सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा

रासस न्यूज

तनहुँ, ८ कात्तिक। बन्दीपुर गाउँपालिका १ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ।

डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कुवेर आयल सप्लायर्स र केओएस रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।

उक्त पम्पको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले एक समारोहका बीच उद्घाटन गरेका छन्। सो अवसरमा उहाँले फराकिलो स्थान, सुन्दर सजावट तथा एक पटक धेरै सवारी साधनले पेट्रोलियम पद्धार्थ लिन सक्ने क्षमताको देख्दा पृथ्वीराजमार्गमा सबैभन्दा राम्रो लागेको बताए।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले तनहुँ, लमजुङ, गोरखा, मनाङको व्यापारिक केन्द्र डुम्रेबजार भएको र पर्यटकीयस्थल पनि भएकाले प्रट्रोलियम पद्धार्थका लागि यस्ता सुविधासम्पन्न पम्प स्थापना गर्नु सबैका लागि सहज र खुशीको कुरा भएको बताएका छन्।

पम्पका लागि जमीनबाहेक रु छ करोड लगानी गरिएको सञ्चालक गोपाल अधिकारीले जानकारी दिए। उक्त पम्प छ रोपनी आठ आना जग्गा क्षेत्रफलमा निर्माण गरिएको उनले बताए।

सञ्चालक अधिकारीका अनुसार दैनिक एक लाख लिटर बिक्री गर्न सक्ने क्षमता भएको र एकै पटक आठ सवारी साधनमा डिजेल तथा पेट्रोल राख्ने सुविधा भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्