– शिवजी तिवारी
हजाराैं हजार नेपाली आमाका उत्कृष्ट सन्ततिको प्राणको आहुति पश्चात् आज यो देश संघीय गणतन्त्रतत्मक मुलुकको रुपमा विश्व मानचित्रमा सगर्व नेपाली झण्डा फर्फराउन पाएको छ। देशलाई साँच्चिकै गरीब, निमुखा मजदुर किसान एवं राज्यबाट विगतमा उत्पीडनमा परेका सबै समुदायले अपनत्व महसुश गर्न पाएका छन्। यही परिवर्तनको पक्षमा संघर्ष गर्दै गर्दा नेकपाका धेरै नेता–कार्यकर्ताले आफ्नो जीवन समर्पित गरेका छन्। यही जगमा बसेर जनता माझ स्थापित नेकपा समृद्धिसँगै समाजवाद ल्याउने तयारीमा जुटेको छ।
विभिन्न समयमा भएका राजनीतिक परिवर्तनको निम्ति सदैव आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको एकीकृत पार्टीलाई अहिले ठूलाठूला चुनौती र अवसरको रुपमा दुईतिहाई जनमत आएको छ । फरक धारको राजनीतिमार्फत् उदाएका दुई कम्युनिस्ट शक्तिबीच एकीकरण भएको छ । नेपालको इतिहासमै शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको छ । यस एकताले कम्युनिस्टहरु फुट्न मात्रै जान्दैनन्, जुटेर एक ढिक्का पनि हुन सक्छन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ ।
विभिन्न पार्टीहरु अराजकता, दलाली, नेताभक्ति,चाप्लुसी र मूर्ख शैलीलाई नै आफ्नो मूल शक्ति मान्दै दशकौंदेखि हाम्रो देशमा राजनीति चलाउँदै आएका छन्। तिनै शैलीका नेताहरु राज्यको नेतृत्वमा पुग्दा राज्य आज दण्डहिनताको पर्याय हुन पुगेको छ। हुन त राजनीतिक चरित्र फुर्तिलो र छिट्टै प्रतिक्रिया जनाइहाल्ने किसिमको हुन्छ, यो नौलो विषय होइन तर कानूनी राज्यको उपहासमा आफ्नो सफलता देख्नु लज्जास्पद छ। राजनीतिज्ञहरु समाजमा बौद्धिक पहिचान बनाउनुपर्ने, अरुले नसोचेको कुरा गर्नुपर्ने देशको मेरुदण्ड उदण्ड हुनु देश र समाजको लागि सदैव घातक छ।
भोलिको प्रधानमन्त्री, मन्त्री आज कानूनी राज्यको धज्जी उडाउँदै माफिया कर्मको प्रशय गर्नुमा गर्व गर्छ भने त्यस्तो व्यक्तिबाट राज्यले के आशा राख्न सक्छ र ? राज्यको कुनै निकाय कानून विपरित चल्दै गरेको महसुश भए त्यस्तो नगर्न दवाब दिनुपर्ने ठाउँमा कहीँ कतै नियम विपरित कुनै काम हुन्छ भने त्यस्तो ठाउँमा नेताको संग्लनता स्वाभाविक जस्तै बन्नु र आम जनमानसले त्यसैलाई सदर गरिदिनु नै राजनीति भित्रको मूल समस्या हो। सदैव आफूलाई सचेत कित्तामा उभ्याउँदै यस्तो किसिमको राजनीतिबाट आफूलाई फरक देखाउनु नै नेकपाको निम्ति एउटा चुनौति हो।
आजको युगमा कानून बिनाको राज्य कल्पना बाहिरको बिषय हो र सबै नागरिकको लागि एकै किसिमको कानून अनुभूत गराउने दायित्व राज्यको हो। हाम्रो जस्तो लामो संक्रमणको भुमरीमा पिल्सिएको देशमा विभिन्न पार्टीका मुख्य नेतृत्व सधंै अराजकतालाई प्रशय दिँदै अगाडि बढिरहेको अवस्थामा आम नागरिक सचेत नहुने हो भने देशमा ढिलो चाँडो माफियाकरण काननूसंवत जस्तै देख्न बेर लाग्ने छैन ।
यहाँ कानून केवल सानोतिनो पेशा व्यवसाय गरेर बस्नेलाई मात्रै लागिरहेको धेरै समाचार आइरहेका छन् भने अर्कोतर्फ माफियाहरु खुलमखुल्ला आफूहरुको जोडघटाउ बिना कुनै किसिमको संसदीय कार्यहरु अगाडि बढाउन नसक्ने भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका छन्। यस्तो अवस्थामा समेत सबै मौन हुनुले माफियाहरु अझ शक्तिशाली भएको महसुश गरिरहेको अनुमान गर्न कुनै गार्हो पर्दैन ।
सांसद पद करोडाैंमा किनबेच भएको कुरा बेलाबेला सञ्चार माध्यममा आइरहेको सन्दर्भमा राज्य मुकदर्शक हुनु र आम नागरिक चुपचाप हुनुले राजनीतिमा अर्को चुनौति महसुश भएको छ।
