजकता शिवाय केही दिन सक्ने छैन । समृद्धिको लागि वैदेशिक लगानी भित्राउन यो मानेमा समेत जरुरत छ कि, पूर्वाधार बनाउनको लागि सामग्री अन्य मुलुकबाट नै आयात गर्नु पर्ने हुन्छ । सामग्री खरिदको लागि बिदेशी मुद्रा नै जरुरत पर्छ । राष्ट्रसँग तीव्र विकासमा लैजाने पूर्वाधार विकासका सामग्री खरिद गर्न वैदेशिक मुद्रा संचिति छैन र पर्याप्त हुँदैन । पूर्वाधार विकासका सामाग्री खरिद गर्न पनि वैदेशिक लगानी अति जरुरत छ । अर्को तर्फ़ वैदेशिक लगानी आइरहँदा , उद्योग धन्दा खुलिरहँदा ,नेपाली व्यवसायी एवम् जनशक्ति छिमेकी धनि व्यक्तिको घरको बिवाहमा नाचेको जन्ती जस्तो हुनु हुँदैन भन्ने कुरा गभिर रुपमा हेक्का राख्नु पर्दछ ।

हामीलाई मुर्दा समृद्धि चाहिएको हाेइन, हामीलाई समुन्नत समतामुलक समृद्धि चाहिएको छ । जसले द्वन्दलाई नियन्त्रण गरिरहन सकोस् । आजबाट नै यसको खोजी र पहल लिने तयारी गर्नु हरेक नागरिकको दयित्त्वो हो।नेपालमा लगानी बढाउनको लागि स्वदेश र प्रबासमा रहेका सम्पूर्ण नेपालीहरुले एकीकृत पहल लिन जरुरत छ । हामी प्रतिस्पर्धी बन्ने तयारी गर्न आ–आफ्नो ठाउँबाट जुटेर लगानीको व्यवस्थापन गर्न सक्ने मुख्य साधनको रुपमा प्रभावशाली संयन्त्र एवम् संगठनको निर्माणमा लाग्नुको विकल्प छैन ।

लगानीको ठोस पहलकदमी लिनको लागि प्रबासीहरुको संगठनले मात्र पर्याप्त हुन सक्दैन । स्वदेशमा मात्र बस्ने नेपालीहरुको पहलले समेत पुग्दैन । बिदेशमा बसेर जुन खालको पीडा , संघर्ष , सिप ज्ञान र तत् तत् ठाउँको वातावरण अनुभव गर्न सकिएको छ । यसलाई गर्वको साथ सम्पत्तिको रुपमा बुझ्नु पर्दछ । स्वदेशमा रहेर जुन बेथिति , विसंगति , खिचातानी ,असुविधा र झन्झटिलो अवस्थालाई पनि धैर्यताका साथ सहन गर्ने बातावरणको बेवारिक अनुभब आर्जन भएकाछन् गर्बका साथ सम्पत्तिको रुपमा लिनु पर्दछ ।

दुई तत्व र यस तत्व भित्रका बहुसहायक तत्वहरुको सम्पत्तिलाई गम्भिर विश्लेषणको साथ सैद्धान्तिक रुपमा संश्लेषण गर्ने समय आइसकेको छ । उत्पादन आन्दोलनलाई ठोस रुप दिन स्वदेशी र प्रबासी नेपालीहरुको समायोजन (फ्यूजन) गरेको सैद्धान्तिक जगमा एक लगानी मैत्री संगठन अति जरुरत देखिएको छ । यसको मुख्य उद्देश्य राष्ट्रिय उत्पादनको लागि स्वदेश र प्रबासी नेपालीहरुको साझा उद्यम हुनु पर्दछ भन्ने हाे । साझा कर्मले मात्र प्रयाप्त लगानीको वातावरण बनाउने आधारहरु खडा गर्न सक्दछ ।

