युटर्नमा नेपाली संस्कृति, छ्या यस्तो ढिँडो !

लाेकपाटी न्यूज

काठमाडाैं। छ्या यस्तो ढिँडाे, १५ बर्षअघि जब छोराछोरी काठमाडाैंबाट घर पुग्थे। थालमा पस्केको ढिँडोले यही सम्मान पाउँथ्यो । ढिँडोलाई बदलिँदो नेपाली समाजमा सम्मानित हुन अझै केही बर्ष संघर्ष गर्नैपर्‍यो । विदेशमा कमाएको पैसाले भकारीको कोदो भैंसीलाई खुवाउँदै बोरा बेसाउने ट्रेण्ड नै चल्यो । सुगरको उपहार भनौं या प्रेसरको देन विगत केही समयदेखि भने ढिँडोले ठूलाबडा भनाउँदाका भान्सामा हैकम चलाइरहेको छ ।

२०५० सालपछि चलेको पश्चिमीकरणले नेपाली समाजलाई यसरी बदलिदियो कि, मकै र भटमासको ठाउँ पिजा र चाउमिनले लिए, ढिँडो देखाएर खानै नहुने भयो, दौरा सुरुवाल र टोपी अक्कलझुक्कल देखिन थाले, पन्चेबाजालाई ब्यान्डबाजाले विस्थापित गरे, आमा ममी भइन्, फूपु दिदी भइन्, कस्सो बा दाइ भएनन् । यो समय नेपालमा उग्र राष्ट्रवाद र उग्र पश्चिमीकरण प्रतिस्पर्धामै उत्रिए । दोश्रो जनआन्दोलन, माओवादी जनयुद्धले देशलाई निकास दिँदै थिए भने डलर मोह, धर्म परिवर्तन र आधुनिकीकरणले हामीलाई आफ्नैबाट संस्कृति निकाल्दिँदै थियो ।

देश तथा विदेशमा थुप्रै विज्ञहरुले चिन्ता जनाए पनि कस्को के लाग्थ्यो र । भनिन्छ नि जे हुन्छ राम्रै को लागि हुन्छ, हो नेपाली परम्परा, संस्कृति पुरानै स्थितिमा फर्कन खोज्दैछ । साँच्चै समय बदलिएको छ समयसँगै सोच पनि। पहिले–पहिले कोट पाइन्टले थचारेका दौरा आजकाल पार्टीका आकर्षण बन्दैछन्। छिमेकीले थाहा पाउँछन् कि भनेर काँचाकँचिलै खाने गुन्द्रुक लण्डन र सिड्नीको सुपरमार्केटमा पाइन्छन्। लाेकगीत सुन्दा पाखे भइने अवस्थाबाट आज ट्रेण्डिङ १ हान्न थालेका छन्, पैसैका लागि किन नहोस् देउसी फेरि घन्कन थालेका छन्।

यद्यपि, नकारात्मक कुरा नमिसिएका होइनन् तर नराम्रो कुरा मात्र कोट्याउने कि राम्रो कुराको प्रवर्द्धन गर्ने विचार आफ्नै हो । त्यो पुस्ता जसले परम्परालाई पश्चिमतिर विलय गराउन खोज्यो आफ्नो सक्रिय जीवनको उत्तरार्द्धमा छ । उनिहरुले आफ्नो गल्ती बुझेका छन् र गल्ती सुधार्न चाहन्छन् या भनौं साँघुरो बाटोबाटै भएपनि युटर्न हान्न चाहन्छन् ।

तर, उनिहरुमा त्यति शक्ति पनि छैन कि पुरानै अवस्थामा फर्काउन सकुन् । अबको नेपाली संस्कृतिको भविष्य भने नयाँ पुस्तामा नै छ । उनिहरुले पहिलेकै अवस्थामा फर्काउलान्, पश्चिममै विलय गराउलान् अथवा मध्यमार्गी बाटो रोज्लान् आउँदो दश बर्षले देखाउनेछ । तर, जे भएपनि हाम्रो संस्कृति, परम्परा र आस्थाको मूल मर्म परिवर्तन हुनु हुँदैन। यो अमर थियो, अमर छ र अमर रहनेछ । जय देश, जय संस्कृति ।

– धर्मराज सुबेदी राजन, कुश्मा पर्वत

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्