काठमाडौं, २ कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वा्चित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरेका छन्।
आज काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै यस्तो अग्रह गरेका हुन्। दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले ’चिची पनि पापा पनि’ को संज्ञा दिँदै त्यस्तो सुविधा असम्भव रहेको बताए। उनले भने, ‘दुइटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन। चिची पनि पापा पनि हुँदैन।
राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा प्रस्ट हुनुहोस् ।’ नेता नेपालले पुँजी, सीप र प्रविधिको राम्रो प्रयोग गरेर देशलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले नियम कानूनलाई खुकुलो बनाइ लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै रोजगारीको अवसरहरु बनाउनुपर्नेमा जोड दिए। विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिँदै उनले सरकारले गैर आवासीय नेपालीलाई सम्मान गर्दै देशको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए।



लाेकपाटी न्यूज