हामीले के बुझ्न जरुरत छ भने प्रबासी नेपाली मात्रले एक्लै वा मिलेर लगानीको व्यवस्थापन गर्न सम्भव हुँदैन। नेपालको नीति, कानून , उद्योग व्यवसाय दर्ता र संचालनको प्रक्रियाहरु पूरा गर्नको लागि साथै लगानीका सम्भावना र भूगोलको व्यवस्थापन गर्न र नियमित कार्य सम्पादन गर्न, उद्योग स्थापना पूर्व विविध कामको व्यवस्थापन अति चुनौतिपूर्ण हुन्छ। त्यस्को सम्पादन स्वदेशमा नै रहनेहरुबाट सम्भव देखिन्छ । अहिले विदेशको काम छोडेर हाेइन जोगाएर सिस्टमको निर्माण गर्न जरुरत छ । जसले हामीलाई कन्फ़िडेन्स दिइरहन्छ। विदेशको सिप र प्रविधि सिकेर उद्यमलाई व्यवस्थित र प्रभावी सिस्टमको निर्माण गरी स्वदेश फर्केर केही गर्ने वातावरण बनाउने संकल्प गर्न जरुरि छ ।

स्वदेशी लगानीकर्ताहरुमा समेत विश्व समाजको अनुभूति हुने गरी कामको सम्पादन गर्न सक्ने तागत पैदा हुने पूरा माहोल सिर्जना गर्दछ । स्वदेशबाट सामाजिक उद्यम , सहकारीहरु, मध्यम कर्पोरेट हाउस, आर्थिक अभियन्ता र व्यवसायीहरुलाई देशभरिबाट संरचनामा आबद्ध गर्ने तयारी हुनु पर्ने देखिन्छ। यो खालको सहभागिता देशब्यापी उत्पादनको माहोल दिन कोसेढुंगा सावित हुन सक्छ।

यही संगठन हो ‘७७ जिल्ला ७७ देश बदल्न सक्छ हाम्रो भेष, नेपालीको हुन जरुरि छ कार्यदेश’। स्वदेशी मध्यम वर्गीय लगानी कर्ताहरुले मात्र एक्लै वा मिलेर खास खास रुपमा संयुक्त उद्यम संस्कृतिको कमिको कारण व्यवसायिक जोखिम मोल्न तयार हुने अवस्था छैन । यी दुई संघटक पक्ष मिल्दा सिस्टम बन्न सक्छ, संस्कृतिको विकास गर्न सक्छ । प्रत्येक नेपालीले आर्जन गरेको आम्दानीबाट ३० प्रतिशतसम्म रकम उधममा लगानी गर्ने मानसिकता बनाउन सक्नु पर्छ । अनुत्पादक खर्च कटौती गर्दै नेपालको उत्पादन क्षेत्रलाई बलियो बनाउँदै देशलाई आत्मनिर्भर बनाउने स्वयंको पनि भविष्य बनाउन लाग्न सक्ने वातावरणको लागि संगठनलाई उपयोगमा ल्याउनु पर्छ ।

अभियानबाट आउने लगानीको सुरक्षा , अनुगमन ,सम्रक्षक्त्व ग्रहण गरी उद्यमहरु सिर्जनामा विशेष ग्राह्यता दिनु जरुरत छ । अझ यस्तो संरचना बनाउन राज्यले नै पहलकदमी लिन उपयुक्त देखिन्छ । गैरआवासीय एवम् प्रबासी नेपालीहरुले सामाजिक कार्य र आफ्नो हकको लागि केन्द्रित गरेको विद्यमान अवस्थामा स्वदेशी र प्रबासी नेपालीहरुको संयुक्त लगानीको लागि साझा संस्था खोल्ने सोचलाई सम्मान, अगुवाई र संरक्षण गर्न सक्नु पर्दछ । प्रारम्भिक रुपमा नेपालको उत्पादक क्षेत्र पर्यटन हो। यसको प्रवर्धन गरी आ–आफ्नै काम गर्ने देशमा रहेर नेपालमा पर्यटन पठाउने दूतको रुपमा आफ्नो भूमिकालाई सशक्त बनाउन सकिन्छा । आफ्नो लगानीको उद्यम फलाउने फूलाउने काम साथै आजको दिनमा यो कदम राष्ट्रकाे लागि ठोस योगदान ठहरिन सक्छ ।