वीरता र बलिदानले सिञ्चित भई आम जनता माझ आफ्न्नो छुटै छाप छोड्न सफल पार्टी समृद्धि र समाजवादको नीति र रणनीतिलाई केन्द्रमा राखेर दुईतिहाईको सरकारको नेतृत्व गरिरहेको छ । ऐतिहासिक गरीमा बोकेको कम्युनिष्ट आन्दोलन आज अन्योलतामा फसेजस्तै देखिएको छ । कम्युनिष्टले आन्दोलन गर्नुपर्ने अनिगिन्ती मुद्धा छन् ।
यस्तो अवस्थामा नेकपाले अंगिकार गर्ने एजेण्डा र नेतृत्वले अङ्गिकार गर्ने कार्यशैली मुख्यतयाः देशको अबको राजनीति कस्तो शैली र कुन दिशातर्फ हुने भन्ने प्रश्नको उत्तर पनि प्रदान गर्नेछ । विभिन्न नेताहरु मानव तस्करी गर्ने, अनैतिक क्रियाकलापमा सहभागी हुने, अवैधानिक चन्दा अशुलीमा मुछिइरहेको सन्दर्भमा नेकपालाई यो सबैबाट आफूलाई अछुतो राख्ने कि नराख्ने भन्ने एउटा अर्को चुनौति छ ।
कार्यक्षेत्रमा गएर जनहितमा काम नगर्ने तर विगतको विरासतलाई अगाडि सारेर नेतृत्व ओगट्ने शैली नेकपाको लागि अर्को मुख्य चुनौती हो। नेकपाले कथम्कदाचित उही पुरानै शैलीलाई बढवा दियो भने कम्युनिष्ट आन्दोलन विघटन हुने स्थिति पैदा हुन सक्दछ।
आम कार्यकर्ताको भोटको आधारमा नेतृत्व चयन मात्रै गर्ने प्रथाको सुरुवात गरिदिने हो भने नेताहरु चाप्लुसी छोड्दै कार्यकर्ता र संगठनमूखी हुनेछन्। र, यसैले मात्र कुशल नेतृत्वको विकास हुनेछ। तिनै कुशल नेतृत्वले मात्रै आजको समाजले खोजेको सशक्त इमान्दार राजनीतिज्ञको भूमिका निर्वाह गर्न सक्नेछन्।
जनउत्तरदायी नेतृत्व विकास नै आजको राजनीतिमा देखिएको माफियातन्त्रको अन्त्यका निम्ति कोशेढुङ्गा बन्न सक्दछ। आम कार्यकर्ताहरुले नेतृत्व चयन गर्दा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राम्रो काम गर्ने, जनसेवा गर्ने, जनताको साथी बन्न सक्ने र निरन्तर रुपमा परिष्कृत एवं जनता माझ लोकप्रिय र स्थापित हुन सक्नेलाई प्राथामिकता दिनुपर्दछ ।
हाम्रो मुलुकको पत्रकारिता, शिक्षा प्रणाली लगायत सबै शासक वर्गकै हितअनुकूल मात्रै परिभाषित गरिने पद्धतिको विकास भएको छ। हिजो राजतन्त्र हुँदा राजामहाराजको गुणगान गाउने जस्तै आज गणतन्त्र हुँदा त्यस्तै प्रवृतिको पुनारावृित्त हुनु अर्को प्रमूख समस्याको रुपमा रहेको छ। कम्युनिस्ट पार्टी विभाजनको श्रृंखलाबाट पक्कै पनि नयाँ युगमा प्रवेश गरेको छ ।
तर, लोकतान्त्रिक प्रक्रियाबाटै जनादेश पाएर सत्तामा पुगेका कम्युनिस्टहरुले दुईतिहाई मत प्राप्त गर्दा पनि जनता खुशी हुने परिस्थिति निर्माण भएको छैन ? उसो त, नेकपा जस्तै प्रायः दलले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता मान्ने, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्तिपृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताप्रति प्रतिबद्धता जनाएका छन् ।
यस्तो परिस्थितिमा नेकपालाई जनता पटक–पटक विचार गर्ने पक्षमा छैनन्। पार्टीलाई काम गरेर देखाउने ठूलो अवसर प्राप्त भएको छ । मुलुकलाई अराजकता र दण्डहीनताको भुमरीबाट मुक्त गराउनु नै नयाँ पार्टीको पहिलो अग्निपरीक्षा हुनेछ । विद्रोह र परिवर्तनको धाराबाट आएको पार्टी देशको एउटा प्रमूख र जिम्मेवार पार्टीको रुपमा स्थापित छ।
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा यो पार्टी आन्दोलनको मूलधार र सुत्रधारको रुपमा स्थापित छ। यसर्थ, नेकपा नै समाजवादी समग्र आन्दोलनको मूल प्रवाह बन्न सकोस्। सबैमा शुभकामना ।



लाेकपाटी न्यूज