निष्कर्ष
नेपालीहरु विश्वभर ८० देशमा रहेको अवसरलाई सदुपयोग गर्दै देशमा लगानीको लागि तयारी रहनु इतिहासले सुम्पेकाे दायित्व हो । समृद्धि कसैले दिने विषय हाेइन, खुद हामी आफैले ल्याउने र बनाउने कार्यादेश हो । भोलिका पुस्ताले हाम्रा बुवा, हजुरबुवा, जिजुबुवाहरु यस्तो सम्भावना बोकेको पवित्र देशमा उद्यमको विकासको लागि नलागी किन योगदान दिन अल्छि गरेको होलान् भनेर प्रश्न गर्ने ठाउँ दिनै हुँदैन । भोलि यस्ता प्रश्नलाई ठाउँ दिनु भनेको हाम्रो वर्तमान जीवन र जन्मलाई निर्थक बनाएको ठहरिनु हो ।

हाम्रो पुस्ता र भावी पुस्तालाई मौलिक संदेश, उपहार र विचार दिनको लागि हामी एकिकृत पूँजीकरणको माध्यमबाट औद्याेकीकरण र समृद्धिकाे अभियानमा खरो निक्लिनुको विकल्प छैन । स्वदेश र प्रबासमा बस्ने नेपालीहरुको एक अर्काको सिप ,साधन र पूँजीको समायोजन गरी जहाँ जहाँ रहे पनि नेपाली माटोको लागि नै गर्ने हो भन्ने संदेश प्रमाणित गर्ने समय हो यो । हिजो देशले रगत मागेको थियो हामीले दियौं । तर, आज हामीसँग इमान्दारिता, श्रम, पूँजी र स्वयंकाे उन्नति मागिरहेको छ ।

सबै पक्षको समायोजन गर्ने शक्ति स्वदेशी तथा प्रबासी नेपालीहरुको लगानीसँग सम्बन्धित संगठन एवम् संरचनासँग छ । हामी सधैं विदेशमा बस्ने योजना बनाउने हाेइन। त्यहाँ कुनै सम्मान र भविष्य हुँदैन, त्यसका लागि आजलाई व्यवस्थापन गर्दै भोलिको राजमार्ग बनउने बाटो हामीले नै कोर्नु पर्छ । आज हामी जहाँ छौ त्यहाँबाट राष्ट्रको लागि योगदान दिन सकिने ठाउँ छ । उद्यमले लय समातेपछि बलियो सिस्टमको जन्म हुन्छ । त्यो सिस्टम नेपाल फर्केर आफ्नो उद्यम गर्ने प्लेटफर्म बन्छ ।

आज विदेशमा काम गर्ने हामी भोलि सिस्टमको तागतमा हाम्रा व्यवसाय विदेशमा समेत विस्तार गरी उनीहरुलाई काम दिन सक्ने योग्यता हासिल गर्न सक्ने भरपुर सम्भावना छ । सिस्टमको लागि पर्याप्त लगानी लगाउँ, यसले देशलाई त बदल्नेछ । मातृभूमिको मुस्कुराहटले हामी र हाम्रो परिवारलाई सधैं आनन्दित तुल्याउने छ । देशले हामीलाई के दियो भन्दा पनि हामीले देशका लागि यो दियौं भन्ने कुरा गर्वका साथ राख्न सकिनेछ ।अबको नारा नेपालको लागि नेपालीहरुकै लगानी र जवानी भन्ने हुनु पर्दछ। अस्तु !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्